केहीअघि देखि सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शक्ति संघर्षको विवाद अहिले उत्कर्षमा छ । १० असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठक पछिल्लो समय बारम्बार स्थगित भएको छ ।
६ साउनमा स्थगित बैठक भोलि मंगलबार बस्ने तय भएको छ । तर, यसअघि बारम्बार स्थगित बैठक मंगलबार पनि बस्ला या नबस्ला भन्ने निश्चित छैन । यहीबीच नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै जाँदा बैठक कसरी अगाडि बढ्ला भन्नेमा संशय उत्पन्न भइरहेको छ ।
१० असारमा सुरु भएको स्थायी कमिटी बैठकको सुरुवातमै स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग गरेपछि बैठक लम्बिन थालेको हो ।
त्यसो त, बारम्बार बैठक स्थगित गरेर विवाद मिलाउन ओली र प्रचण्ड लगातार छलफलमा जुटेका छन् । तर, अझै यी दुई कुनै सहमतिमा पुग्न सकेका छैनन् ।
तर, सुरुमा निम्तिएको विवादले अब झन् कडा रुप लिन थालेको छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगमा सरकार र पार्टी चलाउन खोजेको आरोपमा उनको राजीनामा माग गरेर सुरु भएको विवाद अब बहुमत र अल्पमतको हिसाबकिताबमा पुगेर अड्किएको छ । अनि दुवै अध्यक्ष ओली र प्रचण्ड अब आफ्नो पक्षमा संख्या बढाउन स्थायी कमिटीका सदस्यहरुको टाउको गन्न थालेको एक नेताले फरकधारलाई बताएका छन् ।
‘पार्टी नेताहरु विवाद मिलाउन निरन्तर बसिरहनु भएको छ, तर विवाद मिलाउन पनि अल्पमत र बहुमतकै अभ्यास हुन थालेको छ,’ स्थायी कमिटीका ती सदस्यले फरकधारलाई बताए, ‘अहिले स्थायी कमिटीका सदस्यहरुको टाउको गन्न थालिएको छ ।’
अर्कोतिर, बैठकको सुरुवातमै आफ्नो पक्षमा कम नेताहरु देखेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले नै आफ्नो पक्षका नेतामा बहुमत पुर्याउन बैठक लम्ब्याइरहेको कतिपय नेताको भनाइ छ ।
६ साउनमा केही समय बैठक बसेर १३ साउनका लागि सारिएको बैठक भोलि (मंगलबार) पनि बस्ने नबस्ने कुनै टुंगो छैन । त्यसो त नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूह बहुमतले भएपनि निर्णय गरेर बैठक अगाडि बढाउने पक्षमा छन् ।
सोमबार खुमलटारमा बसेको दाहाल–नेपाल समुहका स्थायी कमिटीका सदस्यहरुको बैठकले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतले निर्णय गरेर भएपनि अगाडि बढ्ने तयारी गरेको छ । मंगलबार ११ बजेका लागि तय भएको बैठक नरोक्ने र ओली समूह सहमतिमा नआए बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष उक्त बैठकले निकालेको हो ।
मंगलबारको बैठक रोक्नुपर्ने कुनै कारण नभएको नेकपाका नेता बेदुराम भुषालले बताए । भोलि बैठक रोकिएला कि नरोकिएला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘भोलिको बैठक बस्छ । रोक्नुपर्ने कारण नै के छ र ?’
मंलगबारका लागि तय भएको बैठकबारे सोमबार दुवै समूहका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओली समूहको छलफल बालुवाटारमा रह्यो भने अध्यक्ष प्रचण्ड–नेपाल समूहको बैठक प्रचण्डको नीजि निवास खुमलटारमा छलफल भयो । दुवै समूह छुट्टाछुट्टै छलफलमा बसेपनि यसको ठोस निष्कर्ष भने निकाल्न नसकेका कारण मंगलबारको बैठक बस्ला या नबस्ला र बसे पनि कसरी अगाडि बढ्ला भन्ने अहिले यसै भन्न सकिन्न ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।