कोरोना त्रासले करिडोरका उद्योग सञ्चालनमा कठिनाइ

कोरोना त्रासले बारा–पर्सा औद्योगिक करिडोरका उद्योग व्यवसायमा गम्भीर असर परेको छ । केही उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा रहेका उद्योग पनि रुग्ण अवस्थामा छन् । पर्सामा साउन १० र बारामा साउन १८ देखि निषेधाज्ञा जारी छ । जसले उद्योग सञ्चालन गर्न समस्या भइरहेको छ ।

करिडोरस्थित बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल साउन ११ देखि बन्द छ । आइतबारदेखि सञ्चालनमा आउने तालिका रहेकोमा सिमरा क्षेत्रमा कोरोना संक्रमण बढेपछि उद्योग व्यवस्थापनले बन्दलाई निरन्तरता दिएको छ । डाबर नेपाल गत शनिबारदेखि बन्द रहेको थियो । उद्योगका केही मजदुरमा भाइरल ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि उद्योग व्यवस्थापनले मंगलबार सम्मका लागि उद्योग बन्द गरेको थियो । बुधबारदेखि मजदुरलाई उद्योग भित्रै राखेर सञ्चालनमा आएको छ । 

जगदम्बा स्टिल उद्योग शनिबारदेखि नै बन्द छ । उद्योगका ११ मजदुर कोरोना संक्रमित भएका छन् । यसअघि जगदम्बा इन्टरप्राइजेज २ सातादेखि बन्द रहेको छ । उक्त उद्योगका सिइओसहित केही मजदुर संक्रमित भएपछि उद्योग बन्द रहेको छ ।

हुलास स्टिल साउन १८ देखि नै बन्छ । परवानीपुरस्थित मारुती औषधि उद्योगका मजदुरमा कोरोना संक्रमण देखिएपछि २ साता अघि यो उद्योग बन्द भइसकेको छ । केही खाद्यान्न तथा प्याकेजिङ उद्योग सञ्चालनमा रहेका छन् । 

जगदम्बाले सुरु गर्यो आफ्नै आइसोलेसन 

उद्योगमा कार्यरत मजदुरमा कोरोना संक्रमण देखिएपछि जगदम्बा स्टिलले आफ्नै आइसोलेसन स्थापना गरेको छ । उसले सिमरास्थित सिमरा प्याराडाइज होटेल नै भाडामा लिई मंगलबारदेखि आइसोलेसन सञ्चालन गरेको हो । उद्योगका सिइओ अनुराग शर्माले यसरी आफ्नो छुट्टै आइसोलेसन सञ्चालन गर्दा त्यो सुरक्षित हुने र कोभिड अस्पतालको चाप पनि कम हुने बताए । १९ कोठाको होटेल आइसोलेसनमा ४० जनासम्म संक्रमित बस्न सक्ने शर्माले बताए ।



शनिबार उद्योग व्यवस्थापनले उद्योग परिसरमा आफ्नै लगानीमा उद्योगका १ सय २३ मजदुर/कर्मचारीको स्वाब संकलन गर्दा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो तथा रुघाखोकी लागेकाहरू तथा उनीहरूको सम्पर्कमा रहेका अन्य मजदुर तथा कर्मचारीको स्वाब संकलन गरिएको थियो ।



  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १६:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया