नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठक साउन २१ गते बस्ने भएको छ । महासंघको स्थगित साधारणसभाको नयाँ मिति तोक्न बैठक बस्न लागेको एक सदस्यले बताए ।
कार्यसमिति बैठकको मुख्य एजेण्डामा चुनावको मिति र मोडालिटी रहेको बताइएको छ । कोरोनालगायत कारण देखाउँदै साउन २६ र २७ गते हुने भनिएको महासंघको साधारणसभा स्थगित भएको थियो । पछिल्लो पटक महासंघका पदाधिकारी र पूर्व अध्यक्षको बैठकले सभासम्मेलन खुला भएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो ।
यो निर्णयको एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले विरोध गर्दै आएको छ । आफ्नो अनुकुल चुनावी नतिजा नआउने देखेपछि कार्यसमितिबाट गर्नुपर्ने निर्णय आफूखुसी गरी साधारणसभा स्थगित गरिएको ढकाल पक्षको आरोप छ ।
यो आरोपसँगै ढकाल समूहले २२ जनाको हस्ताक्षरसहित कार्यसमिति बैठक डाक्न दबाब दिएका थिए । कार्यसमिति बैठक राख्न २५ प्रतिशतले निवेदन दिनुपर्ने महासंघको विधानअनुसार ढकाल समूहले निवेदन दिएका थिए ।
यसैबीच, वरिष्ठ उपाध्यक्षमा उम्मेदवार किशोर कुमार प्रधान समूहले सोमबार साधारणसभा र निर्वाचनको लागि कार्यसमिति बैठक बोलाउन महासंघमा निवेदन दिएको छ । ३६ जनाको हस्ताक्षरसहित दिएको निवेदनमा साउन ८ गते बसेको महासंघको पूर्व अध्यक्ष र पदाधिकारी भेलाले चुनाब स्थगित गर्ने निर्णयको स्वागत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।