सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने भनिएकोमा अब भने होटल तथा रेष्टुरेन्ट खुल्ला गरेर बसेर खान नपाइने निर्णय गरेको हो । तर, प्याक गरेर (टेक अवे) सेवा भने दिन पाइने निर्णय गरेको बताइएको छ ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाउने तर टेक अवे सेवा मार्फत मात्रै सेवा दिन पाइने बताए ।
होटल रेष्टुरेन्टमा स्वास्थ्य सुरक्षाका उपाय नअपनाई परिचालित भएको तथा होटलमा भिडभाड गर्ने, मास्क नलगाउने र स्वास्थ्यको जोखिम बढाउने प्रवृत्ति भएकाले सरकारले उक्त निर्णय गरेको उनको भनाइ छ ।
त्यसैगरी भदौ १ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड हुने गरी छोटो, मध्यम र लामो दूरीका तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात सवारी साधन चल्ने दिने भनिएकोमा त्यसलाई संशोधन गरी भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री खतिवडाले बताए । त्यसैगरी भदौ १ गतेदेखि शैक्षिक संस्था, सैलुन, स्वीमिङ, सभा सम्मेलन, पुस्तकालय खोल्ने भनिएकोमा अब भदौ १६ गतेपछि मात्रै खोल्ने निर्णय सरकारले गरेको छ ।
त्यस्तै, बैंक, सहकारी, लघु वित्तीय, संस्था तथा जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने, ५० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाहको व्यवस्था मिलाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय बैठकले गरेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।