३ पाकिस्तानी खेलाडीको पदक खोसियो

प्रतिबन्धित पदार्थको सेवनमा दोषी पाइएपछि १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने ३ पाकिस्तानी खेलाडीको पदक खोसिएको छ ।

डोपिङ टेस्टको (प्रतिबन्धित पदार्थ सेवन गरेको हो या होइन भनेर जाँच्ने प्रविधि) रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई ४ वर्षको प्रतिबन्धसहित पदक पनि खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

उनीहरूलाई सन् २०१९ को डिसेम्बर २ देखि २०२३ को डिसेम्बर २ सम्मका लागि प्रतिबन्ध गरिएको छ ।

ट्रयाक एन्ड फिल्डमा १ सय १० मिटर हडल्सका स्वर्ण विजेता मोहम्मद नइन, ४ सय मिटर हडल्सका स्वर्ण विजेता मेहबुब अली र १०० मिटर दौडका कास्य विजेता समी उल्लाहलाई डोपिङमा दोषी पाइएको हो ।

उनीहरूलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमअनुसार दोषी ठहर गर्दै ४ वर्षको प्रतिबन्ध लगाइएको हो ।

उनीहरूको पहिलो डोपिङ टेस्ट रिपोर्ट पनि पोजेटिभ आएको थियो । डोपिङ टेस्ट कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा गरिएको थियो । 



विश्व एन्टी डोपिङको नियमअनुसार उनीहरूलाई दोस्रो पटक पनि परीक्षण गर्न अनुरोध गरिएको थियो तर मोहम्मद नइन र मेहबुब अलीले मात्र दोस्रो पटक टेस्ट गराएका थिए । 

दोस्रो पटक गरिएको परीक्षणमा पनि उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूले त्यसलाई स्विकारेका थिए । समी उल्लाहले भने पहिलो टेस्टमानै डोपिङ स्वीकारिसकेका थिए । 



नेपालमा नै मङ्सिर १५ देखि २४ सम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानले ३२ स्वर्ण कुल १ सय ३२ पदक जित्दै चौथो स्थान हासिल गरेको थियो ।

  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १५:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया