थप घेराबन्दीमा प्रधानमन्त्री ओली, आक्रामक बन्दै प्रचण्ड–नेपाल समूह

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई थप घेराबन्दीमा पार्दै दबाब दिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एकजुट भएका छन् । यी तीन नेताहरुले पछिल्लो समय यस विषयमा एकमत निर्णय पनि गर्न थालेका छन् ।

अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओली अहिले तत्काल आफ्नो अडानबाट पछाडि नहट्ने मुडमा पुगेका छन् ।

तर, यसलाई काउन्टर दिन प्रचण्ड समूहले तत्कालै बहुमतीय प्रणालीमा गएर निर्णय गर्ने सम्भावना पनि बढेको छ । साउन ६ गते स्थगित गरेर मंगलबारका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पनि हुने सम्भावना त्यसैले टरेको छ । ‘स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पछिल्ला विवादबारे सहमति नभएको खण्डमा स्थायी कमिटी बैठक स्थगित हुने त निश्चित नै हो,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारसँग भने, ‘यो शीर्ष तहमा भएको विवाद त्यहाँ नै समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर, अहिले तत्काल त्यस्तो हुने सम्भावना देखिएको छैन ।’

उनले प्रधानमन्त्री ओलीले पनि अर्को समूहलाई तत्कालका लागि राजीनामालाई बटमलाइन नबनाउन सन्देश पठाएको तर प्रचण्ड समूहले ओलीको यो आग्रहलाई बेवास्ता गरेकाले सहमतिमा शीर्ष नेताहरु अहिले नै आउने सम्भावना कम भएको बताए । ‘यस्तो भएको खण्डमा नेकपा स्थायी कमिटी बैठक स्थगित हुन्छ,’ उनले भने ।

अब स्थायी कमिटीमा बोल्न बाँकी रहेका सदस्यहरुसँग चाहिँ पछिल्लो समय ओलीले व्यक्तिगत भेटघाट गरेका छन् । स्थायी कमिटी सदस्य र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई एक्लाएक्लै भेट्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा सहमति जुटाउन थालेका छन् ।

‘पछिल्लो समय उहाँले घनश्याम भुषाल र योगेश भट्टराईसँग अहिलेको अवस्थाबारे छलफल गर्नु भएको छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारका कामबारे मात्र उहाँहरुसँग पार्टीको पछिल्लो विषयमा पनि पक्कै छलफल भएको छ र यो सबै पार्टीमा आउन सक्ने दुर्घटना बचाउनका लागि ओलीले गर्नुभएको काम हो ।’



एकातिर ओली आफू साँच्चिकै अप्ठ्यारोमा परेको महसुस गरेर काम गरिरहेका छन् भने अर्कोतिर प्रचण्ड–नेपाल समूह पनि अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योलमा पर्न थालेका छन् । 

‘ओलीलाई दबाब सिर्जना भएको त महसुस भएको छ तर यो कुन तहसम्म अगाडि लैजाने भन्नेमा प्रचण्ड र नेपाल नै पनि अन्योलमा रहेको बुझ्न सकिन्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारलाई बताए, ‘यसले गर्दा पार्टी अहिले अनिर्णयको बन्दी बनेको छ ।’



तर, यही अवस्थालाई थप कायम राख्न नहुने पक्षमा पुगेका छन्, प्रचण्ड, नेपाल र खनाल । खनालले त सोमबार सार्वजनिक रुपमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति नगरे बहुमतीय आधारमा गएर पार्टीले निर्णय गर्ने अभिव्यक्ति नै दिएका छन् ।

यसले प्रश्न उठाएको छ, ‘के यो साँच्चिकै सम्भव होला त ?’

‘पार्टीको विधानलाई मान्ने हो भने यो सम्भव छ,’ नेकपाका ती नेताले भने, ‘पार्टीलाई सिस्टममा अगाडि बढाउन कुनै एक समूह यसरी अगाडि बढ्न तयार छ भने त्यसलाई अन्यथा नमान्दा हुन्छ ।’ उनले भनेअनुसार यही कदमलाई अगाडि बढाइयो भने प्रधानमन्त्री ओलीलाई दुवै पदमा समस्या हुनसक्ने निश्चित छ ।

  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १९:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया