कोरोनाको त्रास तथा अत्यधिक मूल्य वृद्धिले बिक्री हुन नसकेको सुनको बिक्री पछिल्लो केही दिनदेखि बढेको छ । बजारमा खरिद विक्री नभएसँगै लामो समय बैंकमा मौज्दात रहेको सुन व्यवसायीले खरिद गर्न थालेका छन् ।
लकडाउन खुले पनि हप्तामा १÷२ किलो मात्रै सुन बिक्री भइरहेकोमा पछिल्ला केही दिन भने सुन खरिद गर्ने व्यवसायी बढेको बैंकर्स संघको भनाइ छ । संघका अनुसार पछिल्लो दुई सातामा बैँकहरूबाट ४० किलो सुन बिक्री भएको छ ।
नेपाली बजारमा सुन खपत नभएपछि बैंकहरूले गत फागुन यता सुन आयात गरेका छैनन् । विगतका वर्षहरूको तुलनामा गत वर्ष निकै कम सुन आयात भएको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्लो समय सुनको माग खासै नभए पनि अत्यावश्यक पर्ने केही ग्राहक बजारमा देखिएको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । अहिले बजारमा सुन किन्ने भन्दा बेच्ने ग्राहक बढी आएकाले व्यवसायीले फिर्ता आएको सुन नै बिक्री गर्न सकेका छैनन् ।
महिलाको महान चाड तीज नजिकिँदै गरेको अवस्थालाई हेरेर पनि केही व्यवसायीले बैंकबाट सुन खरिद गरेकाले पनि बैंकको विक्री देखिएको महासंघको भनाइ छ । गत वर्षहरूमा तीज, दशैं तथा तिहारजस्ता चाडपर्वमा ठूलो परिमाणको सुन खपत हुने गथ्र्यो । यो समयमा अरु बेला भन्दा सुनको बिक्री दोब्बर बढ्ने र बैंकको मौज्दातले नभ्याउने अवस्था आउने गरेको व्यवसायीको भनाइ छ । तर, यो वर्ष सुनको भाउ लगातार बढेर उच्च विन्दुमा पुगेकाले सुन बिक्री नहुने हो कि भन्ने चिन्तामा व्यवसायी छन् ।
अवस्था सामान्य रहेको र मूल्य धेरै नबढेको भए यो समयमा दैनिक ३० देखि ३५ किलो सुन आवश्यक पर्ने व्यवसायीको भनाइ छ । तर, कोरोनाका असर र मूल्य बढेका कारण अहिले साताकै २÷३ किलो मात्र काँचो सुन खपत भएको छ । लगन तथा चाडपर्व नभएको बेलामा पनि दैनिक १० देखि १५ किलो सुन खपत हुने गरेकोमा अहिले सुन कारोबार निकै कम रहेको व्यवसायी बताउँछन् ।
अन्तराष्ट्रिय बजारमा जस्तै नेपाली बजारमा पनि अहिले सुनको माग केही बढेको छ । ठूला व्यवसायीले अहिले सुनको खरिद बढाएका छन् । सुनको भाउ अझै बढ्ने आँकलन भइरहँदा ग्राहकहरूले पनि पछि गहना बनाएर लगाउनका लागि काँचो सुन नै खरिद गरेर राख्ने प्रवृत्तिले गर्दा नयाँ सुन खरिद केहि बढेको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।