घरमा आएर प्रहरीले चेतावनी दिएपछि बदलिएको ब्रुस लीको जिन्दगी

ती दिनताका हङकङका सडकमा युवाहरुको धेरै ‘ग्याङ फाइट’ हुन्थ्यो । कोही रहरले लड्थे त कोही बाध्य भएर । कोही तालिम वा अभ्यासविनै लड्थे त कोही आफ्नो बचाउ र सुरक्षाका लागि पारम्पारिक वा आधुनिक कला वा तालिम सिकेर लड्थे । कहिलेकाहीँ त ग्याङवार नै हुन्थ्यो, प्रहरीले कर्फ्यु​ नै लगाउनुपथ्र्याे । कर्फ्यु​लगाइएपछि सडकमा जुन सन्नाटा व्याप्त हुन्थ्यो, त्यसलाई हेरेर मान्छेहरु सहजै अनुमान गर्न सक्थे, झगडा कति ठूलो भएको रहेछ भनेर । 

यसै क्रममा एक राति एकजनाको घरमा खुफिया प्रहरीले ढोका ढक्ढक्याउँछ । एकैछिनमा घरमालिकले ढोका खोल्छ । प्रहरीले उसलाई भन्छ– तपाईंको छोरा आज–भोलि निकै झगडालु भएको छ, उसलाई सम्झाउनुहोस् । उसले फेरि पनि झगडा गर्यो भने हामी उसलाई जेलमा थुन्न बाध्य हुनेछौँ । 

थिएटर कलाकार बाबुले प्रहरीलाई आइन्दा आफ्नो छोराबाट यस्तो गल्ती नहुने आश्वासन दिन्छन् र प्रहरीलाई जसोतसो फर्काउँछन् । 

प्रहरीसँगको कुराकानीबाटै उनले थाहा पाउँछन्, छोराले सहरको ठूलै ग्याङस्टारको छोरालाई पिटेको रहेछ । बाबुले के पनि थाहा पाउँछन् भने, अब मेरो छोरा खतरामा छ । र, उनलाई लाग्छ, त्यो निकै खतरा ग्याङको कुनै भरोसा छैन, ग्याङले आफ्नो छोरालाई जतिबेला, जे पनि गर्न सक्छ । 

त्यसपछि बाबु गहिरो चिन्ताको सागरमा डुब्छन् । बाबुको दिमागमा हर पल एउटा डर सवार हुन थाल्छ, आफ्नो छोरालाई मार्ने सुपारी कसैले लिइसक्यो । यो कुराले उनको सम्पूर्ण परिवारलाई नै चिन्तित बनायो । 

उनी सोच्न थाले– छोरालाई केही भइहाल्यो भने के गर्ने ? कतै पालनपोषणमै त गल्ती भएन ?



त्यति नै बेला उनलाई अनायासै त्यो दिनको सम्झना हुन्छ, जुन दिन उनको छोरा स्कुलमा पिटाई खाएर रुँदै घर फर्किएको थियो । छोरालाई उसकै स्कुलका केटाहरुले पिटेका थिए । त्यो बेला उनीसँग दुईवटा विकल्प थिए । पहिलो, छोरालाई पिटाई खान दिने ताकि उसले जीवनभर सहन सिकोस् । अर्को, छोरालाई प्रशिक्षण गराउने ताकि आउँदा दिनमा उसले आफ्नो ज्यानको सुरक्षा आफैँ गर्न सकोस् । बाबुले दोस्रो विकल्प रोजे र छोरालाई मार्सल आर्टस सिकाउने थाले । उनले छोरालाई आधारभूत तालिम आफैँ दिए र थप प्रशिक्षण दिलाउनका लागि एक निकै पोख्त मार्सल आर्टको खोजी गरेर भर्ना गरिदिए । 

उनले त्योबेला सपनामासमेत चिताएका थिएनन्, कुनै दिन आफ्नो छोराले आत्मरक्षाका निम्ति सिकेको कला र सीप सडकमा ग्याङफाइट गर्नमा प्रयोग गर्ला । 
उसको सिक्ने क्रम रोकिएन । उसले त्यसपछि पनि ६ जना गुरुबाट युद्धकला सिक्यो । उसले कसैबाट कराते सिक्यो त कसैबाट बक्सिङ । कसैबाट किक त कसैबाट जुडो । उसले तरबार र नानचाकु पनि सिक्यो ।



ऊ अरुभन्दा विशेष भएकै कारण बाबुले पनि उसलाई धेरै गुरुसँग सिक्ने अनुमति भयो । नत्र आत्मरक्षा गर्न सक्ने हुनका लागि एउटै गुरुको सिकाइ पर्याप्त हुन्थ्यो । सहरमा अरुले जानेकै सबै शैली र सीप आफूले जानेकै हुनुपर्छ भन्ने लाग्थ्यो, उसलाई । आफ्नो प्रतिद्वन्दीसँग भएको सबै शैली आफूमा भएन भने ऊसँग सहजै पराजित भइन्छ भन्ने उसलाई लाग्थ्यो । त्यसैले, उसले सहरमा चलनचल्तीका शैली मात्रै सिकेन, थप र नयाँ शैली पनि सिक्यो । 

छोराको मार्सल आर्टप्रतिको लगाव देखेर बाबुलाई बेलाबेला डर लाग्थ्यो । १८ वर्ष पुग्दानपुग्दै उनको छोराले साना–ठूला गरेर हङकङमा करिब २० फिल्ममा बालकलाकारको भूमिकामा काम गरिसकेको थियो । 

यति क्षमतावान् र प्रिय छोरालाई कुनै बाबुले गुमाउनेबारे कसरी सोच्न सक्थ्यो र ?

छोरालाई हङकङमै राखिरहनाले दुइटा कुरा हुन सक्थे– पहिलो, छोरोले आफ्नो छुट्टै ग्याङ बनाएर गुण्डागर्दी र लुट्पाटमा लागेर बिग्रिन सक्थ्यो । अर्को, जेल जान सक्थ्यो । 

यी दुवैै अवस्थामा छोरालाई हानि पुग्थ्यो । जासुस प्रहरी घरमै आएर दिएको चेतावनीका अघि डराउँदैनन् मात्र, छोरालाई जतिसक्दो चाँडो हङकङबाट बाहिर पठाउनेसमेत बाध्य हुन्छन् । बाबुले उसलाई अमेरिकाको त्यही ठाउँ पठाउने निर्णय गर्छन्, जहाँ उनको छोरा जन्मिएको थियो । उनलाई छोरालाई थप केही दिनका लागि मात्रै पनि त्यहाँ राख्नु थिएन । उसलाई अमेरिकमा एक नातोदारको घरमा पठाइयो । 

अमेरिकामा उसको संघर्षै–संघर्षले भरिपूर्ण एक नयाँ जीवनको सुरुवात हुन्छ । खान र पढ्नकै लागि धेरै मिहिनेत गर्नुपर्छ उसले । 

उसका लागि दिनहरु कतिसम्म चुनैतीपूर्ण हुन्छन् भने जीविकोपार्जनका लागि उसले होटेलमा वेटर भएरसमेत काम गर्नुपर्छ । तर, दिनहरु जतिसुकै कष्टकर भए पनि उसको मार्सल आर्टप्रतिको लगन र रुचिमा भने कमी आएन । 

उसले त्यहाँको एउटा स्थानीय पार्कमा युवाहरुलाई मार्सल आर्ट सिकाउन सुरु गर्यो । उसले आफूले विभिन्न गुरुबाट सिकेका विभिन्न कलालाई मिलाएर उसले एउटा आफ्नै छुट्टै शैली विकसित गर्यो । 
अब उनी अमेरिकी युवाहरुमाझ राम्रैसँग परिचित भइसकेका थिए । उनको कला देखेर टिभी र फिल्म निर्माता पनि आकर्षित भए । 

ब्रुस ली सन् (१९४०–१९७३) सम्म आफ्नै मिहिनेतकै कारण हलिउडमा छाउने पहिलो एसियाली कलाकार थिए । 

विना कुनै सन्देह, यदि त्यस दिन उनको घरमा खुफिया प्रहरी चेतावनी दिन नआएको हुन्थ्यो भने उनी हङकङको सडकमा एउटा ग्याङ बनाएर एक अर्थहीन जीवन बाँच्थे ।

लाइभ हिन्दुस्तान डटकममा प्रकाशित कथाको नेपाली अनुवाद  

अनुवादकः कमल विष्ट

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १७:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया