झलनाथसहित बालुवाटारमा ओली–प्रचण्डको छलफल शुरु
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छलफलमा नेकपा सचिवालय सदस्य झलनाथ खनालको समेत सहभागिता रहेको छ ।

गत १३ साउनमा बसेको प्रचण्ड–नेपाल समुह सम्मिलित स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । बैठक स्थगित भएयता दुई अध्यक्षबीच शनिबारसम्म कुनै छलफल हुन सकेको थिएन । आज शुरु भएको बैठकमा छलफलका लागि नेता खनाललाई पनि साथमा लगिएको छ ।

१० असारमा शुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाको बिवाद उत्कर्षमा पुगेको थियो । अध्यक्ष ओलीले भने आपूmले कुनै पनि पदबाट राजीनामा नदिने बताउँदै आएका छन् । अध्यक्ष ओलीले बरु पार्टीको एकता महाधिवेशन गर्ने र त्यहाँबाट नेतृत्व चयन गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समुहका नेताहरुले भने ओलीले दुईमध्ये कुनै एक पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । यिनै विषयहरूका कारण अहिले ओली–प्रचण्डबीचमा दूरी बढ्दै गएको छ । यद्यपि, ओली–प्रचण्ड दुवै समुहका दोस्रो तहका नेताहरुले दूरी मेटाउने प्रयास गर्दै आएका छन् । 
साउन १३ गते ११ बजेका लागि बोलाइएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेका थिए । सोही दिन प्रचण्ड–नेपाल समुहले भने बालुवाटारमै बैठक बसाएका थिए । २९ जना सहभागी उक्त बैठकले अध्यक्ष ओलीसम्म छलफल गरेर पार्टीको बिवाद समाधानका निम्ति अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो । सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे मध्यमार्गी प्रस्ताव सार्वजनिक गरेका थिए । 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ११:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया