के आइतबार भएको ओली–प्रचण्ड भेटले नेकपा विवादको ट्र्याक फेर्दैछ ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा अब नयाँ ट्विस्ट एन्ड टर्न्स आउने सम्भावना बढ्न थालेको छ । आइतबार विहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाटले यस्तो नयाँ मोड ल्याउने नेकपाकै नेताहरुले दाबी गरेका छन् । 

आइतबार भएको ओली र प्रचण्डको भेटले कसरी पछिल्लो समयको विवादलाई निष्कर्षमा पुर्याउन खोज्दैछ भन्नका लागि यसअघिका ओली र प्रचण्डका भेट र तिनले निकालेका नतिजालाई पनि एकपटक सम्झनु पर्ने हुन्छ । 

यसअघि वैशाखमा जब प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई आफ्नै जोडबलमा पारित गराएका थिए, नेकपामा विवाद देखिएको थियो । त्यति बेला सचिवालयका अधिकांश सदस्य प्रधानमन्त्री ओलीको विपक्षमा थिए ।

नेकपा फुटाउन ल्याइएको भनेर पहिले प्रचार गरिए पनि त्यो अध्यादेश खासमा राजपा फुटाउन ल्याएको भन्नेमा प्रधानमन्त्री ओलीले प्रचण्ड र नेकपाका अन्य सचिवालय सदस्यलाई कन्भिन्स गराएका थिए । त्यति बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले ओलीको पक्ष लिँदा नेकपाको विवाद टुङ्गिएको थियो । 

तर, बिर्सनु हुँदैन त्यो विवादको अन्त्यअगाडि प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘घनीभूत’ छलफल भएको थियो । त्यही छलफलले नेकपामा विवाद समाधान गरेको थियो ।

अब अहिले पनि नेकपामा शक्ति संघर्षका लागि चलिरहेको विवाद एउटा ठोस निष्कर्षमा पुग्न सक्ने अनुमान गरिएको छ । किनकि केही समययता भेटघाटका लागि पनि तयार नभएका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अब एकअर्कासँग भेटघाट गर्न थालेका छन् ।



आइतबार यी दुई अध्यक्षसँगको भेटघाटमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए । यी तीन नेताको छलफलले खास नतिजा त निकाल्न सकेन तर बैठक हुनुलाई सकारात्मक कोणबाट नेताहरुले लिन थालेका छन् । 

‘पछिल्लो समय संवादहिनको अवस्था सिर्जना भएको थियो,’ नेकपामा ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘कम्तिमा अब छलफल हुन थाल्नु भनेको यसले ठोस निष्कर्षमा पुर्याउने छलफल सुरु हुनु पनि हो ।’



 

विवाद कहाँ अन्त्य गर्ने भन्नेमा अझै विवाद !

आइतबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफलमा अहिलेको विवाद कहाँबाट र कसरी अन्त्य गर्ने भन्नेमा कुरा नमिलेको नेकपा स्रोतको दाबी छ । नेकपा स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओली अहिलेको विवाद सचिवालयबाट अन्त्य गर्नु पर्नेमा अडिग छन् भने अध्यक्ष प्रचण्ड यो विवाद स्थायी कमिटीबाट आएकाले त्यहाँ नै यसको अन्त्य गर्नु पर्ने धारणामा छन् ।

‘यसमा अझै सहमति हुन सकेको छैन,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारलाई भने, ‘तर, अब वार्ता सुरु भइसकेकाले यसमा पनि केही दिनमा सहमति निस्किएला भन्नेमा ढुक्क हुनसकिन्छ ।’

अर्कोतिर, आज बालुवाटारमा भएको बैठकको बिफ्रिङका लागि नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा नेताहरुको विशेष बैठक बोलाएका थिए । त्यहाँ उनले प्रधानमन्त्री ओलीसँग छलफल भएका विषयबारे बिफ्रिङ गरे । यो बिफ्रिङपछि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल गर्ने अनुमान बैठकमा सहभागी एक नेताले बताए ।

‘विवादको चुरो भनेको पार्टीमा विधिलाई बेवास्ता गरिनु हो,’ फरकधारसँग उनले भने, ‘यसलाई कसरी म्यानेज गर्ने भन्ने निकै महत्वपूर्ण छ ।’

 

महाधिवेशन नै अब बटमलाइन बनाउने तयारी

अहिलेको विवाद मिलाउन अब बटमलाइनका रुपमा महाधिवेशनलाई चित्रण गर्ने ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष दुवैको तयारी रहेको छ । यसअघि यो विवाद निम्तिएपछि महाधिवेशन छिटो गर्ने प्रस्ताव ओलीले राखेका थिए । उनको यो प्रस्ताव आएपछि प्रचण्ड सकारात्मक भएका थिए भने माधव नेपाल पक्षले चाहिँ फेरि ओलीले अल्मल्याउन खोजेको टिप्पणी गरेको थियो । 

‘आजको भेटमा पनि महाधिवेशनको कुरा उठेको छ,’ नेकपा नेता टोपबहादुर रायमाझीले फरकधारलाई भने, ‘त्यसैले अब विवाद अन्त्य हुनसक्ने सम्भावना बढेको छ ।’

ओलीपक्षका अर्का नेताले पनि पार्टीमा महाधिवेशनलाई अब म्यान्डेटका रुपमा अगाडि लैजान सकिने बताए । ‘एकता महाधिवेशनले पार्टीलाई थप बलियो बनाउने निश्चित छ,’ उनले भने, ‘त्यसैले अब महाधिवेशनलाई छिटो गरेर नेतृत्वमा रहेको अहिलेको विवादलाई अन्त्य गर्नु नै पार्टीका लागि हितकर हुनेछ ।’

नेताहरु थाकिसके, वार्ता अब सकारात्मक दिशामा’

नेकपा नेता टोपबहादुर रायमाझीले पछिल्लो समय नेकपाका दुई अध्यक्षबीच वार्ता हुन नसकिरहेको यो अवस्थामा आइतबार दुई नेताबीच वार्ता हुनुलाई अहिलेको विवाद समाधान सकारात्मक दिशामा गएको बताए । 

‘यसअघि वार्ता बस्न पनि सकिरहेको थिएन,’ रायमाझीले आइतबार अबेर साँझ फरकधारसँगको टेलिफोन कुराकानीमा भने, ‘आज वार्ता बस्यो, अब विभिन्न विकल्पमा छलफल भएको छ, यो सकारात्मक कुरा हो ।’

रायमाझीका अनुसार अहिलेको विवाद अब सचिवालयमा टुङ्ग्याउने वा स्थायी कमिटीमा भन्नेमा दुई मत आएका छन् । स्थायी समितिमा उठेका विषय भएकाले यसलाई स्थायी कमिटी बैठकमा नै टुङ्ग्याउनु पर्नेमा प्रचण्ड पक्ष रहेको पनि उनले बताए । 

‘अब नेताहरु थाकिसकेका छन्,’ उनले भने, ‘आइतबारको यो भेटले मिल्नुको विकल्प नभएको संकेत गरेको छ, अब सबै कुरा ठाउँमा आइसक्यो ।’

  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार २१:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया