योगेश र घनश्यामलाई आफ्नो पक्षमा ल्याउन खोज्दैछन् प्रधानमन्त्री ओली

पछिल्लो समय पार्टीमा राजीनामाको माग बढ्दै गएपछि दबाबमा परेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विशेष भेटघाट गर्दै केही प्रभावशाली मन्त्री तथा नेताहरुलाई आफ्नो पक्षमा ल्याउन पहल सुरु गरेका छन् । 

यही पहलका लागि उनले मन्त्रिपरिषद्मा प्रभावशाली मानिएका केही मन्त्रीहरुलाई भेटघाट पनि गरेका छन् । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालसँग बेग्लाबेग्लै भेट गरेका छन् । यी दुवै नेताहरुलाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री ओलीले यी दुई मन्त्रीहरुलाई भेटेर सरकारका काम र पछिल्लो समय पार्टीमा चर्किरहेको विवादबारे विशेष छलफल गरेका छन् ।

‘उहाँहरुसँग प्रधानमन्त्री ओलीले पछिल्ला राजनीतिक विषयमा नै छलफल गर्नुभएको हो,’ ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘पछिल्ला गतिविधिबारे बुझ्न र सरकारका कामहरुलाई थप प्रभावकारी बनाउन आफ्नै मन्त्रिपरिषद्का सदस्यहरुसँग प्रधानमन्त्रीले भेट्नु नौलो कुरा पनि होइन ।’

उनले यस्तो बताए पनि प्रधानमन्त्री ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल क्याम्पका यी दुई नेतालाई आफूलाई सहयोग गर्न अनुरोध गरेको नेकपाका अन्य नेताहरुले अनुमान गरेका छन् ।

अर्कोतिर, प्रधानमन्त्री ओलीले नेकपाका केही पूर्वमाओवादी नेताहरुसँग पनि योबीचमा छलफल गरेका छन् ।



पछिल्लो समय ९ साउनमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको थियो । यी दुई नेताको भेटघाटले नेकपामा जारी विवादलाई अन्त्य गर्न सक्ने अनुमान गरिएको थियो । तर, झन्डै एक घन्टा लामो यो भेटघाटमा दुई नेताबीच कुनै पनि सहमति हुन सकेन ।

यसको छनक प्रचण्डले पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा दिइसकेका छन् । उनले पुष्पलाल स्मृति दिवसमा ओली सरकारले नेपालको नयाँ नक्सा ल्याएको भने पनि त्यो पार्टीको निर्णय भएको मात्र बताएनन्, सरकार पार्टीको निर्देशनमा अगाडि बढ्नु पर्ने बताए । 



त्यसयता प्रचण्डले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग बारम्बार छलफल गरिसकेका छन् ।

प्रचण्ड–नेपाल समूहले बढाएको यो सक्रियतासँगै ओलीले पनि केही मन्त्री र नेकपामा पूर्वमाओवादीबाट आएका केही नेताहरुलाई एक्लाएक्लै भेटेका हुन् । तर, यी भेटघाटबारे सार्वजनिक रुपमा कुनै पनि नेताले बाहिर केही बताएका छैनन् । 

कृषिमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले त केही दिनअघि मात्र आफ्नै नेतृत्वमा पार्टीका केही नेताहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा नेताहरुले अहिले देखिएको विवादले पार्टीसमेत फुट्न सक्ने भन्दै यसलाई रोक्नु पर्ने निष्कर्ष निकालेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बोलाएर आआफ्नो कित्ता प्रष्ट पार्न भनिसकेकाले पछिल्लो समय उनले विभिन्न मन्त्रीहरुलाई एक्लाएक्लै भेट्नुले यसबारे बुझ्न खोजेको हुनसक्ने ओलीनिकट राष्ट्रियसभाका एक नेकपा नेताको अनुमान छ । 

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार ३:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया