सरकारलाई कांग्रेसको प्रश्न- लिदीका जनतालाई सुरक्षित ठाउँमा नसार्नु राज्यको व्यस्तता कि बेवास्ता ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदीका जनतालाई सुरक्षित ठाउँमा नसार्नु राज्यको व्यस्तता कि बेवास्ता भनी प्रश्न गरेको छ । ‘जनताको लिखित गुहार पछि पनि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी होइन सरकार जिम्मेवार जिम्मेवार हुनुपर्छ,’ कांग्रेसले शनिबारको विज्ञप्तिमा भनेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ ?’

लिदीमा शुक्रबार गएको पहिरोमा परेका १६ जनाको शव फेला परेको छ। छ जना उपचाररत छन् । केही मानिस अझै बेपत्ता छन्, उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विज्ञप्तिको पूर्ण पाठ

राज्यको व्यस्तता कि राज्यको बेवास्ता ? - जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जलि एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहँदा घटनासँग गासिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली काङ्ग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ। जगल गापाको वडा नं २ का लिदी, नाम्फा, सानोनाम्फा. निम्लङ संच गाउँ आदि बस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो । यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुन स्वाभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्न सामान्य हेलचक्र्याइँ मात्र होइन राज्यको अक्षम्य गल्ती हो । प्राकृतिक विपत्ति तत्काल रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो ।



हामी प्रश्न गर्न चाहन्छौँ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो । जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ।

कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ। कोरोनाको बढदो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोट प्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली काङ्ग्रेस फेरि पनि नेकपाको सरकारसँगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ।



विश्वप्रकाश शर्मा, प्रवक्ता

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १८:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया