काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा रहेका वेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीइतर समूहले पत्रकार सम्मेलन गरेर अहिले पार्टीभित्र चलिरहेको बहस पदको झगडा नभएर विधि र पद्धतिका लागि गरिएको संघर्ष भएको बताएको छ ।
पार्टीसम्बद्ध सञ्चारकर्मीहरुलाई मात्र बोलाएर बुधबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । पत्रकार छलफलमा सहभागी शीर्ष नेताहरुले नेकपामा आफूहरुले विचार, नीति, विधि, पद्धतिका लागि संघर्ष गरिरहेको दाबी गरेका छन् ।
अहिलेको बहस केपी ओली र प्रचण्डको पदको लडाइँका रुपमा प्रचार भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको खण्डन गरेका छन् । आफूले गत मंसिर ४ मा आलोपालो सरकारको सहमति छाडेको स्मरण गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री हुने हतारो र रुचि नभएको प्रस्टीकरण दिए । पार्टीभित्रको बहसलाई पदको निम्ति गरिएको छिनाझपटीका रुपमा नलिन उनले आग्रह गरे ।
पार्टीलाई मार्क्सवाद, लेनिनवादका आधारमा निर्देशित पार्टी बनाउन आफूहरुले संघर्ष गरेको तर अर्कोपक्ष बुर्जुवा मान्यतालाई पक्रिएर अघि बढेको उनीहरुको आरोप छ । पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्नुपर्ने भन्दै उनीहरुले पार्टीको अधीनमा व्यक्ति हुनुपर्नेमा अध्यक्ष ओलीले व्यक्तिको अधिनमा पार्टीलाई राख्न खोजेको बताए ।
सामूहिक निर्णयबाट व्यक्तिगत उत्तरदायित्व कायम गर्नुपर्नेमा असन्तुष्ट पक्षको जोड छ । अध्यक्ष ओलीसँग यिनै विषयमा गम्भीर अन्तरसंघर्ष चलिरहेको उनीहरुको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।