काठमाडौं– वीरगन्जको नारायणी अस्पतालका तीन सय सय ५० भन्दा बढी कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि संक्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीले सामूहिक राजीनामा बुझाएका हुन् ।
राजीनामा गर्नेमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले छन् । उनीहरुले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै राजीनामा बुझाएका हुन् ।
नारायणी अस्पतालले हालसम्म ११ सयभन्दा बढी कोरोना संक्रमितको उपचार गरेको जनाएको छ । उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
गत शनिबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।
युवतीको मृत्युभएपछि छपकैयाका करिब एक सय जति मानिस आएर अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए । सोही तोडफोडको विरोधमा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा गरेका हुन् । अस्पतालमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।