...अनि मैले सुरु गरेँ बुद्ध वाज बर्न इन नेपाल अभियानः धीरज राई

सन् २००६ । मास्र्टसमा अध्ययन हुने ‘द हिष्ट्री अफ नलेज’मा बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखेको रहेछ । म पनि मास्टर्स पढ्दा बल्ल थाहा पाएँ । नेपालमा मास्टर्स लेभलमा यस्तो गल्ती लेखिएको पुस्तक १० वर्षअघि देखि पो पढाइ भइरहेको रहेछ । चाल्र्स बान्डोरको यो पुस्तकमा बुद्ध भारतमा जन्मिएको भनेर गलत लेखेको र त्यसलाई नेपालमा पढाइरहेको देख्दा म सक्ड भएँ ।

त्यही वर्ष परीक्षामा के लेख्ने भन्ने चिन्तामा म पर्न थालेँ । मलाई थाहा थियो, बुद्ध नेपालमा जन्मिएका हुन् । तर, करिकुलममा भएको पुस्तकमा त बुद्ध भारतमा जन्मिएका हुन् पो लेखिएको थियो ! परीक्षामा यो प्रश्न आयो भने मैले बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेख्नै पर्ने हुन्थ्यो, नत्र पास नहुन सकिन्थ्यो ।

किताबमा यस्तो लेखेको देखेपछि मलाई यो कुराले बिझाइरह्यो । साथीहरुसँग सल्लाह गरेँ, हामीले संघर्ष समिति बनायौँ, पुस्तकमा लेखिएको गलत कुरा मेटाउनु पर्छ र त्यसलाई सच्याउनु पर्छ भन्ने भयो । 

जसै हामीले संघर्ष समिति बनायौँ, हामीलाई त शिक्षकहरुले नै पो धम्की र चेतावनी दिन थाल्नु भयो ! हामी रेस्टिकेट लिस्टमा पनि परेका थियौँ । तर, अन्तिममा हामीले नै जित्यौँ; पाठ्यक्रमबाट त्यो पुस्तक हट्ने भयो ।

नेपालको मास्टर्स लेभलमा त हामीले झुटो कुरा लेखिएको पुस्तक हटायौँ, तर अन्य तह वा विदेशमा पनि त्यही झुट पढाइएको छ होला भन्ने मनमा भयो । फेरि चाल्र्स बान्डोरको यो पुस्तक अंग्रेजीमा लेखिएको थियो, अरु देशमा पढाइ हुने सम्भावना पनि त्यस्तै बढी थियो ।

यो समस्या हुने भयो भनेपछि हामी समाधानका लागि लाग्न थाल्यौँ । 



अनि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने जानकारी विश्वभर फैलाउनु पर्छ भन्नका लागि मैले विदेशमा हुने स्टेज कार्यक्रमहरुलाई अस्त्र बनाएँ । अनि म जबजब कार्यक्रमहरुका लागि विदेशमा पुग्थेँ, आफू पुगेको सहरको लाइब्रेरीमा पनि जान्थेँ । त्यहाँ बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएका पुस्तक खोज्न थालेँ र संकलन गर्न थालेँ ।

ठ्याक्कै १२ वर्ष मैले यही काम गरेँ, यसरी नै समय बिताएँ । 



१२ वर्षको प्रयासपछि बल्ल यो झुट फैलाउन कहाँबाट सुरु भएको रहेछ भन्ने थाहा भयो ।

मैले अहिलेसम्म पाएको तथ्यांकअनुसार सन् १८९७ पछि यो झुट फैलिन थालेको रहेछ । त्यति बेला एक जर्मन आर्कियोलोजिस्ट फुररले बुद्धबारे पुस्तक लेखेका रहेछन्, बुद्ध नेपालमा जन्मिएको उनले किताबमा उल्लेख गरेका रहेछन् ।

तर, त्यो किताबलाई अंग्रेजहरु जलाएनन् मात्र, प्रतिबन्ध पनि लगाएछन् । अनि आफ्ना लेखकहरुलाई किताब लेख्न लगाएर बुद्ध भारतमा जन्मिएका हुन् भन्ने प्रचार गर्न सुरु गरेछन् । 

त्यति बेला नेपालमा राणा शासन थियो । भारतमा अंग्रेजहरुले शासन गरेका थिए । अंग्रेजहरुले किताब लेखेर सुरु गरेको यो प्रचार त्यति बेला नेपालमा आउनै पाएन । किनकि उनीहरुका किताब खासै नेपाल आउने त्यो समय थिएन । त्यसैले यो झुट विश्वभर फैलियो, नेपालमा धेरै पछि मात्र अंग्रेजहरुले यस्तो गरिरहेका छन् भन्ने थाहा भयो ।

अब अहिले विश्वमा बुद्धलाई हेर्ने र बुझ्ने दुई भिन्न कन्सेप्ट छन् । एउटा कन्सेप्ट हो, बुद्ध नेपालमा जन्मिएको भन्ने । र, अर्को हो– बुद्ध भारतमा जन्मिएका भन्ने । पहिलो यो बुझाइ र सोचाइ नेपालमा मात्र सिमित भयो । दोस्रो तर्क गर्नेहरुले बुद्ध भारतमा मात्र जन्मिएको भन्दैनन्, केहीले त बुद्धको जन्म श्रीलंका, भुटान, फिलिपिन्समा भएको समेत भन्न सक्छन् । अनि फेरि विदेशमा कतिपयलाई त अहिले पनि लाग्छ, नेपाल भारतको प्रान्त हो ।

झट्ट सुन्दा हामीलाई यो कुरा आश्चर्य लाग्छ, तर यही झुट विश्वभर जरा गाडेर फैलिइसकेको छ ।

फुररले लेखेको त्यो किताब जलाएको झन्डै सय वर्षपछि भारतले बुद्धको जन्म भारतमा भएको हो भनेर व्यापक प्रचार गरेको रहेछ । 

नेपालमा राणाशासन थियो । त्यो समय यस्तो थियो, धेरै नेपाली शिक्षित थिएनन्, धेरै त साक्षर पनि थिएनन् । भारतमै पनि अंग्रेज शासकहरुले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने लेखिएका किताबलाई अझ बढी स्पेस दिन थाले, त्यसलाई झुट प्रचारको माध्यम बनाउन थाले । 

हो, नेपाल र नेपालीलाई त्यति बेला पनि विश्वमा वीर गोर्खाली, सगरमाथाको देश भनेर चिनिन थाल्यो । तर, बुद्धबारे चाहिँ झुट बढी प्रचार भयो । केहीले त नेपाललाई बुद्धको जन्मभूमि हो पनि भन्छन् तर यो झुट यति धेरै फैलिएको छ कि भोलि नेपालको अस्तित्व नै धरापमा पर्ला भन्ने डर मलाई लाग्न थाल्यो । 

अनि म ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा लागेँ ।

मलाई थाहा थियो, म एक्लैको प्रयासले यो कुरालाई विश्वभर फैलाउन कठिन हुन्छ । 

त्यसैले म सरकारी निकाय, मन्त्रालयहरूमा पनि धाउन थाले । 

विडम्बना ! केही मन्त्रीले त मलाई जवाफ दिए– गायक मान्छे, यस्तो विवाद हुने कुरामा नफस्नुस् !

तर, म यो अभियानमा होमिइसकेको थिएँ । मैले यसलाई निरन्तरता दिएँ । 

सन् २०१३ को कुरा । भारतको जी टिभीमा बुद्ध भन्ने सिरियल सुरु भयो । त्यो सिरियलमा बुद्ध भारतमा जन्मिएको भनेर प्रसारण हुन थालेको थियो । यो थाहा भएसँगै हामीले विभिन्न विरोधका कार्यक्रम गर्यौँ । हाम्रै विरोधको दबाबका कारण हुनुपर्छ, सिरियल बन्द पनि भयो । त्यो अभियानमा युवाहरुको सक्रियता देखेर हामीले राम्रो काम गरेका रहेछौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ ।

त्यसअघि नै मैले एउटा गीत र फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा काम गरिसकेको थिएँ । 

अहिले पनि निरन्तर म यही अभियानमा लागिरहेको छु ।

हो, मैले एक्लै गरेर यो अभियान पूरै सफल नहोला । तर, सरकारको साथ भयो र हामी सबै नेपाली सचेत भयौँ भने भोलि एक दिन अवश्य आउँछ जब पूरै विश्वले थाहा पाउनेछ– बुद्ध वाज बर्न इन नेपाल ।

(फरकधारका साजन घिमिरेसँग राईले गरेकाे कुराकानीमा आधारित)

  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १९:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया