कांग्रेस विवादः पदाधिकारी बैठकमा पौडेल र देउवाबीच चर्काचर्की

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद सतहमा आइरहेका वेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि विवादमुक्त हुन सकेको छैन । 

पार्टी सभापति शेरबहादुर देउवाले धमाधम पार्टीका विभागलाई पूर्णता दिन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार असन्तुष्टि जाहेर गर्दै आएको छ । 

सोही विषयमा बिहीबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । कांग्रेसका पूर्वपदाधिकारीसहित देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पौडेलले विभाग गठन र विस्तार रोक्न आग्रह गरेका थिए । 

पौडेलको आग्रहलाई सभापति देउवाले ठाडै अस्वीकार गरेपछि चर्काचर्की भएको हो । नेता पौडेलले विभाग खारेजको माग गरे पनि देउवाले केही दिनभित्रै ४७ वटै विभाग विस्तार गरेर देखाउने जवाफ दिएका थिए । 

उल्टे देउवाले बरु ४० प्रतिशत नाम दिन पौडेललाई आग्रह गरेका थिए । त्यसको जवाफमा पौडेलले कुनै पनि विभागमा आफ्नो समूहको उपस्थिति नहुने र त्यसलाई स्वीकार नगर्ने अडान राखेका थिए । 

पौडेलले नाम नदिए एकल निर्णयमा विभाग गठनलाई पूर्णता दिने देउवाको अडान थियो । तीनवटा विभागको नेतृत्व उपसभापति विजयकुमार गच्छदारलाई दिने र बाँकी विभागमा पाँचदेखि सात सदस्य पौडेलको सिफारिसमा चयन हुने देउवाले सुनाए । 



बैठकले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्य संख्या दोब्बर बढाउने निर्णय गरेको छ । अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन् ।



  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १७:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया