चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ३० जना स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा विभिन्न अस्पतालका डाक्टर, एक नर्स, एम्बुलेन्स चालक तथा अस्पतालका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएपछि ३० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको हो ।
कोरोना संक्रमण पुष्टि भएकामा क्यान्सर अस्पतालकी एक नर्स छिन् । क्वारेन्टिनमा राखिएकामध्ये ६ जना डाक्टर हुन् । संक्रमित डाक्टरले भरतपुर अस्पताल र मौलाकालिका अस्पतालमा काम गर्दै आएका थिए ।
मंगलबार नै इच्छाकामना गाउँपालिकाका अर्का एक व्यक्ति, नारायणी सामुदायिक अस्पतालका दुई कर्मचारी र एक एम्बुलेन्स चालकमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना देखिएकी नर्सको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य ७ जना नर्सहरूलाई क्वारेन्टिनमा राखिएको छ । नर्सको सम्पर्कमा रहेका ६ जना डाक्टर, नर्स र कर्मचारी गरी बाँकी २३ जनालाई होम क्वारेन्टिनमा बस्न भनिएको छ ।
चितवनमा अहिलेसम्म ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुईजना डाक्टर हुन् ।
चितवनमा अहिलेसम्म १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।