ओली-प्रचण्डले बोलाउलान् त केन्द्रीय कमिटी बैठक ?
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अब थप फैलिने देखिएको छ । सचिवालय र स्थायी कमिटीमा भइरहेको विवाद अब केन्द्रीय कमिटीमा पनि पुग्ने अनुमान गर्न सकिन्छ । किनकि नेकपाका १ सय ६३ जना केन्द्रीय कमिटीका सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी केन्द्रीय कार्यालय धूमराहीमा निवेदन दर्ता गराएका छन् ।

पार्टी र पार्टीका नेता विधी, विधानअनुसार चल्न नसकेको भन्दै नेकपाका केन्द्रीय सदस्यहरुले बुधबार पार्टी कार्यालयमा बैठकको माग गर्दै निवेदन दर्ता गराएका हुन् । पार्टी जोगाउन मजबुत एकताको आवश्यकता रहेको र यसप्रकारको स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न केन्द्रीय कमिटीको बैठक अहिलेको आवश्यकता भएको उनीहरुले बताएका छन् ।

नेपाली जनताले नेकपा पार्टीप्रति गरेको आशा भरोसामा तुषारापात नहोस् भन्नका निम्ती बैठकको माग गरिएको नेकपाका केन्द्रीय सदस्य झपट रावलले बताए ।

‘पार्टी र सरकार विधी विधानअनुसार चल्न सकेन । पार्टीको मूल नेतृत्वबाट नै पार्टीका विधि, विधान उल्लंघन गर्ने काम भयो’, नेता रावलले फरकधारलाई भने, ‘पार्टीको मूल नेतृत्वबाट नै स्वेच्छाचारी ढंगले पार्टी चलाउने, नेताहरु चल्ने काम भयो । नेपाली जनताले नेकपा र अहिलेको सरकारप्रति जुन आशाभरोशा गरेका छन्, त्यो आशाभरोसामा तुषारापात नहोस् भन्नका निम्ती हामीले यो पहल गरेका हौं ।’

पार्टीभित्र देखिएको विग्रहका सम्बन्धमा केन्द्रीय कमिटीमा नै छलफल हुनुपर्छ भन्ने आवश्यकता देखेर बैठकको माग गरेको उनले बताए । 

कुल सदस्य संख्याको २५ प्रतिशत सदस्यहरुले हस्ताक्षर गरेर बुझाएमा पार्टीले बैठक बोलाउनुपर्ने भनेर नेकपाको विधानले वैधानिक व्यवस्था गरेकाले सोहीअनुसार नै आफूहरुले पार्टीलाई हस्ताक्षर गरेर बुझाएको केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । 



पार्टीभित्र दुई अध्यक्षले मिलेर पार्टी चलाउने भन्ने कुरा पनि कार्यान्वयन नभएको र पार्टीको सचिवालय र स्थायी कमिटीले निकास दिन नसकेकाले अन्तिम विकल्प भनेको केन्द्रीय कमिटीको बैठक नै नेता चौधरीले बताए ।

‘दुई अध्यक्ष मिलेर पार्टी चलाउने कुरा हाम्रो पार्टीमा आउटडेटेड भइसकेको छ । सचिवालय र स्थायी कमिटीले पनि निकास निकाल्न सकेन’, केन्द्रीय सदस्य चौधरीले फरकधारलाई भने, ‘पार्टीको सर्वोच्च स्थान भनेको पार्टी केन्द्रीय कमिटी नै हो । पार्टीभित्रका सबै विषयहरु त्यही छलफल गर्ने र फाइनल वारपार त्यही हुन्छ भनेर हामीले बैठकको माग गरेका हौं ।’



नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । कूल सदस्य संख्याको एक चौथाई सदस्यले केन्द्रीय कमिटीको बैठक माग गरेर हस्ताक्षर बुझाएमा ३० दिनभित्र बैठक बोलाउनुपर्ने नेकपाको वैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैठक माग गर्नका लागि १ सय ११ जना सदस्यले बैठक माग गर्दा बैठक बोलाउनुपर्ने हुन्छ ।

बुधबार चाहिँ १ सय ५३ जनाले हस्ताक्षर गरेर पार्टीसँग केन्द्रीय कमिटी बैठकको माग गरेकाले शीर्ष नेतृत्वलाई थप दबाब पुगेको छ ।

 

बोलाउलान् त ओली–प्रचण्डले केन्द्रीय कमिटी ?

केन्द्रीय सदस्यहरुले वैधानिक व्यवस्थाअनुसार नै पार्टीलाई हस्ताक्षर बुझाएकाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तत्काल बैठक बोलाउनुपर्ने केन्द्रीय सदस्य झपट रावल बताउँछन् । पार्टी नेतृत्वले विधानअनुसार नै अनिवार्य बैठक बोलाउनुपर्ने रावलको भनाइ छ ।

‘हामीले हाम्रो विधानअनुसार नै बैठकको माग गरेका छौँ । नेताहरुले बैठक बोलाउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त र्छाँ’, रावल भन्छन् ।

नेतृत्वले कुनैपनि हालतमा बैठक बोलाउनै पर्ने केन्द्रीय सदस्य मेटमणी चौधरीको पनि निष्कर्ष छ । पार्टीको वैधानिक व्यवस्थाअनुसार नै बैठक माग गर्दा पनि बैठक नबोलाएमा पार्टीको शीर्ष नेतृत्वले नै आफ्नै नीति, विधान नमानेको ठहर्ने चौधरीले बताए ।

उनले भने, ‘उहाँ (नेता)हरुले बैठक बोलाउनुभएन भने आफ्नै विधान नमानेको हुन्छ । केन्द्रीय कमिटीको बैठक बोलाउनैपर्छ । नत्र नेताहरु इमान्दार छैनन भन्ने कुरा पुष्टी हुन्छ ।’

१० असारबाट शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक मंगलबार अनिश्चितकालका लागि स्थगीत भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाहविनै एकलौटी रुपमा स्थगन गरेका थिए ।

त्यसपश्चात् अध्यक्ष प्रचण्ड–नेपाल समूहका सदस्यहरुको छुट्टै बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकले अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष ओलीसँग सहमति गरेर बैठक बोलाउने म्याण्डेट दिएको छ । दुई अध्यक्षको सहमति भएपछी नेकपाको बैठक बस्नेछ । 

त्यसो त बुधवार केन्द्रीय सदस्यहरुले हस्ताक्षर बुझाएपछि अब नेकपाका अध्यक्षद्व ओली–प्रचण्डले विधानतः केन्द्रीय कमिटीको बैठक बोलाउनैपर्ने हुन्छ । तर, आन्तरिक कलहमा अल्झिएका दुई अध्यक्षले बैठक बोलाउनेमा भने शंका देखिन्छ ।

त्यसो त यसअघि पनि वैशाखमा नै २० स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी बैठक बोलाउन माग गरे पनि समयमा स्थायी कमिटी बैठक बोलाइएको थिएन । यही कारण र पछिल्लो समय दुई अध्यक्षबीच संवादहिनको वातावरण भएकाले केन्द्रीय कमिटी बैठक बोलाइने सम्भावना पनि न्यून देखिएको विश्लेषण छ ।

  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ८:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया