भारतीय मूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति उम्मेदवार
फरकधार / २८ साउन, २०७७

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवार बनाएका छन् । 



यो पदका लागि अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने पहिलो अश्वेत महिला अब ह्यारिस हुने भएकी छिन् । उनी भारतीय र जमाइका मूलका बाबुआमाबाट जन्मिएकी हुन् । 

यसभन्दा अगाडि जम्मा दुई पटक अमेरिकामा उपराष्ट्रपतिका लागि महिलालाई उम्मेदवार बनाइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा प्यालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएका थिए । तर, दुवैले निर्वाचनमा पराजय भोगेका थिए ।

अमेरिकाका दुवै प्रमुख पार्टीले अहिलेसम्म कुनै पनि अश्वेत महिलालाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छैनन् । र, अहिलेसम्म अमेरिकामा महिला राष्ट्रपति भएका पनि छैनन् । 

क्यालिफोर्नियाकी सांसद कमला ह्यारिसले कुनै समय जो वाइडेनलाई नै राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौति दिएकी थिइन् । तर, राष्ट्रपति पदको रेसबाट उनी बाहिरिएपछि उनको नाम सधैं चर्चामा थियो । अब त उनलाई वाइडेनले नै आफ्नो उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् ।

कमला क्यालिफोर्नियाको अर्टोनी जनरल भइसकेकी छिन् । उनी प्रहरीमा ल्याएको सुधारका कारण पनि चर्चित छिन् । 

३ नोभेम्बरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा यसपटक जो वाइडेनले प्रतिस्पर्धा गर्दैछन्, अहिलेको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग । ट्रम्प यसपटक पनि रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । ट्रम्पसँग चाहिँ अहिलेका उपराष्ट्रपति माइक पेन्स नै यो पदका लागि निर्वाचनमा होमिँदै छन् । 
 

वाइडेनले आज ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘यो बताउन पाउँदा गर्व भएको छ कि मैले कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवारका लागि चुनेको छु ।’ उनले कमलाको प्रशंसामा शब्दहरु पनि खर्चिएका छन् । 

कमलाले पनि आफूलाई छानेकोमा वाइडेनलाई धन्यवाद दिएकी छिन् । 

५५ वर्षकी कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति पदको उम्मेदवारको रेसबाट बाहिर भएकी थिइन् । उनी क्यालिफोर्नियामा नै जन्मिएकी थिइन् । उनकी आमा भारतीय हुन् भने बाबु जमाइकाका हुन् । 

हावर्ड विश्वविद्यालयबाट पढाइ गरेकी कमला सन् २०१७ मा पहिलो पटक अमेरिकी सांसद बनेकी थिइन् ।

  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार ८:४३:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया