ओलीले एकल निर्णयमा बैठक स्थगित गरे, प्रचण्ड बैठक गर्ने सुरमा
१८ स्थायी कमिटी सदस्य बालुवाटारमा
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । आज मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठकअगाडिका केही दृश्यले यसलाई अझ स्पष्ट पारेका छन् । 

मंगलबार ११ बजेका लागि बोलाइएको भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे ट्विट गर्दै जानकारी दिएका थिए ।

तर, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक आफ्नो अध्यक्षतामा अगाडि बढाउने सुरमा छन् । 

उनी बैठकका लागि बालुवाटार पुगेका छन् । बालुवाटारमा बैठकका लागि कम्तिमा पनि १८ स्थायी कमिटी सदस्य भेला भइसकेका छन् ।

यसअघि दुई अध्यक्षको सल्लाहमा बैठक स्थगित गर्ने गरिएको थियो । तर, यसपटक बैठक स्थगितका लागि ओलीले प्रचण्डसँग कुनै सल्लाह नै गरेनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच छलफल हुने र अनि मात्रै बैठक सञ्चालन गर्ने भनिए पनि अध्यक्ष प्रचण्ड उपस्थित नहुदा बैठक स्थगित गरिएको हो ।



थापाका अनुसार प्रचण्ड आफैले बिहान ९ बजे भेटन आउँछु भनेर समय मागेका थिए । तर १० बजेसम्म पनि प्रचण्ड उपस्थित नभएपछि ओलीले बैठक स्थगित गरेका हुन ।

‘अध्यक्ष प्रचण्डलाई महासचिवमार्फत सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएपछि बैठक स्थगित गर्नुपरेको हो,’ थापाले फरकधारलाई बताए ।



ओलीले आफुसँग सहमति नगरी बैठक स्थगित गरेको भन्दै असन्तुष्ट प्रचण्ड बैठक सञ्चालनको तयारीका साथ बालुवाटार पुगेका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अहिले प्रचण्ड बालुवाटार पुगिसकेका छन् । उनले बैठक सञ्चालन हुने समेत बताए । ‘बैठक स्थगित भन्ने कुरा आयो । हामीसँग कुनै सल्लाह भएको छैन । तर आज बैठक हुन्छ, हामी बैठककै लागि बालुवाटार पुगेका छौँ,’ सापकोटाले फरकधारलाई बताए ।

आज बिहान ९ बजेका लागि बोलाइएको दुई अध्यक्षबीचको छलफल आवश्यक नभएकाले प्रचण्ड बिहान बालुवाटार नपुगेको प्रचण्ड निकट स्रोतको भनाइ छ । 

अध्यक्ष ओलीले बैठक स्थगीत गरेपनि अर्का अध्यक्ष प्रचण्ड बैठक बोलाउने तयारीका साथ बालुवाटार पुगेका छन् । प्रचण्ड–नेपाल स्रोतका अनुसार बैठकका लागि अहिलेसम्म १८ जना स्थायी कमिटीका सदस्यहरु बालुवाटारमा भेला भएका छन् । बाँकी सदस्यहरु पनि बैठकका आइरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार केहीबेरमै बैठक शुरु हुनेछ ।

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार ११:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया