ओरालोतिर ओली
मंगलबार पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओली वामदेव गाैतमकाे निवासमा पुगेका थिए

पछिल्ला दिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जे भइरहेको छ, त्यसले स्पष्ट संकेत गरेको छ, नेकपा दुर्घटनाउन्मुख छ ।

यो दुर्घटना कति ठूलो होला भन्ने अहिले नै अनुमान गर्न सकिँदैन । तर, अहिलेको परिस्थितिले स्पष्ट पारेको छ– तत्कालीन नेकपा एमाले र माओवादी मिलेर बनेको यो दल अब ढिलो चाँडो कम्तिमा पनि दुई टुक्रामा विभाजन हुनेछ ।

यसका लागि अहिले नेकपा दुई फ्याकमा विभाजन भएको स्पष्ट भएको छ । विशेषगरि मंगलबार बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गर्नु र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई अगाडि बढाउनुले पनि यसको संकेत गर्छ ।

त्यसैले पनि हुनुपर्छ, नेकपा नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले मंगलबार दिउँसो सामाजिक सन्जालमा लेखेका छन्– दुर्घटना नजिक छ, जोगाऔँ, सल्लाह गरौँ ।

के अब नेकपा दुर्घटनामै पर्ने हो त ? हामीले यही प्रश्न नेकपा सचिवालयका एक सदस्यलाई सोध्यौँ । उनी सचिवालयमा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् ।

‘पार्टी गम्भीर मोडमा पुगेको छ । मंगलबार दुई अध्यक्षबीच सल्लाह गर्ने भनिएको थियो तर अध्यक्ष प्रचण्डले सल्लाहको आवश्यकता नै नभएको बताउनुभयो,’ उनले मंगलबार साँझ फरकधारसँग भने, ‘यसले गर्दा मंगलबार जे भयो, त्यसले दुर्घटनाको किनारामै हाम्रो पार्टी पुगेको स्पष्ट त भएको छ । तर, यो जोगाउनै नसकिने दुर्घटना चाहिँ होइन ।’



तर, अहिलेको परिस्थितिमा अब नेकपा विघटनको सम्मुखमै पुगिसकेको नेकपाकै केही नेताहरु बताउँछन् । 

‘यसअघि हामीले यस्तो परिस्थिति आउला भन्ने सोचेका मात्र थियौँ, तर आज साँच्चिकै हिजो भनिने कुराहरु कार्यान्वयन भएको जस्तो भयो,’ नेकपका एक केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘आज त एक अध्यक्षले पार्टीको बैठक रद्द गर्नुभयो, अर्कोले सन्चालन गर्नुभयो । यसले पार्टी नै विभाजन भइसकेको छनक चाहिँ दिएको छ । तर, यस्तो हुनु कदापि ठिक होइन ।’



नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अब तत्काल वार्ता हुने सम्भावना पनि अत्यन्त कम भएको देख्न सकिन्छ । 

मंगलबार प्रचण्ड र माधवकुमार नेपाल समूहले बालुवाटारमा नै स्थायी कमिटी बैठक आयोजना गरे पनि ओली पक्षधर नेताहरु त्यसलाई बैठक नभएर भेला मात्र भन्नु पर्ने बताउँछन् । ‘बैठक त स्थगित भएको थियो, केही नेताहरु भेला हुनुलाई नै स्थायी कमिटी बैठक भन्न सकिँदैन,’ ओलीनिकट एक नेताले फरकधारलाई बताए, ‘त्यो भेला थियो, पार्टीभित्र यस्ता भेला हुन सक्छन्, हुन पाउँछन् ।’

मंगलबार नै ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । यसलाई उनको सचिवालयले विशुद्ध पारिवारिक भेटघाट भनेको छ । तर, यी दुई नेताको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । अनि मंगलबार नै आफू ओलीतिर बढेको छनक दिएका वामदेव गौतमलाई भेट्न उनकै निवासमा ओली पुग्नुलाई सामान्य रुपमा हेर्न सकिँदैन ।

‘किन पनि भने अहिले पार्टी जुन जटिल मोडमा पुगेको छ, यो सामान्य अवस्था हुँदै होइन,’ प्रचण्ड सचिवालयका एक सदस्यले भने, ‘हामीले ओली र गौतमको भेटघाटलाई नजिकबाट हेरेका छौँ । हामी अहिले के निष्कर्षमा पुगेका छौँ भने ओली ओरालोतिरको यात्रामा छन्, पछिल्ला दिनका केही घटनाहरुले पनि यसलाई प्रमाणित गरेको छ ।’

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार २३:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया