सुनको भाउमा एकै दिन ठूलो गिरावट आएको छ । गत साता मात्रै मूल्यमा रेकर्ड कायम गरेको सुनको भाउ मंगलबारको तुलनामा तोलामा ६ हजार २ सय रुपैयाँले झरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला १ लाख १ हजार ६ सय थियो । तर, बुधबार सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा झरेको छ ।
एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघले जनाएको छ । महासंघले तेजाबी सुनको कारोबार बुधबारका लागि प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।
यस्तै चाँदी पनि तोलामा २ सय २५ रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ हजार ४ सय ३५ पुगेर नयाँ रेकर्ड कायम गरेको चाँदी बुधबार १ हजार २ सय १० रुपैयाँमा झरेको छ ।
कोरोना विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।