नेकपा विवादः ओली–प्रचण्ड संवाद नै अनिश्चित

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादको झन् चर्किँदै गएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै जना आआफ्नो अडानमा अडिग भएपछि यो विवाद तत्काल समाधान हुने पनि देखिँदैन । नेकपाका दुवै अध्यक्ष अहिले आफ्नो अडानबाट पछाडि नहट्ने र सकेसम्म धेरै नेकपा स्थायी कमिटी सदस्यहरुलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीले त आफू निकट नेताहरुसँग बालुवाटारमा वार्तालाई विशेष प्राथमिकता दिइरहेका छन् । उनले यसअघि नेकपा नेता सुवास नेम्वाङलाई आफ्नो सन्देश लिएर प्रचण्डकहाँ पठाएका थिए । स्रोतका अनुसार उनको सन्देश थियो, ‘छलफल गरौँ, अहिलेलाई राजीनामा भन्ने विषयमा विवाद नगरौँ ।’

तर, प्रचण्डले त्यो छलफलमा नेम्वाङमा कुनै जवाफ दिएनन् । उनले आफ्नो पुरानै अडानलाई दोहोर्याए ।

प्रचण्डको यो अडान हो– ओलीले तत्काल अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनू ।

तर, महाधिवेशन छिटो गर्न तयार भएका प्रधानमन्त्री ओली आफ्नो अडानबाट पछाडि हट्ने देखिँदैनन् । उनीनिकट नेताहरुले पनि उनलाई अहिले राजीनामाको माग नै गलत भएको बिफ्रिङ गरिरहेका छन् । ‘पाँच वर्षका लागि निर्वाचित भनेपछि पाँच वर्ष उहाँले काम गर्न पाउनु पर्छ,’ ओलीनिकट एक नेताले भने, ‘त्यसैले उहाँले अहिले राजीनामा दिने भन्ने कुरा नै हुँदैन ।’

ती नेताले अध्यक्ष पदबाट ओली हट्नकै लागि महाधिवेशनको प्रस्ताव गरिएको पनि बताए । ‘अर्ली महाधिवेशन गरौँ भन्ने कुरामा उहाँ सहमत भइसक्नु भएको छ,’ उनले भने, ‘चैतको महाधिवेशन असोजमा गर्दा केही फरक पर्दैन, महाधिवेशनबाट उहाँ अध्यक्ष पद छोड्न तयार हुनुहुन्छ ।’



सुरुमा प्रधानमन्त्री ओलीबाट यो प्रस्ताव आएपछि यसमा सकारात्मक भएका प्रचण्ड चाहिँ अब यो ओलीको अर्को दाउ भएको भन्ने निष्कर्षमा पुगेका छन् । ‘यसअघि बारम्बार ओलीबाट गरिएका सम्झौता र सहमतिमा पनि धोका हुँदै आएको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘त्यसैले यसपटक पनि उनीबाट धोका नहोला भन्न सकिँदैन । फेरि अहिले देखिएको विवाद सत्ताका लागि वा पदका लागि होइन, पार्टीलाई थप संस्थागत गरेर अगाडि लैजानका लागि हो ।’

ओली र प्रचण्ड समूहले बारम्बार यसलाई प्राथमिकतामा राख्दै आएका छन् । तर, दुवै नेताबीच तत्काल संवादको वातावरण भने बन्न सकिरहेको छैन । 



केही दिनअघि ओली–प्रचण्ड भेट्ने तय भएको थियो । तर, अचानक यो भेट पनि स्थगित भयो । त्यसपछि यी दुई नेताबीच अब कहिले भेट हुन्छ भन्ने नै तय भएको छैन । बरु यो भेट स्थगित भएको दिनमा प्रचण्डले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको पत्रकार सम्मेलन गरे । 

त्यो पत्रकार सम्मेलनबाट उनले स्पष्ट सन्देश दिएका छन्– अहिले आफ्नो समूह वा पक्ष लचिलो बनेर आफ्ना मागहरुबाट पछाडि हट्ने छैन । 

यो पत्रकार सम्मेलनपछि पार्टीमा यी दुई अध्यक्षबीच थप तिक्तता बढेको विश्लेषण हुन थालेको छ ।

  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १७:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया