नेकपा विवादः बल कसको कोर्टमा ? ओली या प्रचण्ड ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अहिले तत्काल सामसुम हुने लक्षण देखिएको छैन । किनकि यसमा दुई पक्षले आआफ्ना अडानलाई अझै अडिग भएर प्रस्तुत गरिरहेका छन् । 

झन्, पछिल्लो समय नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै संवादसमेत हुन सकेको छैन । 

यसअघि बालुवाटारमा बस्ने भनिएको मंगलबारको सचिवालय बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै छलफल नगरी स्थगित गरिदिएका थिए । त्यो दिन प्रचण्डको नेतृत्वमा बालुवाटारमा नै नेकपाका केही स्थायी कमिटी सदस्यहरुले बैठक त बसे तर यसलाई बैठक नभन्नेमा उनीहरु अन्तिम निष्कर्षमा पुगे । त्यसैले यसलाई भेला मात्र नाम दिइयो ।

त्यसपछि बारम्बार नेकपाका केही नेताहरु खुमलटार र बालुवाटार धाइरहेका छन् । तर, पछिल्लो समयको नेकपा विवादमा कुनै समाधान निस्किएला भन्ने अनुमान गर्नेहरु झन् झन् कम हुँदै गएका छन् ।

यसको प्रमुख कारणका रुपमा लिइएको छ– नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले नै एकअर्कासँग भेट्ने र छलफल गर्ने कुरालाई त्यति महत्व दिएका छैनन् । 

हुन त शुक्रबार मात्र प्रचण्डले आफ्नो सन्देश नेकपा महासचिव विष्णु पौडेलमार्फत् ओलीलाई पठाए भनिएको छ । तर, वार्ता गर्ने उद्देश्यका साथ उनले पठाएको यो सन्देशको जवाफ ओलीले दिएका छैनन् । बरु उनी बालुवाटारमा आफूनिकट नेताहरुसँग अबको निकासबारे छलफलमा जुटिरहेका छन् । 



अर्कोतिर, प्रचण्डलाई समर्थन गरिरहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अहिले प्रचण्डलाई पछाडि नफर्किन अनुरोध गरिरहेका छन् । नेकपाका एक नेताका अनुसार दुई महिनाअघि नै प्रचण्डले आफूनिकट नेताहरुलाई अहिलेको यो लडाइँ ‘वार कि पार’को लडाइँ भएको बताएका छन् ।

‘त्यसैले अहिले तत्काल उहाँहरु लचिलो बन्ने र ओलीसँग छलफल गरेर सहमतिमा पुग्ने भन्ने सम्भावना कम देखिएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘फेरि यसको अर्थ अहिले वार्ताको विकल्प अरु केही देखिएको पनि होइन ।’



नेकपामा पछिल्लो समय जारी विवादमा दुवै पक्षले वार्तालाई नै पहिलो प्राथमिकतामा चाहिँ राखेका छन् । तर, उनीहरुबीच वार्ता गर्ने सम्भावना पनि झन् झन् कम हुँदै गएको छ ।

‘दुवै पक्षले आफू बलियो छु र आवश्यक परेमा फरक बाटो हिँड्ने भन्ने मनस्थिति बनाएको बुझिएको छ,’ नेकपाका ती नेताले भने, ‘त्यसैले अहिले दुवै पक्षले एकअर्कासँग नेकपामा आफू नझुक्ने योजना बनाएको बुझ्न सकिन्छ ।’

तर, यो विवादमा अब समाधान कसरी निस्किएला त ?

यो प्रश्नको जवाफ दिन सहज छैन । किनकि अहिले बाधकका रुपमा प्रचण्ड–नेपाल समूहले ओलीलाई देखिरहेको छ भने ओली समूहले प्रचण्ड–नेपाललाई यसको बाधकका रुपमा लिएका छन् । पछिल्लो समय अब यो विवाद केन्द्रीय कमिटीमा जान सक्ने सम्भावना बढ्दै गएको छ । बिहीबार मात्र केन्द्रीय कमिटीका १ सय ५३ जना सदस्यले हस्ताक्षरसहित केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । 

यो बैठकको माग भए पनि ओली र प्रचण्ड बैठक बोलाउने कुरामा सहमत होलान् भन्नेमा निकै कमले मात्र अनुमान गरेका छन् । किनकि ओलीले यसअघि आफू कमजोर भएको महसुस गर्दै स्थायी कमिटी बैठक बोलाउन पनि आलटाल गरेका थिए । अर्कोतिर, आफ्नै पार्टीका नेताविरुद्ध अविश्वासको प्रस्ताव लिएर जान वा बढी दबाबमा पारेर पार्टी फुटाउन पर्ने अवस्थामा आएमा आफूलाई पछिसम्म समस्या पर्न सक्ने प्रचण्ड–नेपाल समूहले निष्कर्ष निकालेका छन् । 

त्यसैले तत्काल यी दुई पक्षले आआफ्ना अडानमा लचकता नदेखाए वार्ता हुने सम्भावना वा यो विवादको समाधान हुनसक्ने सम्भावना कम देखिएको छ । 

आखिर यो विवादलाई समाधानको बिन्दूमा कसले पुर्.याउन सक्ला त ? 

‘निश्चय पनि अहिले सत्तामा भएको पक्ष बढी लचिलो हुनु पर्ने देखिन्छ,’ नेकपका ती नेताले फरकधारसँग भने, ‘अहिले नेकपा विवादमा बल अब ओलीको कोर्टमा छ । ओलीले जसरी यसलाई ह्यान्डल गर्छन्, त्यसले नेकपाको भविष्य निर्धारण गर्छ ।’

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २१:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया