प्रधानमन्त्री ओलीलाई काङ्ग्रेस सभापति देउवाका ७ सुझाव

कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसँग छलफल गरे । छलफलमा सहभागी भएका विपक्षीदलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सात सुझाव दिएका छन् ।  

११ बजेबाट प्रारम्भ भएको छलफलमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न सुझाव दिएका छन् । उनले स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही गर्न माग गरे ।

यस्ता छन् देउवाका सुझाव

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही गरियोस् ।

(२) नेपाली काङ्ग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण होस्:
- आरडीटी परीक्षणको स्थायी रुपले अन्त्य।
-  सम्पूर्ण रुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त।
- स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।
-  मापदण्ड अनुरुप क्वारेन्टाइनको यथाशीघ्र व्यवस्थापन।
- विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्दार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्‍याउने व्यवस्था।
- नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल।
- सुरक्षाका लागि मास्क लगाउने अनिवार्य र चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।



(४) विभिन्न दल, संघसंस्था र आम सञ्चार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।



(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।

  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १५:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया