काठमाडौं– सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)को भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुले दर्ता गरेको रिटमाथि आज (शुक्रबार) सुनुवाइ गर्दै सर्वोच्चले १५ दिन भित्र जवाफ पेस गर्न एन्फालाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजालसले एन्फालाई निवेदकको इच्छाबमोजिम आदेश जारी गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । यसका साथ साथै सर्वोच्च छलफलका लागि दुवैै पक्षलाई यही साउन २१ मा बोलाएको छ ।
गत असार २ गते एन्फाले गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरेर किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
एन्फाले सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघले एन्फाको छानविन समितिले दिएको सुझाव , एन्फाको निर्देशन नियमावली तथा कानुनी प्रक्रिया समेत पुरा नगरी जिल्ला लिग सञ्चालन गरेको आरोप लगाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।