ओलीका तीन विकल्प
प्रधानमन्त्री केपी शर्मा ओली ।

पछिल्ला केही महिना देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अहिले तत्काल समाधान हुने देखिँदैन । पछिल्लो समय नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद हुन पनि छोडेको देखिन्छ । यी दुई अध्यक्षबीच भएको मनमुटावका कारण यो समस्या थप बढ्दै गएको आभास अहिले नेकपाकै कतिपय नेताहरुले गर्न थालेका छन् ।

फेरि पछिल्ला केही दिनमा नेकपा अध्यक्ष ओली र प्रचण्डबीचका सन्देशहरु आदानप्रदान पनि भइरहेका छन् ।

तर, दुवै पक्षबाट यी सन्देशहरुमा सकारात्मक जवाफ गइरहेको छैन । केही दिनअघि मात्र नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग वार्ता गरौँ भन्ने प्रस्तावसहित शंकर पोखरेल र विष्णु पौडेललाई प्रचण्ड निवास पठाएका थिए । यो भेटमा प्रचण्डले दिएको जवाफ थियो– निकासको वातावरण पहिले बालुवाटारबाट नै आउनुपर्छ ।

यसको अर्थ हो, अब प्रचण्डले नेकपाको विवाद अन्त्य गर्नका लागि बल प्रधानमन्त्री ओलीको कोर्टमा छोडिदिएका छन् ।

त्यसैले अब ओलीका विकल्प के हुन् त भन्नेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

प्रचण्ड तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको तर्कलाई मान्ने हो भने नेकपामा पछिल्लो विवादको जड नै प्रधानमन्त्री केपी शर्मा ओली हुन् । आफूनिकटका पत्रकारहरुलाई बोलाएर यी दुई नेताले झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई पनि ओलीविरुद्धको मोर्चामा उभ्याउँदै केही दिन अघि अहिलेको निकास दिन सक्ने एकमात्र पात्र अध्यक्ष ओली भएको बताएका थिए । 



त्यसैले, अब ओलीका तीन विकल्प के हुन् त भन्नेबारे चर्चा गरौँ  ।

 



१. दुवै पदबाट राजीनामा दिने

पछिल्लो समय नेकपा स्थायी कमिटी बैठकमा सबैभन्दा चर्कोरुपमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राखिएको माग हो– उनले दुवै पदमा काम राम्रोसँग सम्पादन गर्न सकेका छैनन् । त्यसैले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ । 

हो, यो माग राखिएलगत्तै प्रधानमन्त्री ओलीले यसलाई सोझै अस्वीकार गरे । उनी पक्षका नेताहरुले पनि अहिले ओलीको राजीनामा माग्नु ठिक समय नभएको र यसले पार्टी र सरकार दुवैलाई राम्रो नगर्ने बताउँदै आएका छन् । 

तर, ओलीइतर पक्ष चाहिँ अहिले पनि ओलीले राजीनामा दिनुपर्छ भन्नेमा अडिग छन् ।

उनीहरु अहिले पनि ओलीले राजीनामा दिनै पर्ने र यसले नै पार्टी र सरकारका काममा भएको ढिलाइलाई निकास दिने मान्छन् । यस्तो भएको खण्डमा मात्र आफूहरु सहज तरिकाले अगाडि बढ्न सक्ने पनि उनीहरुले जनाउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ राजीनामा दिने छनक देखाएका छैनन् ।

तर, यसपटक प्रधानमन्त्री सम्हालेलगत्तै वा त्यसअघि पनि उनले बारम्बार भनेका थिए– यो उनको अन्तिम पटक पदमा बस्ने समय हो । अर्थात्, यो कार्यकालपछि उनी राजनीतिबाट सन्यास लिँदैछन् । ओलीले अब राजनीतिबाट सन्न्यास लिने नै हो भने अहिले विवाद निस्किएको समयमा उनले राजीनामा दिँदा उनको बनिसकेको राजनीतिक हाइटलाई भलो नै गर्छ । 

‘फेरि त्यो राजीनामाले पार्टी पनि बलियो हुन्छ,’ नेकपामा ओलीले राजीनामा दिनैपर्छ भन्ने माग राखिरहेका एक स्थायी कमिटी सदस्यले फरकधारसँग भने, ‘दुवै पदबाट राजीनामा दिएर पार्टी र देशलाई अभिभावकत्व प्रदान गर्ने मनाशय उहाँले राख्नु भयो भने त्यसले सबैलाई फाइदा पुग्छ ।’

 

२. एक पदबाट राजीनामा दिने, आत्मलोचना गर्ने

यसअघि नेकपामा विवाद देखिएको थियो, वैशाखमा । त्यति बेला पनि उनीइतर समूहले नेकपामा माग गरेका थिए, प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा पनि एक पदबाट राजीनामा दिनु पर्ने हुन्छ । पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पदबाट उनले राजीनामा दिनै पर्ने माग सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपछि टुङ्गिएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्यति बेला अन्तिम समयमा साथ दिएका नेकपा उपाध्यक्ष वामदेव गौतमले । यसपटक पनि गौतमले अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीलाई साथ दिएको छनक दिएका छन् । उनले केही दिनअघि ६ बुँदे एक प्रस्ताव निकालेका थिए । त्यसमा आफूले त्यो दिनभन्दा अगाडि राखेका मागहरुलाई पनि बेवास्ता गर्दै गौतमले ओलीलाई नै पूर्ण कार्यकाल प्रधानमन्त्री तथा अध्यक्ष हुन दिनुपर्ने माग राखेका थिए । उनका ती ६ बुँदाले संकेत गरेको छ, प्रधानमन्त्री ओलीलाई अब उनले साथ दिएका छन् । 

यस्तो हुँदा प्रचण्ड र नेपाल पक्ष अलिक असहज परिस्थितिमा पुगेको छ । त्यसैले, अहिलेको विवादलाई मत्थर गर्न प्रधानमन्त्री ओलीले एक पदबाट मात्र राजीनामा दिँदा पनि प्रचण्ड–नेपाल पक्ष सहमत हुन सक्ने देखिन्छ । प्रधानमन्त्री वा अध्यक्ष पदबाट उनले राजीनामा दिँदा उनी सहज परिस्थितिमा पुग्नेछन् । त्यसैले, ओलीसँग यो विकल्प पनि रहेको छ । 

 

३. नेकपा विभाजन गर्ने, नयाँ पार्टी गठन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका नेताहरुले आरोप लगाएका छन्, उनी नेकपा फुटाउन खोज्दैछन् । यो आरोप लागेको यो पहिलो पटक होइन । यसअघि वैशाखमा जब ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए, त्यति बेला पनि उनीमाथि यो आरोप लागेको थियो । त्यति बेला सबै नेताहरुले एक स्वरमा ओलीको विरोध गरेपछि यो अध्यादेश खारेज पनि गरियो ।

अब यसपटक पनि नेकपा उपाध्यक्ष वामदेव गौतमले नै पनि ओलीमाथि आरोप लगाए– उनकै जोडबलमा निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले दर्ता गरिएको हो । उनीमाथि यो आरोप लगाउनु स्वभाविक पनि थियो किनकि उनीसँग निकट केही युवाहरु नै मिलेर यो दल निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

त्यसैले यसलाई पनि ओलीको एक विकल्प मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अडान लिइरहँदा र पार्टी फुट्न सक्ने चेतावनी पनि दिइरहँदा उनले पार्टी विभाजनका लागि तयारी पनि गरेका छन् भन्ने बुझ्न सकिन्छ । अनि अहिलेको विवादलाई समाधान गर्न उनले यो विकल्पलाई पनि प्रयोग गर्न सक्छन् ।

  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १५:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया