विजय शाहीः कति फेक, कति सही ?

विजय शाही । अहिले यो नाम भन्नेवित्तिकै युट्युबममा भिडियो हेर्नेहरुलाई पक्कै पनि थाहा छ, उनले तहल्का मच्चाइरहेका छन् । तहल्का यस अर्थमा युट्युबमा उनका भिडियो भाइरल भइरहेका छन्, उनले आफ्नो प्रतिभा र क्षमता जसरी देखाएका छन्, त्यसले धेरैको ध्यान तानिरहेको छ ।

कतिसम्म भने उनको प्रतिभाको आधारमा अनेक मिम बनिरहेका छन्, उनलाई प्रोत्साहन गरेर होस् या उडाएर नै किन नहोस्, मानिसहरुले उनीमाथि भिडियो बनाइरहेका छन् । 

अनि उनले देखाएको अद्भुत प्रतिभाका कारण मानिसहरुमा आश्चर्य मात्र थपिएको छैन, केहीले त उनको यो काम ठगी हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।

सबैभन्दा पहिले लागौँ, कालिकोटका विजय शाही कसरी चर्चामा आए भन्ने विषयमा । 

गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाए । त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो । यसअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर समेत चिनिने अर्पण शर्माको नाममा थियो । शर्माले ४२ शब्द स्मरण गरेर रेकर्ड बनाएका थिए । 

तर, उनलाई भारतका सागर भुजी भन्ने व्यक्तिले जिते । भारतका सागर भुजीले एक मिनेटमा अगाडि र पछाडि दुवैतिरबाट ७० शब्द सम्झिएर रेकर्ड बनाएका थिए । कालिकोटका विजयले जब यो रेकर्ड तोडे, उनको चर्चा बढ्न थालेको हो ।



बिर्सनु हुँदैन, सागर भुजीले यो रेकर्ड गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नै दर्ता गराएका हुन् । तर, विजयले अहिलेसम्म गिनिजमा नाम लेखेका छैनन् । उनले यो रेकर्ड ब्रेक गरे पछि च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा चाहिँ नाम लेखाएका हुन् ।

जब यो कुरा युट्युबबाट बाहिर आयो, तब सबैले विजयको क्षमतालाई प्रशंसा मात्र गरेनन्, उनलाई फलो गर्नेहरु पनि बढ्न थाले ।



शाहीको चर्चा बढेसँगै पत्रकार ऋषि धमालाले पनि उनलाई ४ साउनमा कार्यक्रममा बोलाए । धमालाको कार्यक्रम जनता जान्न चाहन्छन्मा शाहीले ३ मिनेटमा महाभारत र ५ मिनेटमा नेपाली शब्दकोष पढेर कण्ठ गरेको भनियो । हुन पनि टिभीमा देखाइएको कार्यक्रममा शाहीले केही समयमा नै यी दुई पुस्तक कन्ठस्थ गरेका थिए ।

६ साउनमा शाहीलाई फेरि रिपोर्टस् क्लबमा लगियो ।

त्यहाँ उनलाई केही व्यक्तिहरुले केही किताब दिए र त्यसलाई पढ्न लगाए । तर, शाहीले मानेनन् । यसअघि शाहीमाथि आलोचना हुन थालिसकेको थियो, अब यो आलोचनाको झिल्को झन् बढ्न थाल्यो ।

ह्वारह्वार्ती सल्किएको यो आलोचना अब झन् बढ्न थाल्यो । कतिले त उनले अहिलेसम्म नेपालीलाई झुक्याएको पनि भन्न थाले । 

यस्तो भन्नुका केही आधार थिए । यसअघि नेपाली मिडियालाई केही पात्रहरुले नराम्रोसँग झुक्याएका थिए । ०६८ सालमा इटहरीकी अनुजा बानियाँले ९० लाखभन्दा धेरै पैसा पाएको भनेर होस् या रसेन्द्र भट्टराईले आफ्नो रवाफ देखाएको प्रसंगमा किन नहोस्, नेपाली मिडिया नराम्रोसँग झुक्किएका थिए । 

त्यसैले विजय शाहीले पनि कतै नेपाली मिडियालाई झुक्याएका त होइनन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै थियो ।

अनि त्यही रिपोर्ट्स क्लबमा भएको पत्रकार सम्मेलनमा पनि विजय शाहीले आफूले त्यसअघि गरिरहेको दाबीलाई झुटो भएको आफैं प्रमाणित गरिदिए । उनले भने, ‘मैले पाना पल्टाएकै आधारमा सम्झिएको होइन, केही समय त लाग्छ नै, अहिले आएका भिडियोहरुमा त्यो मैले लिएको समय काटिएको छ ।’

उनको यो स्वीकारोक्तीले प्रष्ट्याएको छ, ५ मिनेटमा नै १२ सयभन्दा बढी किताब पढ्नु चाहिँ खासमा सम्भव हुँदैन ।

अब विजय शाहीको विषयमा नेपालमा मनोक्रान्ति अभियान चलाएर चर्चित बनेका योगी विकाशानन्दले के प्रतिक्रिया दिएका छन् भन्नेबारे हेरौँ । यो विषयमा विकाशानन्दको विचार र एनलाइसिस किन महत्वपूर्ण छ भने उनले केही समयअघिदेखि नेपालमा स्मरणशक्ति बढाउने उपाय भन्दै केही सेमिनार चलाएका छन्, केही पुस्तक प्रकाशन गरेका छन् । उनले आफ्नो यो अभियानलाई सुपर लर्निङ मेथड नाम दिएका छन् ।

तिनै विकाशानन्दले विजय शाहीमाथि एउटा भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । 

त्यसमा उनले भनेका छन्, ‘विजय भाइले पुरुषार्थ त देखाएकै हुन् तर उनी इमान्दार भएनन् कि भन्ने मेरो प्रश्न हो ।’

विकाशानन्दले विजय शाहीको इमान्दारीको प्रश्न उठाउनुको कारण एउटै हो– शाहीले यसरी आफूले सम्झिने कुरा आफैं प्रतिपादन गरेको भनेर केही मिडियाको अन्तर्वार्तामा बताएका छन् ।

तर, बिर्सनु हुँदैन, शाहीले गरेजस्तो स्मरणशक्तिको क्षमता प्रदर्शन यसअघि अमेरिकाका हावार्ड बर्गले गरेका थिए । उनले एक मिनेटमा २५ हजार शब्द र ४ मिनेटमा एक लाख शब्द याद गरेर रेकर्ड बनाएका थिए ।

तर, यो प्रविधि र सिद्धान्तको प्रतिपादक पनि हावार्ड बर्ग चाहिँ होइनन् । 

यसको विकास त सबैभन्दा पहिले जापानकी एक महिलाले गरेकी रहिछिन् । युमिका नाम गरेकी यी महिला शिक्षिका हुन् । उनले आफ्ना विद्यार्थीहरुलाई छिटो स्मरण गराउन सहयोग गर्दै गर्दा एक विद्यार्थीले उनलाई नै चकित बनाइदिएका रहेछन् । ८ वर्षका ती बालकले पाना पल्टाउँदै त्यहाँ लेखिएको सबै कन्ठ सुनाएका रहेछन् ।

अनि यो विधिलाई युमिकाले थप अध्ययन गरेकी हुन् । युमिकाले ती बालकलाई सोधेकी रहेछिन्– कसरी यस्तो सम्भव भयो ? 

ती विद्यार्थीले जवाफ दिएछन्– मैले पुस्तकका शब्दहरुलाई चित्र बनाएर आफ्नो दिमागमा कैद गरेको हुँ । 

युमिकाले यही लर्निङ प्रोसेसलाई थप अगाडि बढाएर धेरैलाई सिकाइछन् ।

अनि यो विधि हो– क्वान्ट स्पिड रिडिङ थ्योरी ।

यही विधिलाई प्रयोग गरेका हुनसक्छन्, विजयले । खैर, उनले अहिले जे गरेर देखाएका छन्, त्यो पक्कै पनि प्रशंसाको कुरा चाहिँ हो ।

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १०:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया