बढ्दै बालुवाटार–खुमलटार दूरी, ओलीको राजीनामा बटमलाइन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको शक्ति संघर्षको विवाद तत्काल अन्त्य हुने छाँटकाँट देखिएको छैन । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमती हुन नसक्दा अहिले देखिएको पार्टीको विवाद तत्काल नहुने सम्भावना बढेको हो । 

दुई दिनअघि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो । तर, यसअघिका छलफलजस्तै यो छलफलमा पनि दुवै नेताहरु सहमतिमा पुग्न सकेका छैनन् । 

यही कारण अब नेकपामा मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित हुने सम्भावना बढेको छ । 

स्थायी कमिटीका अधिकांश सदस्यहरुले अहिले पनि प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग राखिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ यो मागबाट अहिले अर्को समूह पछाडि हट्नु पर्नेमा अडान लिएर बसेका छन् । उनले आफ्नो अडानलाई सहज होस् भन्नका लागि शुक्रबार यता विभिन्न नेताहरुसँगको छलफललाई तीव्र पारेका छन् ।

तर, प्रचण्ड समूह ओलीको अडानबाट आफू पछाडि नहट्ने निर्णयमा पुगेको छ ।

केहीअघि मात्र ओलीले पार्टीको महाधिवेशन अगाडि गरेर प्रचण्डलाई एकल अध्यक्ष दिने प्रस्ताव अघि सारेका थिए । यो प्रस्तावमा प्रचण्डले तत्कालै सकारात्मक छनक देखाएका थिए । तर, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र झलनथा खनालको चर्को आलोचना पछि प्रचण्ड ओलीको यो प्रस्तावलाई अहिले स्वीकार गर्ने पक्षमा छैनन् ।



अर्कोतिर, ९ साउन यता अध्यक्षद्वय ओली र प्रचण्डको कुनै संवाद हुन सकेको छैन । यही कारण मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक झन् अनिश्चित बन्दै गएको छ । 

‘सबैभन्दा पहिले शीर्ष नेताबीच एक किसिमको सहमति होस् भन्ने चाहना अरु सबैको छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारसँग भने, ‘तर, दुवै पक्ष आआफ्नो अडानमा रहँदा अहिले नै सहमति हुने सम्भावना देखिँदैन । फेरि पछिल्लो समय दुई अध्यक्षबीच छलफल पनि सकारात्मक ढंगबाट अगाडि बढ्न सकेको छैन । यसले पार्टीलाई थप समस्यामा पार्ने निश्चित छ ।’



प्रधानमन्त्री ओलीले आफू र आफ्नो सरकारको काममा आफ्नै पार्टीका नेताहरुबाट बाधा भइरहेको सन्देश दिन थालेका छन् । परराष्ट्रमन्त्री समेत रहेका ओलीनिकट प्रदीप ज्ञवालीले त सार्वजनिक रुपमा नै सरकारलाई पार्टीबाट असहयोग भएको तर सरकारले राम्रो काम गरेको बताउन थालेका छन् । 

अर्कोतिर, प्रधानमन्त्री ओलीका दाबी र सरकारका कामका रुपमा उनले अगाडि सारेका केही दाबीहरुलाई प्रचण्डले यसअघि नै खारेज गरिदिएका छन् । पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार पार्टीबाट निर्देशित हुनु पर्ने अभिव्यक्ति नै दिएका छन् । 

यी कारणहरुले पनि पछिल्लो समय ओली र प्रचण्डबीच खास वार्ता हुन सकेको छैन ।

‘पछिल्ला दिनमा झन् खुमलटार र बालुवाटारबीचको दूरी बढेको आभास हुन थालेको छ,’ नेकपा स्थायी कमिटीका ती सदस्यले भने, ‘ओलीको राजीनामा नै बटमलाइन भन्ने खुमलटारको निष्कर्ष छ भने ओलीले राजीनामाको ‘र’ पनि उच्चारण नगर्ने र अरु विकल्पमा सोच्न आफूइतर समूह लाग्नु पर्ने बताएका छन् ।’

  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २३:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया