कार्यदलले पार लगाउला त नेकपा विवाद ? कति विश्वस्त छन् नेताहरु ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही महिनादेखि आन्तरिक विवादमा रुमल्लिरहेको छ । यतिखेर मुलुक कोरोना संक्रमणको त्रासले आक्रान्त छ । संकटको घडीमा सत्तारुढ दल आन्तरिक विवादमा अल्झिँदा नागरिकस्तरमा चर्को आलोचना पनि भइरहेको छ ।

विवाद समाधानका लागि थुप्रै प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको छैन । कोरोना महामारीको रोकथाम, नियन्त्रणमा जुट्नु पर्ने शीर्ष नेताहरू आन्तरिक किचलो कै कारण दौडधुप गरिरहेका देखिन्छन् । 

पछिल्ला दिनमा नेकपाभित्रको विवाद समाधान उन्मुख रहेको भनी चर्चा गरिएको छ । शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् । यसै कार्यदलले नेकपाको आन्तरिक विवाद टुंगो लगाउनका लागि मार्गचित्र कोर्ने आशा नेकपा नेतृत्वले लिएको  छ । पार्टीका शीर्ष नेताहरूको विवादबाट चिन्तित रहेका नेता, कार्यकर्ताहरू पनि विवाद समाधान हुनेमा आशावादी देखिएका छन् । 

कार्यदल गठन भएसँगै नेकपाका सचिवालयका तीन नेताले कार्यदलको विषयमा प्रश्न उठाएका छन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगी कार्यदल गठनको कार्यादेश स्पष्ट नभएको भन्दै प्रचण्डसामु असन्तुष्टि पोखे ।  

नेताहरूले कार्यदल गठन भइसकेको अवस्था रहेकाले सचिवालय बैठकमा छलफल गरी स्पष्ट कार्यादेश (टिओआर) दिनुपर्ने माग गरेका छन् । 

 



कार्यदलले विवाद समाधान गर्ला ?

कार्यदल गठनको विषयमा नेकपाका नेता कार्याकर्ताहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । 



नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कार्यदलले पार्टी विवाद समाधान गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको फरकधारलाई बताए ।

अध्यक्षद्वयले विवाद समाधानकै लागि कार्यदल गठन गरेको गरेको भन्दै नेता पौडेलले विवाद समाधान गर्ने सन्दर्भमा पार्टीलाई महत्वपूर्ण सुझाव दिने जानकारी दिए ।

‘कार्यदलले समस्या समाधान गर्छ । समाधान गर्नका निम्ती नै कार्यदल बनाइएको हो,’ पौडेलले भने, ‘त्यो निर्णय गर्ने कमिटी होइन । त्यसले पार्टीको स्थायी समिति वा सचिवालयलाई समाधानका सुझाव दिने काम गर्छ ।’

नेकपा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको विवाद समाधानका निम्ति दुई अध्यक्षले गठन गरेको कार्यदलमार्फत प्रक्रिया शुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।

‘नेकपामा उत्पन्न समस्या र गतिरोध समाधानका लागि कार्यदलमार्फत प्रक्रिया शुरु हुनु सकारात्मक छ,’ भट्टराई भन्छन् ‘पार्टीलाई वैचारिक र संगठनात्मकरुपमा एकताबद्ध बनाउनु बाहेक अर्को विकल्प छैन ।’ 

केही महिना देखि जारी पार्टीभित्रको आन्तरिक संघर्ष अन्त्यका लागि नै कार्यदल गठन गरिएको नेकपा केन्द्रीय सदस्य आनन्द पोखरेल बताउँछन् । पार्टी एकताको मर्म र सिद्धान्तलाई आत्मसाथ गरी अगाडि नबढी गणितीय हिसाबले पार्टी अगाडी बढाउन खोज्दा विवाद चरम उत्कर्षमा पुगेको पोखरेलको ठम्याइ छ ।  

यस कार्यदलले दिएको रिपोर्टका आधारमा पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा छलफल गरेर नयाँ परिस्थितिको सिर्जना गरी अगाडी बढ्नु पर्ने नेता पोखरेलको भनाइ छ । 

‘पार्टी केन्द्रीय समितिको दोस्रो बैठकलले चैत्रमा महाधिवेशन गर्ने भनेको छ । ‘त्यसलाई कार्यान्वयन गरेर पार्टीलाई एकढिक्का बनाएर, एकीकृत ढंगले सरकारले गरेका कामको स्वामित्व लिनेगरी पार्टी अगाडी बढ्छ ।’ पोखरेल भन्छन् ।

नेकपा केन्द्रीय सदस्य कर्ण थापा कार्यदलले उपाध्यक्ष वामदेव गौतमले दिएको प्रस्तावको वरिपरि रहेर सहमति खोज्ने बताउनछन् । कार्यदलले छुट्टै केही गर्ने नभइ सहमति गरेर पार्टीलाई अगाडी बढाउने दिशामा सुझाव दिने थापाको भनाइ छ । 

‘मुलभूत समझदारी भएकै छ,’ थापाले भने, ‘बामदेव कमरेडले जुन सुझाव दिनुभएको छ । त्यसैको वरिपरि रहेर नै समाधान निकाल्ने हो ।’, 
 

 

कार्यदल संस्थागत भएन 

कार्यदल गठनमार्फत समस्या समाधानको बाटो खोजिनु सकारात्मक भएपनि पार्टी सचिवालयमार्फत कार्यदल बनाउन सकेको भए संस्थागत हुने नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे बुझाइ छ । एकता मर्म, नीति, विधिसम्मत तरिकाले पार्टी सञ्चालन नै आजको आवश्यकता भएको उनले बताए।  ‘कार्यदलमार्फत प्रक्रिया शुरु हुनु सकारात्मक छ ।’ गैरे भन्छन्, ‘अध्यक्षद्वयको प्रस्तावमा सचिवालयको बैठकले कार्यदल बनाउन सकेको भए संस्थागत हुन्थ्यो।’ 

केन्द्रीय सदस्य मेटमणी चौधरीले भने कार्यदलका बारेमा कडा टिप्पणी गरेका छन् ओली–प्रचण्डले गठन गरेको कार्यदललाई ‘घुमिफिरि रूम्जाटार’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा लामो टिप्पणी गर्दै नेता चौधरीले कार्यदलले समाधान दिन नसक्ने र दिइहालेमा पनि मान्न बाध्य नहुने धारण व्यक्त गरेका छन्।

‘दुई अध्यक्षले निर्णय गरेर अगाडि बढ्ने कुरा र सचिवालयको बैठकले निर्णय गरेर निकास दिने कुरा ‘आउटडेटेड’ भइसकेको र यो मेथडले पार्ट चल्न नसक्ने कुरा व्यवहारिक रूपमा प्रमाणित भइसकेको छ।’ चौधरी भन्छन् ।

उनी दुई अध्यक्षको वरिपरि पार्टी घुमाउन खोज्नु नै गलत भएका बताउछन् । यो तरिका लोकतन्त्र, विकेन्द्रिकरण र जनवाद र गणतन्त्र विरोधी भएको उनको बुझाइ छ । ‘झन कम्युनिष्ट चरित्रसँग त कति पनि मेल खाँदैन,  यसको ‘करेक्सन’ अनिवार्य छ’ नेता चौधरीले भनेका छन् । 

विवाद मिलाउन कार्यदल बनाउने काम विशेष समारोहका बेला विदेशी पाहुनाका अगाडि तीनकुने चौरको कुरुपता छोप्न बनाइएको घाँसे मैदानजस्तै भएको उनको टिप्पणी छ।  

नेकपासँग विशाल समर्थन, लाखौँ कार्यकर्ता र हजारौँ नेताको पंक्ति रहेको भन्दै उनले सैद्धान्तिक मान्यता, स्थापित विधि, छलफलको संस्कृतिलाई आत्मसाथ गर्दै विश्वासको वातावरण निर्माण गर्ने कुरामा ध्यान दिनुपर्ने जोड दिए । ‘सबै समस्याको समाधान कमिटीको प्रणालीअनुसार खोज्नु जरूरी छ । चौधरी भन्छन्, ‘आज देखिएको विवाद पनि स्थायी र केन्द्रीय कमिटिको बैठकबाटै खोजौं ।’

 

सचिवालय बैठक बस्ने तयारी

कार्यदल गठनकै सन्दर्भमा नेकपाले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजेका लागि बैठक आह्वान गरिएको छ । 

पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डसँग सचिवालय बैठक बोलाउन माग गरेका थिए । 

 

कार्यदलले बनायो कार्यविधि

विवाद समाधानका बनाएको कार्यदलले काम सुरु गरेको छ । कार्यदलले आइतबारदेखि विषयगत छलफल सुरु गरेको छ । शनिबारको बसेको कार्यदलको बैठकले कार्यविधि तयार गरेको थियो । जतिसक्यो छिटो सहमतिका लागि सुझाव पेस गर्ने जिम्मेवारी पाएको कार्यदलले पाएको छ । सोमबारसम्म निकासका लागि सुझाव तयार गर्ने गरी काम थालिएको जानकारी कार्यदलले दिएको छ । 

१० असारबाट शुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा नेकपाका एक अध्यक्ष प्रचण्डले सहित स्थायी कमिटीका बहुमत सदस्यहरू ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपा बैठक विवादतर्फ उन्मुख भएको थियो । 

पछिल्लो समय साउन १३ मा आयोजना गरिएको बैठक अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थगन गरेपछि विवादले झनै चरम रुप लिएको थियो । सोही दिन अर्का अध्यक्ष प्रचण्डले २९ जनाको उपस्थितीमा बैठक बसाले । उक्त बैठकले अध्यक्ष ओलीसँग छलफल गरेर बैठक बोलाउन अध्यक्ष प्रचण्डलाई जिम्मा दियो ।

दुई अध्यक्षबीच छलफल गरेर बैठक बोलाउने जिम्मा पाएका ओली–प्रचण्डबीच केही दिनसम्म कुराकानी समेत हुन सकेन । ६ दिनमा दुई अध्यक्षबीच संवाद शुरु भएको केही दिनमै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू  माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना निकट पत्रकार तथा विटमा रिपोर्टिङ गर्ने पत्रकारहरूको भेला गरेपछि स्थिती असामान्य बन्दै गयो । 

पछिल्लो समय बिहिवारदेखी दुई अध्यक्षबीच पुनः संवाद शुरु भएको छ । शुक्रबार भएको ओली–प्रचण्डबीच छलफलले कार्यदल गठन गरेको छ । कार्यदलले समस्या समाधानका निम्ती छलफल गरेर प्रतिवेदन दिनुपर्ने भनिएको छ । तर कार्यदल गठनमै प्रश्न उठेकाले यसले समाधान दिनेमा भने शंका छ । 


  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार २१:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया