त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा तत्काल नहुने

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ  । कोरोना सङ्क्रमित बढेको र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना देखिएपछि तत्काल परीक्षा निर्णय लिने सम्भावना नरहेको विश्वविद्यालयले जनाएको छ ।


स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट विश्वविद्यालय पछि हटेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ  ।


विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।


विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् ।


अब स्थगित परीक्षा दशैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने उनको भनाइ छ ।


परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन नसक्ने उनको भनाइ छ । विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उनको भनाइ छ ।
अब परीक्षाका विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीसँग समेत छलफल गरी सम्भावित परिस्थिति आँकलन गरिने जानकारी उनले दिए । 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १५:१५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया