जसपाको दाउः नेकपा फुटाउ, सरकारमा जाउ

भनिन्छ, राजनीतिमा कोही पनि स्थायी शत्रु वा स्थायी मित्र हुँदैन । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले लिएको अजेन्ड मिलेमा यो भनाइ थप चरीतार्थ हुनेछ । 

किनकि अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवादबाट सत्तारोहणको यात्रा गर्दै आफूलाई थप बलियो बनाउन जसपा लागिपरेको छ ।

राजपा र समाजवादी एकीकरण भएपछि बनेको जसपाले अहिले आफूलाई तेस्रो शक्ति मानेको छ र सरकारमा जाने दाउ निर्माणमा लागिरहेको छ ।

यसका लागि उसलाई अहिले नेकपामा देखिएको विवाद निकै ठूलो अवसर भएको छ । पछिल्ला केही दिन यता जसपाका विभिन्न नेताहरु दिन बिराएर खुमलटार र बालुवाटार पुगिरहेका छन् । 

‘अहिले हाम्रा नेताहरु नेकपाका दुवै गुटसँग नजिकको सम्बन्ध बनाउन लागिरहेका छन्,’ जसपाकै एक नेताले भने, ‘अब सरकार परिवर्तन हुन्छ भने हामी पनि सरकारको हिस्सेदारी हुनु पर्ने धारणा आएको छ ।’

केही दिनयता जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका केही नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन् ।



त्यस्तै, शरदसिंह भण्डारी, महेन्द्र यादव, अशोक राईसहितका नेताहरुले भने नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनका नजिकका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

जसपाका दुई समूहका नेताहरु नेकपाका दुई गुटसँग छलफलमा तीव्रता दिन थालेको चाहिँ जसपाभित्रको आन्तरिक छलफल पछि भएको जसपाका एक नेताले बताए । ‘पार्टीको बैठक चाहिँ गर्न सकिएको छैन,’ ती नेताले फरकधारसँग भने, ‘तर, बालुवाटार र खुमलटार चाहिँ नेताहरु धाइरहेका छन् ।’



नेकपामा देखिएको विवादलाई फाइदाका रुपमा उपयोग गर्ने हेतुले जसपाका नेताहरुले आफ्नो रणनीतिलाई तीव्रता दिएका हुन् । ‘नत्र नेकपामा अहिले विवाद भइरहँदा हामीले बैठक नगर्नु पर्ने केही थिएन,’ जसपाका ती नेताले भने, ‘शीर्ष नेतृत्वले यसलाई मौकाका रुपमा लिएको छ ।’

तर, जसपाकै यी नेताको दाबीलाई पूर्णरुपमा गलत मान्छन्, जसपा नेता राजेन्द्र श्रेष्ठ । ‘अहिले हामी समायोजनको गृहकार्यमा लागिरहेका छौँ,’ श्रेष्ठले भने, ‘अहिले बालुवाटार र खुमलटार धाउनुको कुनै अर्थ छैन, हामीले त्यस्तो गरेका छैनौँ ।’

राजेन्द्र श्रेष्ठको यही भनाइ हामीले हामीसँग जसपा नेताहरु नेकपा फुटाउन र सरकारमा जान लागिरहेको बताउने नेतालाई सुनायौँ । 

‘राजनीतिमा कसले पो साँचो बोलिरहेको छ, र ?’ उनको प्रश्न थियो ।

  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ९:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया