नेकपाका ६१ सांसदहरूले भने- ‘पार्टी फुट्न दिँदैनौं, शक्ति हामीसँग पनि छ’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवादका सन्दर्भमा नेकपाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पार्टी फुट्न नदिने भन्दै हस्ताक्षर अभियान चलाएका छन् । खासगरी नेकपाका शीर्ष नेताहरूमा जारी विवादका कारण पार्टी एकता संकटमा परेको भन्दै सांसदहरूले पार्टी एकताको रक्षार्थ भन्दै हस्ताक्षर संकलन गरेका हुन् । 

सांसदहरूले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो अभियानका बारेमा जानकारी दिएका छन् । जसमा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । यो संख्या अझै बढ्ने उनीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

उनीहरूले पार्टीभित्र जारी आन्तरिक विवादका सन्दर्भमा कुनै एक नेता वा समूहको पक्ष वा विपक्षमा नबोल्ने प्रतिबद्धता जनाउँदै पार्टी एकताको एउटा मात्र एजेन्डा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले कुनै पनि गुटको पक्षमा लागेर पार्टी विभाजनको दिशातर्फ धकेल्ने कार्यमा बल नदिने समेत प्रतिबद्धता जनाएका छन् । 

हस्ताक्षर गर्ने सांसदहरूमा अञ्जना विशंखे, अमनलाल मोदी, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोख्रेल, कृष्णलाल महर्जन, केदार सिग्देल, गंगाबहादुर तामाङ, गणेशकुमार पहाडी, गणेश सिंह ठगुन्ना, गोपीबहादुर अछामी, गोमा देवकोटा, गौरीशंकर चौधरी, घनश्याम खतिवडा, चाँद तारा कुमारी, जयकुमार राई, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, दीपकप्रकाश भट्ट, धर्मशीला चापागाई, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी रहेका छन् ।

यसैगरी नवराल सिलवाल, नारदमुनी राना, नारायणप्रसाद खतिवडा, पदम गिरी, पार्वतीकुमारी विशंखे, पुष्पाकुमारी कर्ण कायस्थ, प्रमे आले, विजय सुब्बा, भवानी खापुङ्ग, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, मेटमणि चौधरी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रविन्द्रराज शर्मा, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामकुमारी झांक्री, रामचन्द्र राई, लक्ष्मीकुमारी चौधरी, लालप्रसाद साँवा लिम्बू, विना पोख्रेल, विशाल भट्टराई, शान्तिमाया पाख्रिन, श्यामकुमार श्रेष्ठ, समिना हुसेन, सरिता न्यौपाने, सुदन किराती, सुरेशकुमार राई र हेमकुमार राईले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । 

नेकपाभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भनेर दुवै कित्तामा देखिएका सांसदहरूले उक्त अभियान थालेका हुन् । 



पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरबाट निर्वाचित सांसद कृष्णप्रसाद दाहालले पार्टी फुटाउन नदिने र सांसदहरूसँग पनि शक्ति छ भनेर शक्ति प्रदर्शन गर्नका निम्ति अभियानको थालनी गरिएको बताए ।

नेताहरूले यो वा त्यो नाममा पार्टी फुटाउन खोजेमा उक्त कार्यमा कुनै पनि गुट वा समूहका नाममा समर्थन नगर्ने अर्थ समितिका सभापति समेत रहेका सांससद दाहालले बताए । ‘हामी कित्ता कित्तामै विभक्त थियौं । हामी कित्तामै विभक्त भएका कारण नेताहरूले हाम्रो टाउका गने’, सांसद दाहालले भने, ‘नेताहरूले पार्टी फुटाउन थालेमा के गर्ने भन्ने सन्दर्भमा पार्टी फुटाउन दिँदैनौँ हामीसँग पनि शक्ति छ भनेर देखाउन यो अभियान थालेका हौं ।’



नेताहरूले अब यो वा त्यो भनेर गन्ती गर्ने कार्य बन्द गर्न समेत उनले आग्रह गरे । उनले भने, ‘तपाईंहरू यो वा त्यो भनेर हामीलाई गन्ती नगर्नुस् । हामी पार्टी एकताको कित्तामा पुगेका छौं ।’ कसैले पार्टी विभाजनको सपना देखेको छ भने त्यो पूरा हुन नदिने र एकताबाट पछाडि हट्न नदिने उनको भनाइ थियो । 

त्यस अवसरमा बोल्दै नेकपा सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गरेर सानो हिस्सा चलाउने सोच नराख्न नेताहरूलाई आग्रह गरिन् । पार्टी विभाजन गर्न चाहनेलाई २०५६ सालको स्थिति आँकलन गर्न आग्रह गर्दै उनले पार्टी विभाजन गरेर बोर्ड सहितको पार्टी बन्न सके पनि त्यसले मूलरूपमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसक्ने टिप्पणी गरिन् ।

‘यो अलमल के को अलमल हो ? विचारधाराको कि पदको ? तपाईंहरूले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? सुदृढ पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ कि खरानी पार्टी बुझाउँदै हुनुहुन्छ ?’, शीर्ष नेताहरूलाई सांसद झाँक्रीले प्रश्न गरिन् ।

यसैगरी खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले शीर्ष नेताहरूको सत्ताको झगडा सुहाउँदो नभएको टिप्पणी गरे । ‘यो कुनै वैचारिक, दार्शनिक लडाइ होइन । स्पष्ट रूपमा पदको लडाइ होे’, सांसद भट्टराईले भने, ‘यसले हामीले प्राप्त गरेको जनमत घट्ने मात्र होइन हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धि माथि प्रश्नचिन्ह उठ्नसक्छ ।’

आफ्ना आकांक्षाहरू थाती राखेर राष्ट्रको हित, मुलुकको स्थायित्व, समृद्धिको दिशामा अगाडि बढ्न उनले नेताहरूलाई आग्रह गरे । 

यसैगरी सिन्धुलीबाट निर्वाचित सांसद गणेशकुमार पहाडीले शीर्ष नेताहरूले नै यो समस्याको समाधान गर्नुपर्ने बताए । यो वा त्यो कित्ता नभनीकन पार्टीभित्र देखिएको विवाद नेताहरूले नै मिलाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘यो समस्याको समाधान नेताहरूबाट नै गर्नुपर्छ । अहिले हामीले समाधानको कुनै विकल्प दिएका छैनौं । हामीले तपाई (नेता) हरूबीचमा नै सहमति गरेर अगाडि बढ्नुस् । यति गर्दा पनि समस्या भइरह्यो भने, दोस्रो चरणमा समाधानसहित हस्तक्षेपकारी भूमिका खेल्छौं ।’

कैलालीबाट निर्वाचित सांसद नादरमुनि रानाले पार्टी एकता गर्दा नेताहरूले बनाएको विधिअनुसार नै अगाडि बढ्न आग्रह गरे । कुण्ठा, रिस, डाहले पार्टी अगाडि बढ्न नसक्ने भन्दै सांसद रानाले नेताहरू भ्रममा नबस्न समेत आग्रह गरे । ‘हिजो पार्टी एकता गर्दा हामीले गदगद भएर ताली बजायौँ । पार्टी एकता गर्दा तपाईंहरूले बनाएको विधि के हुन् ? त्यो विधि थिएन ? के हो कहाँ छ विधि ? सहमति भनेका के हुन् ?’, उनले शीर्ष नेताहरूलाई प्रश्न गरे । 

यस्तै सांसद अञ्जना बिसङ्खेले अरू कुरामा छलफल गर्न सकिने । तर पार्टी फुट्ने कुरामा सम्झौता गर्न नसकिने बताइन् । उनले भनिन्, ‘फुटको दिशामा अगाडि पार्टी बढ्ने सन्दर्भमा कसैलाई पनि समर्थन गर्न सकिँदैन । पार्टी एकताको तलसम्म पुग्न नपाउँदै अहिले शीर्ष नेताहरूमो गतिविधि जसरी अगाडि बढेको छ । त्यो ठिक दिशामा छैन ।’

ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले नेकपा सुदृढ एकताका साथ अगाडि बढ्छ भन्ने सन्देश दिन सांसदहरूले अभियान थालेको बताए । उनले सुदृढ एकताबाट मात्र जनताका आकांक्षा पूरा गर्न सक्ने भन्दै ९५ प्रतिशत नेकपाका कार्यकर्ता पार्टीको सुदृढ एकताको पक्षमा रहेको दाबी समेत गरे । ‘पार्टी एकता भंग भयो भने, हामीले बनाएको संविधान, व्यवस्था नै अलपत्र हुन्छ । जनताको आकाङ्क्षामा तुषारापात हुन्छ’, सांसद सुनुवारले भने । 

यसैगरी दैलेखबाट निर्वाचित सांसद राजबहादुर बुढाले विभाजनको नेतृत्व गर्ने कुनै पनि नेतालाई समर्थन नगरिने भन्दै अहिलेसम्म नेताहरूले गरेको योगदान समेत नामेट हुने बताए । उनले पार्टी एकताका खातिर आवश्यक परेमा आफ्नो सांसद तथा पार्टीको केन्द्रीय सदस्यको पद समेत त्याग्न तयार रहेको बताए । 

काठमाडौंबाट निर्वाचित सांसद जीवनराम श्रेष्ठले देश र जनताप्रतिको जिम्मेवारी भुलेर नेताहरू दिग्भ्रमित हुन नहुने बताए । जनताले दिएको विश्वासलाई विश्वासघात गर्ने काम कुनै पनि हालतमा क्षम्य नहुने समेत उनले बताए । 

यस्तो छ ६१ सांसदहरूको प्रतिबद्धता

१. यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेको विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहहरूसँगै विभक्त भए तापनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा हामी प्रतिबद्ध छौं । 

२. पार्टीमा हुने र देखिने सबै प्रकार र रूपका अन्तर्विरोधहरूलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरू खोज्न हामी प्रतिबद्ध छौं । 

३. पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंशात्मक प्रकृतिका अन्तर्विरोधहरूलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं । र, त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापहरूलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं ।

  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १७:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया