दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको साहसको विश्वभर चर्चा हुने गर्छ ।
मन्डेलाको अत्मकथा ‘लङ वाक टु फ्रिडम’मा अमेरिकी टाइम म्यागजिनका सम्पादक रिचर्ड स्टेंगलले एउटा किस्सा बयान गरेका छन्, जसले मन्डेलाको कति साहसी थिए भन्ने देखाउँछ ।
रिचर्ड बयान गर्छन् –
एकपटक म र मदिबा (दक्षिण अफ्रिकाका जनता मन्डेलालाई ‘मदिबा’ भन्छन् । स्थानीय भाषामा मदिबाको अर्थ ‘पिता’ हुन्छ) नताल गइरहेका थियौँ । जहाजमा मदिबा पत्रिका पढ्न थाले । पत्रिका पढ्नमा उनको ज्यादै लगाब थियो । स–सानो खबरसमेत नछुटाई पढ्थे उनी ।
हामी ६ सिटे जहाजमा यात्रा गर्दै थियौँ । जहाज उँडिरहेको थियो । त्यतिखेर उनले देखे कि जहाजको पंखामा जोडिएको प्रोपेलरले काम गरिरहेको छैन ।
मदिबाले मलाई यो सूचना पाइलटलाई दिन भने । यसो भन्दै गर्दा उनको आवाज सधैँझैँ संयमित थियो । म ज्यादै डराएको थिएँ । प्रोपेलर बन्द हुनुको मतलब थियो कि जहाज क्र्यास हुन सक्छ । म उठेँ र पाइलटलाई सूचना दिन दौडिएँ । फर्किंदा त मदिबा पत्रिका पढ्नमै तल्लीन थिए ।
उनले मलाई ‘पाइलटलाई सूचित गरेको हो ?’ भनी सोधे । मैले पाइलटलाई सूचना दिएको र उनी आपत्कालीन ल्यान्डिङका लागि नजिकको एयरपोर्टसँग सम्पर्क गर्ने कोसिसमा रहेको जवाफ दिएँ । मदिबा फेरि पत्रिका पढ्न थाले ।
मेरो अनुहारमा मृत्युको भय स्पष्ट पढ्न सकिन्थ्यो । त्यहीँ मदिबा भने आरामले पत्रिका पढिरहेका थिए, मानौँ केही भएकै छैन ।
भाग्यवश जहाज सकुशल अवतरण भयो । जहाजबाट ओर्लिएपछि मैले हिम्मत गरेर उनलाई सोधेँ, ‘के तपाईंलाई अलिकति पनि डर लागेन ?’
उनको जवाफ थियो, ‘डर ? म त भित्रभित्रै कामिरहेको थिएँ, रिचर्ड । तर, यदि मैले आफ्नो डर देखाउँथेँ त तिमी, पाइलट र अन्य साथी आत्तिन्नथ्यौ ?’
रिचर्ड अगाडि भन्छन्, ‘त्यतिखेर मलाई थाहा भयो कि साहस के हो । आफ्नो डरलाई अनुहारमा उत्रन नदिनु नै साहस हो । डरमाथि विजय पाउनु नै साहस हो । यदि मानिस तपाईंलाई आदर्श मान्छन् भने तपाईंको आचरण पनि हेरिरहेका हुन्छन् । मदिबा यो कुरा हमेसा याद राख्थे ।’
हुन पनि मन्डेलाले आफ्नो जीवनमा यति धेरै संघर्ष गरेका छन्, यति कठिन परिस्थितिहरुको सामना गरेर विजय पाएका छन्, सामान्य साहस र इच्छाशक्तिले त्यो सम्भव नै छैन ।
उनी भन्छन्, ‘मैले यो जानेको छु कि डर नहुनु साहस होइन, डरमाथि विजय पाउनुचाहिँ साहस हो । बहादुर ऊ होइन जो भयभीत हुँदैन, बहादुर त ऊ हो जो भयलाई परास्त गर्न सक्छ ।’
जबसम्म काम सम्पन्न हुँदैन, तबसम्म त्यो असम्भव लाग्ने उनको भनाइ छ । मन्डेला भन्छन्, ‘कहिल्यै नलड्नुमा होइन, हरेकपटक लडेर उठ्नुमा चाहिँ गर्व गर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।