रोकिएका परीक्षा भदौ तेस्रो साताबाट  गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको विश्वविद्यालयले जनाएको छ । 

 

स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । ‘भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’, उनले भने, ‘अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छौं ।’ 

 

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने बताइएको छ । कोरोनाका कारण त्रिविले गत चैत ७ गतेदेखि सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । 

 



वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा हुन सकेको छैन । यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौं र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी दिइसकेको छ ।



  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १६:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया