गोंगबु प्रकरणः विभत्स हत्या र त्यसपछिका घटनाको नालीबेली

आइतबार विहान नेपाली मिडियामा आएको एक समाचारमा सबैको ध्यान गयो । यो घटना थियो, गोंगबुको । र, समाचारमा भनिएको थियो– गोंगबुको नवज्योति मार्गमा एउटा सुटकेस फालिएको छ । सुटकेसमा प्रहरीले टाउको र खुट्टा नभएको शव फेला पारेको थियो ।

प्रहरीले अनुसन्धान सुरु गरिहाल्यो । त्यसका लागि प्रहरीलाई सहयोगी बन्यो, प्रहरीकै कुकुर जोजो । 

जोजोले झन्डै ३ सय मिटर पर टाउको र खुट्टा मात्र भेट्ट्यायो । यसको अर्थ हो, त्यो शवको टाउको र खुट्टा ३ सय मिटर पर फालिएको रहेछ ।

अब प्रहरीले सुरु ग¥यो, मृतकको पहिचान गर्न । तर, प्रहरीले सहजै फेला पार्न सकेन, ती पुरुष को थिए भन्ने । 

अनि प्रहरीले ती व्यक्तिको टाउको मात्र सार्वजनिक गर्यो । निरन्तर हतियार चलाएको मानिसको संलग्नतामा ती व्यक्तिको शव काटिएको अनुमान त यसअघि नै प्रहरीले गरिसकेको थियो ।

मृतकको पहिचान मात्र के भएको थियो, सोमबार नै प्रहरीले यो हत्यामा संलग्न आशंकामा चितवनबाट एक महिलालाई पक्राउ ग¥यो । मंगलबारसम्म महिलाले आफूले ती व्यक्तिको हत्या गरेको स्वीकार पनि गरिसकेकी छिन् । र, पक्राउ पर्ने महिला हुन्– कल्पना मुडवरी पौडेल ।



यी महिला पक्राउ भएसँगै प्रहरीले थप नयाँ कुरा पनि थाहा पाएको छ । त्यो हो– यो विभत्स हत्यामा ती महिलाको मात्र संलग्नता रहेछ ।

यसअघि रोल्पाका कृष्णबहादुर बोहोराको हत्यामा ती महिलासहित अरु पनि संलग्न छन् कि भन्ने आशंका प्रहरीले गरेको थियो । तर, महिलाले प्रहरीलाई जे बयान दिएकी छिन्, त्यसले प्रष्ट पारेको छ– यसमा अरु कोही संलग्न रहेनछन् ।



हुन त प्रहरीले उनकी छोरीलाई पनि पक्राउ गरेको छ । तर, उनी १५ वर्षभन्दा कम उमेरकी भएकाले सार्वजनिक गरिएको छैन । 

अब प्रहरीले लिएको बयानअनुसार कल्पनाले आफूले मात्र बोहोराको हत्या गरेको स्वीकार गरेकी छिन् । 

पख्नुस्, यो घटना अझ रहस्यमयी किन छ भने बोहोराको हत्यामा संलग्न भएकी महिलाले यो हत्या योजना पहिले नै बनाएको हुनसक्ने आधारहरु प्रहरीले पाएको छ ।

किनकि बोहोरा महिलाको कोठामा पुगेका थिए । त्यहाँ उनीहरुको खानपिन चलेको थियो । बोहोरा खासमा काठमाडौंको मित्रनगरमा रहेको नर्सिङधाम गेस्ट हाउसमा बस्ने गरेका रहेछन् । 

शनिबार मात्र उनी ती महिलाको कोठामा पुगेका रहेछन् । अनि उनले होटल सन्चालकलाई भनेका रहेछन्– म केही दिन नआउन पनि सक्छु है । यतिमात्र होइन, उनले आफ्नो मोबाइल स्विच अफ हुनसक्ने पनि बताएका रहेछन् । 

प्रहरीले त्यही होटलको कोठाबाट बोहोराको नागरिकताहरु फेला पारेको छ । 

अनि सिसिटिभीमा हेर्दा प्रहरीले फेला पारेको छ, बोहोर शनिबार साँझ पाँच बजेतिर कल्पनाको कोठामा पुगेका छन् । 

प्रहरीका अनुसार उनलाई खानपिनका लागि कल्पनाले आफ्नै कोठामा बोलाएकी रहिछिन् । कल्पनाले बोलाएपछि यसअघि पनि सम्बन्ध भएका कारण बोहोर उनको घरमा पुगेका थिए । 

मासुसहित दहीच्यूरा, भोड्का रक्सी र अरु कुराहरु खाएका थिए, पौडेल र बोहोराले । यसरी बोहोरा आफ्नोमा आउँदा कल्पनाले छोराछोरीलाई चाहिँ अर्को कोठामा टिभी हेर्न लगाएकी रहिछिन् ।

अब यो घटनाको रहस्य सुरु हुन्छ, यहीँनेर । 

कल्पनाले खासमा बोहोराको रक्सीमा यसअघि नै पाँच वटा स्लिपिङ ट्याबलेट मिसाएकी रहिछिन् । प्रहरीका अनुसार कल्पना डिप्रेसनको बिरामी भएकाले आफूले खानका लागि उनले औषधी पहिले देखि नै कोठामा रहेछ ।

त्यही औषधी उनले बोहोराको दहीमा मिसाएकी रहिछिन् ।

स्लिपिङ ट्याबलेट खाएपछि बोहोर बेहोस भए । यही मौकामा कल्पनाले उनको घाँटीमा सल बाँधेर उनको हत्या गरिछिन् । उनको मृत्यु भएपछि उनलाई आफ्नै शौचालयमा उनले पुर्याइछन् र त्यहा बोहोराको शरीर काटकुट पारिछिन् ।

रातको ११ बजेको थियो । कल्पनाले प्रहरीलाई दिएको बयानअनुसार उनले त्यसपछि बोहोराको टाउको र खुट्टाविनाको शव सुटकेसमा राखेर घरबाट ५० मिटर टाढा सडकको किनारमा फालिन् । 

अनि बोहोराको खुट्टा र टाउको उनले जेब्रा झोलामा राखेर अलिक पर पुर्याएर फालेकी रहिछिन् ।

त्यसपछि उनीहरु १ बजेतिर सुतेको कल्पनाले प्रहरीलाई जानकारी दिएकी छिन् । 

आइतबार विहान प्रहरीले शव फेला पार्यो । त्यसपछि अनुसन्धान सुरु गर्यो । तर, कल्पना त्यो दिनभर कोठामा नै बसिन् । हो, उनले आफू बसेको घरबाट बाहिर प्रहरीको गतिविधि चाहिँ हेर्न छोडेकी थिइनन् । आइतबार साँझसम्म प्रहरीको जोजो कुकुर उनको घरमा आएन । 

सोमबार विहान यसअघि नै बनाएको सेटिङअनुसार उनी चितवन पुगिन्, एम्बुलेन्समा ।

एउटा विभत्स हत्याका लागि के कुराले प्रेरित गर्यो त कल्पनालाई ? 

उनले प्रहरीलाई बताएअनुसार उनको र बोहोराको अवैध सम्बन्ध थियो । र, पछिल्लो समय उनीहरुको सम्बन्धमा खटपट सुरु भएको थियो । कल्पनाका श्रीमान विदेशमा भएको र उनीसँग कल्पनाको पछिल्लो समय सम्बन्ध राम्रो नभएको पनि बताइन्छ । 

बोहोरासँग चाहिँ कल्पनाको दुई तीन वर्षअघि देखिकै चिनजान थियो । पहिले यो चिनजान सामाजिक सन्जालमा मात्र थियो भने पछिल्लो समय यी दुईबीच चिनजान बाक्लिँदै गएको थियो । अनि सुरु भएको थियो सम्बन्ध पनि । 

तर, पछिल्लो समय बोहोराले कल्पनालाई बढी ‘टर्चर’ दिन थालेका थिए । अन्तरंग तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरिदिन्छु भन्ने धम्की पनि दिन थालेका थिए । यही कारणले आजित भएर आफूले बोहोराको हत्या गरेको कल्पनाले प्रहरीलाई बताएकी छिन् ।

  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १८:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया