संसदका सभाध्यक्षहरूको पाँचौँ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु
संसदका सभाअध्यक्ष हरूको पाँचौँ विश्व सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिरः संसद सचिवालय

काठमाडौं– संसदका सभाअध्यक्षहरुको पाँचौँ विश्व सम्मेलन ‘भर्चुअल’ माध्यमबाट सुरु भएको छ ।

अन्तरव्यवस्थापिका संघ (आइपियू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ अष्ट्रिया)को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी छन् । सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्याल सहभागी छन् । 

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको थियो । तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो ।

सम्मेलन सन् २०२१ मा पुनः अष्ट्रियामा नै आयोजना हुने आइपियूको सचिवालयले जनाएको छ। एक सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागी रहेको सम्मेलनको मुख्य विषय ‘मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व’ रहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रवर्द्धनलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ । सम्मेलन भर्चुअल भएकाले सहभागी राष्ट्रले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन् । 

नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत  धारणा व्यक्त गरेका छन् । सन्देशमा उनले नेपाल अहिले नयाँ संविधान निर्माण गरी दिगो विकासको लक्ष्य प्राप्तिका लागि ‘समृद्ध  नेपाल, सुखी नेपाली’को नारासहित अगाडि बढिरहेको बताए । विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने अपेक्षा व्यक्र गरे ।  



ुभर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आइपियू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेसनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आइपियू महासचिव मार्टिन चुङगोङले बोलेका थिए । 

बिहीबारसम्म चल्ने दुईदिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।



  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार २०:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया