नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सम्बन्धमा छलफल गर्न सोमबार बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता झनै विवादतर्फ उन्मुख भएको छ ।
समस्या समाधान गर्नका लागि बसेको बैठक नै विवादतर्फ उन्मुख भएपछि अब नेकपाको भविष्यमाथि थप अन्यौलता थपिएको छ ।
आइतबार बालुवाटारमै बसेको बैठकपछि ‘अब मिल्नुपर्छ झगडा गरेर हुँदैन’ भन्ने सन्देश बोकेर ओली र प्रचण्ड एक–आपसबाट बिदा भएका थिए । तर, सोमबारको बैठकमा भने अध्यक्षद्वय फरक रुपमा प्रस्तुत भए ।
गत साउन १३ गते स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि अध्यक्ष ओलीसँग छलफल गरेर सहमति गर्न अर्का अध्यक्ष प्रचण्डलाई म्याण्डेड दिइएको थियो । तर, बैठक स्थगन भएको ६ दिनसम्म पनि ओली–प्रचण्डबीच कुनै संवाद हुन सकेको थिएन ।
आइतबारबाट संवाद सुरु भएकाले केही निकास आउने अपेक्षा गरिएको थियो । पुनः सोमबार बसेको बैठक भने त्यति सौहार्द हुन सकेन । बैठकमा ओली र प्रचण्ड दुवै आ–आफ्नै अडानमा अडिग भएका कारण बैठक तिक्ततातर्फ मोडिएको थियो । अध्यक्ष ओलीले सचिवालयको बैठकमा छलफल गरेर विवाद समाधानतर्फ जोड दिएपछि बैठकमा उनीहरुबीचको भेट तिक्ततापूर्ण हुनपुगेको बैठकमा सहभागी एक नेताले बताए ।
छलफलमा दुई अध्यक्षसहित प्रचण्डका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी थिए भने ओलीका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
‘ओलीज्यू मिल्ने आसयले बैठकमा आउनुभएको जस्तो मलाई लागेन । उहाँले मिल्ने ढंगले कुरा गर्नु पनि भएन,’ ती नेताले फरक धारसँग भने, ‘आफ्नो मात्रै कुरा सुन्नुपर्छ भनेपछि त कसरी कुरा मिल्न सक्छ र !’
के ओलीले बैठक राख्न नचाहेकै हुन् ?
आइतबार मिलेर पार्टी विवाद समाधान गर्नुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बैठक सोमबार भने फरक रुपमा प्रस्तुत हुँदा नेकपा विवाद झनै बढ्ने आंकलन गर्न सकिन्छ । अध्यक्ष ओली बैठक नै नबसाउने नियतले प्रस्तुत हुँदा समस्या समाधानतर्फ उन्मुख हुन नसकेको प्रचण्ड पक्षका एक नेताले बताए ।
‘पार्टी विवाद समाधान हुनेगरी अहिलेसम्म केही कुरा मिलेकै छैन । कुनै उपलब्धि भएको छैन भन्दा पनि हुन्छ,’ ती नेता भन्छन् ‘यही पाराले त कुरा मिल्ने जस्तो पनि देखिँदैन ।’
बैठकमा ओलीले कुनै छलफल नै गर्न नचाहेको ती नेताको आरोप छ ।
समाधान के ? सचिवालय या स्थायी कमिटी ?
अहिले जारी विवादका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गरेर जानुपर्ने प्रचण्ड पक्षले प्रस्ताव राखेको छ । तर, अध्यक्ष ओली भने यो विवादलाई सचिवालयमै टुंग्याउनुपर्ने पक्षमा आफ्नो मत राख्दै आएका छन् । ओलीले सचिवालयमा छलफल गरेर महाधिवेशनमा जानेसम्मको विषयमा छलफल गर्ने तयारीमा रहेको केपी ओली पक्षका एक नेताले बताए ।
तर, प्रचण्ड पक्षका नेताहरु भने बैठक बसेर पार्टीका सदस्यहरुको कुरा सुन्नुपर्ने बताउँदै आएका छन् ।
पार्टीको हितमै छलफल हुने भएकाले अध्यक्ष ओली बैठकबाट भाग्न नहुने प्रचण्ड पक्षका नेताहरुको भनाइ छ ।
‘नेकपा एउटा पार्टी हो नि ! पार्टीमा बैठक बस्छ, छलफल हुन्छ र आलोचना पनि हुन्छ । छलफल गर्नै नचाहने । सुन्नै नचाहने त भएन नि’, प्रचण्ड निकट एक नेता भन्छन् ।
बैठकको बैधानिकतामाथि प्रश्न
पछिल्लो चरणमा साउन १३ गतेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी ढंगले स्थगन गरेपछि नेकपा विवादले नयाँ मोड लिएको थियो । सोही दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै प्रचण्डले आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए ।
उक्त बैठकमा २९ जना स्थायी कमिटीका सदस्य सहभागी थिए । सोही बैठकलाई बैधानिकता दिनुपर्ने माग अध्यक्ष प्रचण्डले ओली समक्ष राख्दै आएका छन् । तर, ओली पक्षले भने उक्त बैठक प्रचण्ड–नेपाल पक्षको गुटको भेला मात्र मान्न सकिने बताउँदै आएको छ । साउन १३ को बैठकमा अध्यक्ष ओली पक्षका कोही पनि नेता सहभागी भएका थिइनन् ।
‘सो दिन अध्यक्ष (ओली)ले बैठक स्थगनको सूचना जारी गरिसक्नु भइको थियो । उक्त दिनको बैठकलाई कसरी बैधानिकता दिन सकिन्छ र ? अहिले अध्यक्ष ज्यूले पनि भन्दै आउनुभएको कुरा यही हो’, ओली पक्षका एक नेताले भने ।
त्यसो त प्रचण्डको अध्यक्षतामा बैठक बसे पनि त्यसले बैधानिक रुप भने पाउन सकेको थिएन । किनकि, उक्त बैठकमा महासचिव विष्णु पौडेल सहभागी भएनन् । बैठकका लागि चाहिने माइन्यूट महासचिवसँगै रहने भएकाले प्रचण्ड–नेपाल समूहको उक्त बैठकले बैधानिकता पाउन नसकेको हो ।
ओलीसँगै मिल्न प्रचण्डलाई दबाव
तत्कालिन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि नयाँ समीकरण बन्यो । खासगरी, पछिल्लो समय नेकपामा स्पष्ट गुट देखिँदै आएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल पक्षको एउटा समूह बन्यो भने, अर्को अध्यक्ष ओली पक्षधर ।
यी दुई गुट अहिले स्पष्ट रुपमा देखिएरै पार्टीको आन्तरिक बिवादमा सहभागी हुँदै आएका छन् । प्रचण्डले नेपाल–खनालसँग मिलेर नयाँ समीकरण बनाएपछि पूर्वमाओवादी तप्काका केही नेताहरु प्रचण्डसँग रुष्ट बनेका छन् ।
उनीहरुले नयाँ समीकरण ठीक नहुने र अध्यक्ष ओलीसँगै मिलेर जान प्रचण्डलाई दबाव दिँदै आएका छन् । पार्टी एकता जोगाउने हो भने यो समिकरणले काम नगर्ने र ओलीसँगै मिलेर जान पूर्वमाओवादी केन्द्र समूहका नेताहरुले प्रचण्डलाई सुझाइसकेका छन् । पूर्वमाओवादी समूहका दोस्रो तहका नेताहरुमा ओलीलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने मत बाक्लिँदै गएको छ ।
नेताहरु हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, मणि थापा र टोपबहादुर रायमाझीले यस विषयमा छुट्टै भेला नै गरेका थिए । उनीहरुले प्रचण्डको पछिल्लो समीकरणलाई निरन्तरता दिएमा प्रचण्डलाई साथ दिन नसक्ने प्रष्ट शब्दमा भनिसकेका छन् ।
युवाहरुको ‘घरदैलो’
नेकपा विवाद मिल्ने छाँटकाँट नदेखिएपछि नेकपाका युवा नेता खासगरी केन्द्रीय सदस्यहरुले शीर्ष नेताहरुका घर–घर गएर ‘घरदैलो’ गर्दै आएका छन् । स्रोतका अनुसार उनीहरुले अबको विकल्प केन्द्रीय कमिटीको बैठक नै भएको भन्दै त्यसैको माग गर्दै शीर्ष नेताहरुको घरघरमा धाउन थालेका हुन् ।
मिलेसम्म युवाहरु छुट्टै भेला गर्ने तयारीमा रहेको बताइएको छ । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीभित्र शीर्ष नेताहरु बसेर बिवाद समाधान हुने नदेखिएकाले अबको विकल्प केन्द्रीय कमिटीको बैठक नै भएको बताए । यसैका लागि युवाहरुले छलफल गरिहेको उनको भनाइ छ ।
‘पार्टीमा बिवाद झन चर्किँदै गयो । अब पार्टीको केन्द्रीय कमिटीको बैठक नै विकल्पको रुपमा हामीले देखेका छौ’, नेता गैरेले भने ‘यही विषयमा हामीले छलफल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
असार १० गतेबाट नेकपाको स्थायी कमिटीको बैठक सुरु भएयता नेकपा आन्तरिक बिवादमा डुबेको छ । बैठकको सुरुवातमै बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार र पार्टी एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाएका थिए । त्यसैले, ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेका थिए । त्यसयता नेकपाको स्थायी कमिटी पटक–पटक स्थगन भइरहेको छ ।
पार्टीभित्र बिवाद चर्किदै गएपछि अध्यक्ष प्रचण्डले मंगलबार बिहान उपाध्यक्ष बामदेव गौतमलाई भेटेर फर्किएका छन् । उनीहरूबीच पार्टीभित्र गहिरिँदै गएको सङ्कट व्यवस्थापनका सन्दर्भमा नयाँ रोडम्याप, एकता र सहमतिको विन्दू खोज्ने विषयमा कुराकानी भएको बताइएको छ ।
सोमबार स्थगित भएको ओली–प्रचण्डबीचको बैठक बेलुका ५ बजे बस्ने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । तर, खुमलटार स्रोतले भने बैठक बस्ने विषयमा कुनै टुंगो नभएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।