‘अछाममा देउडा होइन, स्पिकरमा घन्कियो मुन्नी बदनाम हुई...’

सन् २०२० । यो नयाँ वर्ष सुरु हुनै लागेको थियो, विश्वभर मानिसहरु नयाँ रिजोलुसन बनाउन व्यस्त भइरहेका थिए । नेपालमा पनि अंग्रेजी नयाँ वर्षको प्रभाव राम्रै पर्न थालेको थियो, नयाँ वर्षमा नेपालमै पनि सयौँले विभिन्न रिजोलुसन बनाइरहेका हुन्छन् ।

तर, यो वर्ष त्यस्तो भएन । सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा चीनमा पहिलोपटक कोरोनाभाइरस मानिसमा देखिएपछि यो वर्ष नयाँ संकल्पहरु धेरै जन्मिन नै पाएनन् । जति जन्मिएका थिए, यही वर्षको सुरुवाती महिना जनवरी नै तीनले अन्त्य भोग्नु पर्यो । 

नेपाल पनि त कोरोनाभाइरसबाट अछुतो रहेको छैन !

नेपाल पनि त कोरोनाभाइरसका कारण सिर्जित लकडाउनबाट अछुतो छैन !

अनि छैनन्, नेपाली पनि । 

छैनन्, आख्यानकार अमर न्यौपाने पनि !



ठ्याक्कै अंग्रेजी नयाँ वर्षको सुरुवातलाई सोचेर त होइन, न्यौपानेले यो समयका लागि एउटा खास योजना बनाएका थिए । उनको योजना थियो– पाँचौ उपन्यासमा जमेर काम गर्ने ।

भन्न त मानिसहरु भन्लान्, लकडाउन भयो, झन् कोठामै बसेर लेख्नका लागि राम्रो समय भयो नि ! तर, न्यौपानेका लागि होइन । नेपालमा लकडाउन सुरु हुनुभन्दा अघि नै न्यौपानको मनमा पनि एउटा ‘डर’ले उडान भर्न सुरु ग¥यो, उनले त्यसलाई नियन्त्रणमा लिनै सकेनन् । अनि त, उपन्यासमा जमेर काम गर्ने योजना नै भयो, चकनाचुर ।



‘चीन, इटाली, स्पेन र अमेरिकालाई कोरोनाले निल्दै गइरहेको थियो,’ अमरले टेलिफोनमा सुनाए, ‘त्यहाँको भयावह अवस्था समाचारमा पढ्दा अब के होला भन्ने मात्र सोचिन्थ्यो, त्यसैले केही साता त यत्तिकै बित्यो !’

जब मानिसको मनमा डर र त्रास, सन्त्रास र अन्यौलको सवार हुन्छ, उसको मस्तिष्कमा सिर्जनात्मक कुराले कसरी उडान भरोस् !

न्यौपानेलाई पनि ठ्याक्कै यस्तै भयो । ‘डरैडरमा बित्यो एक महिना,’ अमरले भने, ‘कोरोना नेपाल आउँदा त यो डर नै बुढो भइसकेको थियो ।’

सायद, सबै कुराको एउटा सीमा हुन्छ, निश्चित समय हुन्छ र हुन्छ त्यसले सिर्जना गर्ने निश्चित परिस्थिति । डरको सन्दर्भमा न्यौपानेलाई पनि त्यही भयो ।

‘डर बुढो भएको थियो,’ न्यौपाने हाँसे, ‘बुढो डरको खासै डर लाग्दो रहनेछ, त्यही बुढो डरले नै मलाई अब लेखपढ गर है भनेर पो सम्झाउन थाल्यो ।’

अब कोरोना सन्त्रास झन् झन् बढ्न थाल्यो, अमर आफ्नो खास काममा फर्किन थाले । 

‘आख्यान, कविता र निबन्धहरु एकदमै थोरै पढेँ,’ उनले सुनाए, ‘यसपालि संस्कृतिसम्बन्धि किताबहरु धेरै पढेँ ।’

जनकलाल शर्माको हाम्रो समाज र कौतुकमय डोल्पो, हर्क गुरुङको त्यस बखतको नेपाल, डोरबहादुर विष्ट सबै जातको फूलबारी र भाग्यवाद र विकासवाद, ज्ञानमणी नेपालको नेपाल निरुपण, वैरागी काइँलाका थुप्रै रचनामात्र होइन, अमरले यो बीचमा पढेका छन्, यसअघि उनी आफैंले नाम नसुनेका केही पुस्तकहरु ।

‘थारु, मुन्धुम, धिमाल, किराँतलगायत अरु पनि थुप्रै संस्कृतिमाथि लेखिएका किताब पढेँ,’ न्यौपानेले भने ।

त्यसपछि उनी लागे, हामी नेपाली संस्कृतिमा कति धनी छौँ भन्ने कुराकानी गर्न । ‘हामी नेपाली संस्कृतिमा धेरै धनी छौँ,’ उनले भने, ‘नेपालमा सयभन्दा धेरै जाती र तिनीहरुको आआफ्नो भाषा र संस्कृति छन् । उनीहरुसँग आफूहरुले बाँचेर आएका कथा छन् ।’

एकातिर यो कुराले अमरको मन प्रफुल्ल बनाउँछ भने अर्कोतिर हामी आफैंले संस्कृतिलाई बेवास्ता गरेको र यसलाई थप ध्वस्त बनाउँदै गएको पनि उनी मान्छन् । 

संस्कृति लोप हुनु भनेको आफ्नो अस्तित्व र पहिचान, अपनत्व र भावना पनि लोप हुँदै जानु हो भन्नेमा उनी विश्वस्त छन् । 

तर, देशमा साँस्कृतिक विचलन भइरहेको प्रत्यक्ष आफैंले भोगेको छन्, देखेका छन् अमरले । 

यो केही वर्षअघिको कुरा हो । अमर न्यौपाने पश्चिम नेपाल अछाममा पुगेका थिए । अछाम आसपासका क्षेत्रमा देउडा निकै लोकप्रिय छ भन्ने उनले सुनेका थिए, केही दृश्यहरु मोबाइल र टिभीमा देखेका पनि थिए । अनि देउडा गीतका शब्दको भावमा डुब्न खोजेका थिए । 

तर, जब उनी अछाम पुगे, उनले देखेनन्, त्यहाँ देउडा नाच । त्यहाँ त बजिरहेको थियो, ठूलो स्पिकरमा मुन्नी बदनाम हुइ.... ।

‘म अछाम पुग्दा छोर्याट्टा–छोर्याट्टीलाई देउडा खेलेको देखिनँ,’ उनले सुनाए, ‘उनीहरु त स्पिकरमा ठूलो आवाजमा मुन्नी बद्नाम हुई सुन्दै बुरुकबुरुप उफ्रेर नाँचिरहेका थिए ।’

अमर नेपालका गाउँठाउँ मात्र होइन, विभिन्न अरु देशमा पनि पुगेका छन् । अनि हाम्रो देशमा देउडा नाचिनु पर्ने ठाउँमा मुन्नी बदनाम हुई सुनेका अमरले बेलायतमा अनुभव गरेका छन्, त्यहाँका मानिस, सरकार र समाजले लोकसंस्कृति जोगाउन गरेको प्रयास ।

‘विलियम सेक्सपियरको घरलाई अझै पनि सुरक्षित राखिएको मात्रै छैन, उनको त्यो घरवरपर अरु थुप्रै घरहरु नै त्यस्तै शैलीमा बनाइएका छन्,’ नेपालको अछामको प्रसंगलगत्तै उनले बेलायती आफ्नो यात्रामा देखेको यो दृश्य पनि सम्झिए । 

त्यसपछि न्यौपाने फेरि फर्किए, जीवन बोधका विषयमा । परमाणुमा खर्च गरिरहेका देशहरु अब विकासको सोचमा अझ फरक तरिकाले प्रस्तुत होलान् कि भन्ने सोचेका छन्, न्यौपानेले । 

किनकि यो महामारीले न्यौपानेलाई सिकाएको छ, फरक तरिकाले जीवन बोध गर्न । 

‘जीवनलाई बोध त हामी गरिरहेकै हो, तर यो कहरले भने फरक तरिकाले बोध गर्न सिकायो,’ उनी भन्छन्, ‘आफ्नै प्रियजनको मृत्यु हुँदा उसलाई छुन पाएका छैनौं । आफ्नाहरुलाई धित् मर्ने गरी अंकमाल गर्न पाएका छैनौँ ।’

यी विषयमा कुनै दिन लेखिँदै जालान् जसरी विभिन्न कालखण्डमा मानवजातिले भोगेका महामारी, युद्ध, प्राकृतिक विनाशबारे लेखिएका छन् कालन्तारमा । ‘जसरी ग्राबिएल गार्सिया मार्खेजले लब इन द टाइम अफ क्लोलेरा लेखेका छन्,’ अमरले भने, ‘यो विषम परिस्थितिबारे पनि कुनै दिन लेखिएला नि ।’

ठ्याक्कै अमरले चाहिँ यही विषयमा अब उपन्यास लेख्ने योजना बनाएका त होइनन् ? 

‘अहिले त यो विषयमा सोचेको छैन,’ उनले भने । 

तर, भोलि के थाहा, फेरि उही दैनिकीमा हाम्रो जीवन फर्किएपछि अमर यसमा लाग्न पनि सक्छन् । ‘संसार घामछाया हो,’ उनले भने, ‘र, यो संसार यस्तै हो र संसार यसरी नै चलिरहन्छ ।’

अहिले चाहिँ अमर यसअघि नै बुनिसकेको प्लट र सेटिङमा कथा र उपकथाहरुमा ट्विस्ट एन्ड टन्र्स दिएर आख्यान तयार पार्दैछन् !

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार ८:५१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया