नेकपाका तीन नेताले मागे सचिवालय बैठक

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समयदेखि जारी विवाद मिलाउन भन्दै शुक्रबार गठन गरेको कार्यदलबारे विवाद देखापरेको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधानका लागि भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

तर, शुक्रबार गठित उक्त कार्यदलको कार्यादेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता नभएको भन्दै नेकपाका ३ नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका छन् । नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा शनिबार बिहान चारजना नेताको बैठक बसेको थियो । उक्त अनौपचारिक बैठकमा प्रचण्डले शुक्रबार ओलीसँग भएको कुराकानी र कार्यदलबारे नेताहरूलाई जानकारी गराएका थिए । 

बैठकमा वरिष्ठ नेताद्वय नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक डाक्न माग गरेको खुमलटार स्रोतले जानकारी दिएको छ । पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउनुपर्थ्यो । कार्यदल बनी नै सकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर कार्यादेश (टीओआर) दिनुपर्छ भनेर ती नेताहरूले प्रश्न उठाएका थिए । 

शुक्रबार बालुवाटारमा बसेको ओली–प्रचण्डको बैठकले विवाद समाधान गर्न भन्दै महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेको कार्यदल बनाएको थियो ।

पार्टीभित्रको विवाद समाधान गर्नका निम्ति लिखित सुझाव दिन कार्यदललाई भनिएको छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १५:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया