सञ्चालनको तयारीमा तारे होटल

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुरेन्ट व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै तारे होटलले पनि स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।     
     
चार महिना प्रायः ठप्प होटलको बिजनेस विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था छैन भने अर्कोतर्फ होटलबीचको प्रतिस्पर्धाले व्यावसायिक पक्कड जमाउन जटिल हुने व्यवसायीको बुझाइ छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।     
     
खर्बौं लगानी रहेका एक दर्जन बढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् । नेपालमा कोभिड–१९ संक्रमणको जोखिम कम रहेको सन्देश दिन र अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि केही संख्यामा विदेशी पर्यटक आउन सक्ने अनुमानसहित ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलबीच प्रतिस्पर्धा हुन सक्ने व्यवसयीको बुझाइ छ ।     
     
सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने व्यवसायीको भनाइ छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चलन गर्ने अवस्था छैन । अहिले पूर्ण क्षमताको एक तिहाइमात्रै सेवा सञ्चालन हुने हानले बताएको छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ।     
     
     
पाँचतारे होटलका लािग मुख्य बजार छिमेकी मुलुक भारत र चीन भएकाले ती देशको स्थिति सामान्य नहुँदासम्म पर्यटकको संख्यामा बढोत्तरी हुने अवस्था छैन । त्यसैले होटल सञ्चालन गर्न दिएपछि सरकारले कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको होटल सञ्चालकको  भनाइ छ । 

 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्ने व्यवसायीको भनाइ छ । नेपालमा कोभिड–१९ संक्रमण देखिए पनि मृत्युदर धेरै कम भएकाले नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सकारात्मक आधार रहेकाले पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन् ।

 

तीन तारेसम्मका होटल आन्तरिक पर्यटकले सर्भाइभ गराउन सक्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि व्यवसायीको जोड छ । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै व्यवसाय सञ्चालन गरेका छन् ।     
     


विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पीसीआर सेन्टर स्थापना गरेर चाँडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउन सके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने व्यवसायीले  बताए ।     




     
नेपालमा हाल १५ ओटा पाँचतारे होटल रहेकामा बन्द रहेको पोखराको फूलबारी रिसोर्टबाहेक १४ ओटा होटल सञ्चालनमा छन् । हानमा आबद्ध देशभर पर्यटकस्तरदेखि पाँचतारेसम्मका ३ हजार ५०० ओटा होटल सञ्चालनमा छन् । सरकारी तथ्यांकअनुसार हाल होटल क्षेत्रमा ४४ हजार शय्या छन् । 

 



हालको अवस्थामा २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायी बताउँछन् । होटल क्षेत्रमा रू.१५ खर्बभन्दा बढी लगानी रहेको छ । नेपाल पर्यटन बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनामा होटल तथा हवाई क्षेत्रमा रू. ४१ अर्ब नोक्सानी भएको छ ।
 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १६:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया