संसदको प्रश्न : घाम लाग्दा चल्ने पानी पर्दा नचल्ने टेलिमकको अवस्था कहिले सुध्रन्छ ?


सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहभागी सांसदहरुले घाम लाग्दा चल्ने, तर बादल लाग्दा नचल्ने भन्दै टेलिकमको सेवाको गुणस्तर सुधार गर्नुपर्नमा जोड दिए । 


रुकुम पूर्वको चुनवाँगमा सफ्टवेयर नभएकै कारण सेवा नपुगेको सांसद कमला रोकाले बताइन् । ‘पहिलेकोले ठेक्का तोडियो, नयाँ भएको छैन,’ उनले भनिन्, ‘जनता बारम्बार गुनासो गर्छन, लकडाउनको बहाना देखाएर सामान आपूर्ति नहुँदा समस्या भइरहेको भन्ने गरिएको छ । घामसँगै टेलिकमको टावर आउँछ, घामसङ्गै अस्ताउँछ । गाउँ गाउँमा के होला ?’

 

अर्का सांसद दामोदर भण्डारीले नेपाल टेलिकमबाट अपेक्षा गरे अनुरुपको सेवा प्राप्त हुन नसकेको बताए । ‘स्कूल कलेजअवरुद्ध भइरहेको बेला लकडाउनको समयमा टेलिकम सेवाको महत्व झन् बढेको छ,’ उनले भने,  ‘तर सेवा प्रभावकारी हुन भने सकेको छैन । कुरा नसकिँदै फोन काटिने नियति अझैं हामीले भोगिरहेका छौं ।’


सांसद भण्डारीले एनसेलले टेलिकमले भन्दा राम्रो सेवा दिँदै आइरहेको उल्लेख गर्दै राज्यको लगानी रहेको कम्पनीले त्यसमा प्रतिस्पर्धा गर्न किन नसकेको भन्दै प्रश्न उठाए । ‘हामी सेवा दिने कुरामा किन चुकिरहेका छौं ?,’ उनले प्रश्न गर्दै भने, ‘एउटा निजी कम्पनीसँग राज्यले प्रतिस्पर्धा गर्न नसक्ने हो ? त्यसो हो भने यसलाई पनि निजीकरण गरौं ।’

 



बैंकमा इन्टरनेट नभएर सेवा प्रवाह हुन नसकिरहेको उल्लेख गर्दै उनले बैतडीमा भारतसँग सीमा जोडिएका स्थानहरुमा भारतीय दूरसञ्चार कम्पनीको सेवा लिनुपर्ने बाध्यता रहेको बताए । ‘त्यहाँका जनताले नेपाल टेलिकम चिन्दैनन्,’ उनले भने, ‘यो नियति कहिलेसम्म ?’

 



यसैगरी अर्का सांसद सञ्जय गौतमले गम्भीर विषयमा छलफलका लागि आह्वान गर्दा समेत सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा नआएको भन्दै आपत्ति जनाए । मन्त्री नै नआएपछि छलफलले कुनै औचित्य नरहेको उनको भनाइ छ । ‘मन्त्री ज्यू अनिवार्य रुपमा उपस्थिति हुनुपर्ने थियो,’ उनले भने, ‘यो मन्त्रालय संवेनशील छ, होइन भने मन्त्रीले नै राजीनामा दिनुपर्छ ।’

अहिलेको परिस्थितिमा ठोस कार्यनीति बनाएर अघि बढ्न सकेको खण्डमा मात्र नतिजा आउन सक्ने भन्दै सांसद गौतमले राजमार्गमा पनि टेलिकमको मोबाइ सेवाले काम नगरेको बताए ।  युटिएलले पैसा लिएर जनताको करमाथि मनपरी गरेको भन्दै उनले डिजिटल नेपालको फ्रेमवर्कको गफ दिएर मात्रै नहुने उनको भनाइ छ  ।

 

अहिलेको जमानामा पनि समस्या र सम्भावना देखाएर मात्र कुरा गर्ने प्रवृत्ति देखिएको भन्दै सांसद आशा बेञ्जुले अब ठोस कार्यदिशा बनाएर अघि बढ्नुपर्ने बताइन् । ‘यतिबेला अनलाइन पढाइको कुरा हुँदैछ,’ उनले भनिन्, ‘बझाङको धेरै ठाउँमा नेपाल टेलिकमको टावर टिप्दैन, तर एनसेलको सेवा राम्रैसँग चल्छ । अलि चर्को घाम लागे वा पानी परे टेलिकमको चल्दैन ।’
 

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १४:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया