विगत वर्षहरुमा तीजको समयमा पशुपति लगायत देशका मुख्य शिवालयमा हिन्दु नारीहरूको भीड हुने गर्थ्यो । कोरोनाको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकासँगै देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाले यो वर्ष बर्तालुहरु मन्दिर, देवालय पुगेका छैनन् ।
देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदै छन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला महादेवको पूजा आराधना गर्न पुग्थे । पशुपतिमा भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक खटिएका हुन्थे । यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ ।
कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तीज मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपर्थ्यो । पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषले जनाकारी दिएको छ ।
पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगंगाबाट चाबहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो । साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।
पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेकस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो । गोकर्ण औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो ।
आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् ।
धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम भने पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकाङ्क्षा पूरा गर्ने कामनाले महिला, पुरुष दुवै व्रत बस्नुपर्ने बताउँछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल चौथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।