काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भनेका हुन् ।
चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ ।
सोही क्षेत्रबाट निर्वाचित दाहालले घटनालगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भनेका हुन् । ढकालले भने, 'बजेटको व्यवस्थापन गरौँला, तत्काल उनीहरुको बासस्थानको व्यवस्थापन गर्नुस् भन्नुभएको छ ।' ढकालले एक महिनाभित्र माडी नगरपालिका–७ को गौरीगाउँमा उनीहरुको घर निर्माण गरिने बताए । त्यहाँ रहेका अन्य सुकुम्वासीलाई नगरपालिकाका विभिन्न ठाउँमा राखिसकिएको छ ।
कुसुमखोला घटनापछि दाहालपुत्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आफैँ पुगेर अवस्थाका बारेमा जानकारी लिएकी थिइन् । उनले भनिन्, ‘घटना दुःखद हो । यसबाट अध्यक्ष दाहाल पनि चिन्तित हुनुहुन्छ ।’
केही दिनअघि बाढीबाट प्रभावित भएका र नारायणी नदीको कटानको अवस्थाका बारेमा बुझ्न आएका पूर्वप्रधानमन्त्री दाहालले माडीका बाढी प्रभावितलाई समेत भेट गरेका थिए । दाहालको क्षेत्र भरतपुर महानगरको धेरै भाग र माडी नगरपालिका पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।