प्रचण्डका तीन विकल्प

केही महिना यता देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको छ । अब यो विवाद अहिले तत्काल र सहज रुपबाट समाधान हुने देखिँदैन । किनकि पछिल्ला दिनमा नेकपाभित्रको विवाद अझ चर्किँदै गएको छ । 

यो विवाद चर्किँदै जाँदा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका विकल्पहरु पनि साँघुरिँदै गएका छन् ।

पछिल्ला दिनमा नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष प्रचण्ड समूहलाई दिँदै आएको साथ छोडेको हुनसक्ने अनुमानहरु बाहिर आएपछि र गौतमको छ बुँदेले अध्यक्ष ओलीलाई समर्थन गर्ने संकेत गरेसँगै प्रचण्ड समूह थप दबाबमा परेको छ । तर, बुधबार प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरु अहिले पद र सत्ताको लागि नभएर पार्टीमा विधान र विधि संस्थागत गर्न पछिल्ला माग राखेको बताए ।

यसबाट पनि बुझ्न सकिन्छ, प्रचण्ड समूह र ओली समूहबीचको दूरी झन् बढिरहेको छ । 

हुन त बिहीबार विहान प्रचण्ड निवासमा प्रधानमन्त्रीको ओलीको विशेष सन्देश लिएर सुवास नेम्वाङ बुझेका थिए । तर, यो भेटमा पनि कुनै निष्कर्ष निस्किन सकेको देखिँदैन । किनकि प्रचण्डसँग यो भेटमा नेम्वाङले लगेका ओलीका प्रस्ताव ओलीले यसअघि प्रचण्डसँग राखिसकेका विकल्पहरु थिए । 

नेकपामा विवाद बढ्दै जाँदा अब के गर्छन् त प्रचण्ड ? 



केही नेकपा र उनीनिकट नेताहरुसँगको कुराकानीपछि हामीले उनीसँग बचेका तीन विकल्पबारे चर्चा गर्ने प्रयास गरेका छौँ ।

 



१) फेरि पछाडि हट्ने, ओलीसँग सहकार्य गर्ने

पछिल्ला दिनमा मणि थापा, लेखराज भट्टलगायतका केही नेताहरुले पुष्पकमल दाहाल प्रचण्डलाई दिइरहेको सुझाव र विकल्प हो– ओलीसँग मिल्ने । अहिले सरकार आफ्नै पार्टीको भएकाले ओलीसँग मिलेर अगाडि बढ्नुको विकल्प तत्काल नदेखिएको र यसो गर्दा मात्र सहज वातावरणमा पार्टीलाई अगाडि बढाउन सकिने तर्क प्रचण्डलाई उनकै यसअघिका ‘सारथी’हरुले राख्न थालेका छन् । 

हुन पनि अहिले ओलीले जुन अडान लिइरहेका छन्, त्यसमा प्रचण्ड र उनको समूहसँग अरु थप र नयाँ विकल्प केही देखिँदैन । पछिल्लो समय नेकपामा केन्द्रीय कमिटी बैठकको माग पनि भइरहेको छ । तर, यसलाई टार्न ओलीले भरमग्दुर प्रयास गरिरहेका छन् । तर, प्रचण्ड पक्ष यसलाई टार्ने मनाशयमा छैन । प्रचण्ड र नेपाल समूहले अहिले अनुमान गरेको हुनुपर्छ, केन्द्रीय कमिटीमा उनीहरुका मागबारे प्रष्टसँग सहमती जनाउने बहुमतमा केन्द्रीय सदस्य हुनेछन् ।

एकातिर यो समीकरणको विषयमा प्रचण्ड र उनलाई साथ दिइरहेको समूहलाई महसुस भएको छ भने अर्कोतिर यो अहिले प्रचण्ड समूह अगाडि बढ्ने कि पछाडि हट्ने भन्नेमा दोधारमा परेको छ । यस्तो हुनुको कारण भोलि आफूमाथि आउने आरोप र विवादलाई महत्वका साथ प्रचण्ड र अन्य नेताले लिएका छन् । 

अहिले पार्टीमा थप संघर्ष गरिरहँदा आगामि निर्वाचनमा आफू समस्यामा पर्न सक्ने मात्र नभएर पार्टी फुटेमा आफूमाथि लामो समयसम्म पार्टी फुटाएको आरोप लागिरहने यो समूहका नेताहरुले सोचेका छन् । ‘यसअघि पार्टी फुटाएको आरोप अहिले पनि बेलाबेलामा गौतममाथि लागिरहेको हुन्छ,’ नेकपाका एक नेता भन्छन्, ‘त्यसैले पार्टीमा विभाजन ल्याउने हेतुले नै प्रचण्ड समूह अगाडि बढेको छैन भन्ने अनुमान गर्न सकिन्छ ।’

पार्टीमा वैचारिक विषयमा खासै बहस हुन नसकेको यो समयमा त्यसैले प्रचण्डका लागि विकल्प हुन्छ, गत वैशाखमा जस्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आत्मोलचना गर्न लगाउने र आफूहरु पछाडि हट्ने । यो भएको खण्डमा अहिले तत्कालका लागि केपी ओलीबाट कुनै पदको पनि राजीनामा नमाग्नु पर्ने हुनसक्छ । प्रचण्डले आफू पछाडि हटेर केपी ओलसँग मिलेर अगाडि बढ्ने विकल्प लिन सक्छन् । 

 

२) संसदमा अविश्वासको प्रस्ताव लैजाने, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । नेपालको संविधानअनुसार दुई वर्षपछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा लैजान सकिन्छ । यस्तो गर्दा जसले अविश्वासको प्रस्ताव लगेको हो, उसले अर्को प्रधानमन्त्री उम्मेदवारको पनि नाम सँगै लैजानु पर्ने हुन्छ । 

अहिले नेकपामा ओलीइतर समूहले दाबी गर्दै आएको छ, संसदीय दलमा आफ्नो बहुमत पुग्छ । यसअघि वैशाखमा विवाद निस्किँदा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि निकै कस्सिएर लागेका थिए । त्यति बेला दुवै पक्षले केही सांसदहरुको हस्ताक्षर पनि गर्न खोजेका थिए ।

तर, सचिवालयमा नेकपा उपाध्यक्ष वामदेव गौतमले ‘कोल्टे फेर्दा’ यो विवाद यत्तिकै सामसुम भएको थियो । 

अहिले नेकपाको विवाद सचिवालयमा मात्र केन्द्रित छैन, यो अब केन्द्रीय कमिटीसम्म पुग्ने अनुमान गर्न थालिएको छ । यस्तो अवस्थामा र आफ्नो अडानलाई कायम राख्ने नै हो भने प्रचण्ड–नेपाल समूहले संसद् चल्न थालेपछि अविश्वासको प्रस्ताव लगेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन सक्ने विकल्प देखिन्छ । 

तर, आफ्नै पार्टीको अध्यक्षविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजानका लागि प्रचण्डसामु कति समस्या हुन्छ, त्यसबारे उनीहरुले अगाडि नै छलफल गरिसकेको एक नेता बताउँछन् । ‘खासमा यसअघि संसदमा अविश्वासको प्रस्ताव लैजाने विषयमा यो समूहमा छलफल भइसकेको छ,’ नेकपाका एक नेताले भने, ‘तर, तत्काल अविश्वासको प्रस्ताव लैजाँदा पार्टीभित्र र बाहिर पनि आफूहरुलाई समस्या पर्न सक्ने अनुमान भएका छन् ।’

त्यसैले तत्काल र यही अवस्थामा प्रचण्ड सामु भएको यो विकल्प प्रयोगमा नआउला । तर, पार्टीको विवाद यसरी नै लम्ब्याइरहने हो भने र ओलीले आफ्नो अडान कायम राख्ने हो भने प्रचण्ड–नेपाल समूह यो विकल्प प्रयोग गर्न आफूहरु बाध्य हुनेमा स्पष्ट भइसकेका छन् ।

 

३) पार्टी विभाजन गर्ने

नेकपा विवाद बल्झिँदै जाँदा अन्तिम विकल्पका रुपमा प्रचण्ड–नेपाल समूहसामु यो विकल्प पनि रहेको छ । 

यसअघि वैशाखमा नै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि आशंका गरेका थिए– कतै ओलीले पार्टी फुटाउने त होइनन् । हो, त्यति बेला ओलीले यो राजनीतिक विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा प्रचण्डसँग पहिले नै छलफल गरेका थिए र यसको चाहना राजपा र समाजवादी पार्टीलाई फुटाउनु रहेको भन्ने प्रष्ट भएको पछि बताइएको थियो ।

तर, त्यति बेला विवाद बढ्दै गर्दा आवश्यक परेमा नेकपा पनि विभाजन भएर अलग अलग पार्टी बन्ने भन्ने चर्चा चल्न थालेको थियो ।

पछिल्लो समय निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता पनि भएको छ । केहीअघिसम्म नेकपा उपाध्यक्ष वामदेव गौतमले यो दल दर्ता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको ठाडो आदेशमा भएको आरोप लगाएका थिए । अहिले पनि शीर्ष नेताहरुले पार्टी विभाजनसम्म गर्न सक्छन् भन्ने अनुमानका साथ नेकपामा दोस्रो पुस्ताका नेताहरु विवाद मिलाउन लागिपरेका छन् । नेकपा नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले केही दिनअघि मात्र सामाजिक सन्जालमा लेखेका थिए– दुर्घटना नजिक छ । 

यसले स्पष्ट संकेत दियो– नेकपा विभाजन उन्मुख छ ।

र, नेकपाका अर्का एक नेताका अनुसार प्रचण्डले यसपटकको विवादमा सुरुमै आफूले यो अन्तिम लडाइँ गर्न लागेको बताएका थिए । यो पार्टीभित्रको लडाइँमा उनले पराजय भोगेको जहिले अनुभव गर्नेछन्, त्यति बेला उनीसँग विकल्प हुनेछ– पार्टी विभाजन गर्ने । पार्टी विभाजनको मोडमा पुग्दा अहिलेको नेकपा समीकरण के होला, त्यो चासोको विषय त हुने नै छ ।

  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ७:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया