दुःखमा गर्जो टार्ने वस्तुका रुपमा मानिँदै आएको सुन अब आम सर्वसाधारणको पहुँचबाहिर पुग्न लागेको छ ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्न थालेपछि सुन न त आम रुपमा किन्न सकिने अवस्था छ न त आफूसँग भएको सुन बेचेर आवश्यकता टारौँभन्दा सहजै बिक्री हुने अवस्था छ ।
२०७६ साउन १२ गते नेपाली बजारमा प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार (२०७७ साउन १६ गते) ९९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो बीचमा सुनको मूल्य ३४ हजार ४ सय रुपैयाँले बढेको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएको र विश्वव्यापी रुपमा स्टक मार्केट ओरालो लागेको अवस्थामा सुन सुरक्षित लगानीका रूपमा रहेकाले पनि यसको बजार मूल्य निरन्तर उकालो लाग्दै आएको अध्ययनहरुले देखाएको छ । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो हुँदै जाँदा विदेशी लगानीकर्ताका लागि सुन महँगिने गर्छ ।
मूल्य बढेसँगै नेपाली बजारमा सुन आयातसमेत घटेको छ । आव २०७–७७ को जेठसम्म कुल १३ अर्ब ६३ करोड ८७ लाख रुपैयाँको मात्र सुन आयात भएको छ । मूल्यका आधारमा यो अघिल्लो आवको भन्दा करिब ५७ प्रतिशतले कम हो । आव २०७५–७६ को सोही अवधिमा करिब ३१ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको सुन आयात भएको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्क छ । कोरोना सङ्क्रमण देखिनुअघि करिब ३ सय किलोभन्दा बढी सुन मौज्दात रहेकाले थप सुन आयात नभएको नेपाल बैङ्कर सङ्घले जनाएको छ ।
दैनिक १० किलो सुन बिक्री हुने नेपाली बजार अहिले ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइ छ । महासंघका अनुसार अहिले बजारमा सुनको कारोबार शून्यप्रायः छ । किन्नेभन्दा बिक्री गर्ने ग्राहकको चाप देखिए पनि व्यवसायीले समेत पुरानो सुन किनेका छैनन् ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यको घटबढ हेर्दा अब मूल्य ओरालो लाग्नुपर्ने अनुमान महासंघको छ । लगानीकर्ताले नाफा बुक गर्न थालेसँगै बजारमा बिक्री चाप देखिने र यसले मूल्य घटाउन सक्ने अनुमान विश्वव्यापी रुपमा हुन थालेको छ । बिक्री चाप बढेर सुनको मूल्य विश्व बजारमा प्रतिऔँस १ हजार ७ सय डलर पुगेमा नेपाली बजारमा प्रतितोला करिब ९० हजार रुपैयाँसम्म आउन सक्ने अनुमान व्यवसायीको छ ।
सातामै ३ हजार ७ सय बढ्यो
पछिल्लो १ सातामा सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । गत सातको शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बढ्दै शुक्रबार प्रतितोला ९९ हजार ५ सय पुगेको छ । सुनको मूल्यले पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले उकालो लागेको हो । यस्तै चाँदी भने शुक्रबार २५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार घटेर १२ सय रुपैयाँ पुगेको हो ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९ सय ७२ डलरमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।