काठमाडौं महानगरका विद्यालयमा अब अनिवार्य रुपमा स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिका भित्रका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै स्थानीय पाठ्यक्रम पढ्नु पर्ने व्यवस्था गरेको हो ।

 

महानगरपालिका क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ । काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।


अब यी सबै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको महानगरले जनाएको  छ ।

 

पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले जानकारी दिइन्  । ‘कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन महानगरपालिकाले नेपालभाषाबाट तयार गरेको पाठ्यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित हुने  चरणमा छ,’ उनले भनिन्, ‘पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।’




काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो ।

 



स्थानीय  विषय भाषाभन्दा पनि काठमाडौंको परिचयमा केन्द्रित रहेको काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले बताइन् । पाठ्यपुस्तकलाई सहयोग पुर्याउने अरु बहुभाषी पाठ्यसामग्री महानगरपालिकाले प्रकाशन गर्न लागेको जानकारी उनले  दिइन् ।

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १४:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया