[अन्तर्वार्ता] देउवा, पौडेल अब पार्टीको अभिभावक बन्नुपर्छ, कांग्रेसलाई कन्टेन्ट भएको सभापति चाहिन्छः प्रदीप पौडेल

नेपाली काङ्ग्रेसमा पछिल्लो समय १४ औं महाधिवेशनको सरगर्मी सुरु भइसकेको छ । महाधिवेशनका लागि केही महिना बाँकी नै छ । तर, काङ्ग्रेसमा यसको रौनक अहिले नै बढेको छ । १४ औं महाधिवेशनबाट कांग्रेस नयाँ पुस्तामा हस्तान्तरण हुन्छ भन्ने चर्चा चल्न थालेको छ । किनकि काङ्ग्रेसका दोस्रो पुस्ताका नेताहरु अब आफू सभापतिको उम्मेदवार हुने बताइरहेका छन् । 

यहीबीच काङ्ग्रेसको तेस्रो पुस्ताका नेताहरु पनि अब काङ्ग्रेस नयाँ पुस्ताको नेतृत्वमा आउनु पर्ने आवाज उठाइरहेका छन् । भोलिको काङ्ग्रेस कस्तो हुनुपर्छ भनेर अहिले नै स्पष्ट भिजन आउनु पर्ने माग राख्नेमध्ये एक हुन्, कांग्रेसका युवा नेता प्रदीप पौडेल । पछिल्लो समय कांग्रेसमा वैचारिक बहसलाई प्राथमिकता दिनुपर्छ भन्ने आवाज बुलन्द रुपमा उठाइरहेका पौडेललाई १४ औं महाधिवेशनमा कुनै एक पदाधिकारीका उम्मेदवारका रुपमा चित्रण गर्न थालिएको छ । यही सन्दर्भमा पौडेलसँग फरकधारका शिखर घिमिरेले कुराकानी गरेका छन् । त्यो कुराकानीको सम्पादित अंशः 


विश्व कोरोनाभाइरस महामारीका कारण त्रसित छ, नेपाल पनि कोरोनाका कारण निकै प्रभावित छ । यही महामारीबीच कांग्रेसमा चाहिँ अब महाधिवेशनको चर्चा चल्न थालेको छ । के कांग्रेसलाई अब महाधिवेशनले छोपेको हो ?

हामीले हाम्रो महाधिवेशन चार वर्ष भित्रै गर्नु पथ्र्यो । तर, यसअघि तोकिएको समयमा महाधिवेशन हुन सकेन । अनि त्यसका लागि एक वर्ष थपियो । यहीबीच कोरोना महामारीले विश्वलाई त्रसित बनाएको छ । तर, कोरोनाकै कारण हामीलाई महाधिवेशन नगर्ने सुविधा छैन । हाम्रो विधानमा जे व्यवस्था छ, त्यसले गर्दा पनि हामीलाई महाधिवेशन गर्न बाध्यता आइपरेको छ । तर, यो महाधिवेशनका कारण कोरोना जोखिम नजरअन्दाज गर्ने पनि होइन । फेरि केही समय पनि बाँकी नै । त्यसैले यस्तो समयमा हामीले सचेत भएर महाधिवेशनलाई अगाडि बढाइरहेका छौँ, यसबारे अब छलफल हुन थालेको छ । सतर्क भएर पार्टीको महाधिवेशन गर्ने पक्षमा हामी पुगेका हौँ ।

 



यसपटक महाधिवेशनको चर्चासँगै नेतृत्वका लागि नयाँ अनुहारले आफ्नो आवाज उठाइसकेका छन् । के कांग्रेसमा अब प्याराडाइम सिफ्ट हुन लागेको हो त ?

पछिल्लो समय जसरी विषयहरु आइरहेका छन्, कांग्रेसले आफ्नो परम्परालाई तोड्न खोजेको जस्तो देखिन्छ । हो, अहिले नेतृत्वका लागि केही नयाँ अनुहार देखिएका छन्, तर कांग्रेसको राजनीतिमा यी अनुहार नयाँ होइन । फरक के हो भने लामो समय काम गरेको, कपाल फुलेकोले मात्र चुनाव लड्ने जुन परम्परा थियो, अब त्यो तोडिन लागेको जस्तो देखिन्छ । अब कांग्रेसले खोजेको नेतृत्व कस्तो हो भने कन्टेन्टमा आधारित भएर प्रस्तुत हुन सक्ने, प्रखरता पनि प्रस्तुत गर्न सक्ने व्यक्ति हो । समस्या मात्र देखाउने पनि होइन, समाधान पनि दिनसक्ने व्यक्ति र नयाँ पुस्ताको प्रतिनिधित्व गर्न सक्ने नेतृत्व अहिलेको माग हो, खोज हो । अहिले भइरहेको बहसले पनि त्यही देखाउँछ, यो स्वभाविक पनि हो ।



 

नयाँ पुस्ताको नेतृत्वको वकालत तपाईं गरिरहनु हुन्छ । तर, तपाईं, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गगन थापाहरुको नाम स्वतन्त्र रुपमा कांग्रेसमा उभिन त सकेको छैन नि, आखिर अघिल्लो पुस्ताकै नेताहरुको प्यानलमा तपाईंहरुको नाम जोडिन्छ नि ?

यो परम्परा एकदमै लामो छ । कसैको छहारी भित्र नबसिकन यस्तो गर्न सकिँदैन भन्ने हाम्रो आम मनोविज्ञान छ । पछिल्लो पुस्ताले आफ्नो अघिल्लो पुस्ताको फेरो समाएर आफ्नो आकांक्षा पूरा गर्ने जुन चलन हो त्यो चलनबाट हामी एकदमै अछुत छौं भनेर म दाबी गर्न सक्दिनँ । तर, अहिले आँट गर्ने चाहना र विश्वास बढेको छ भन्ने मलाई लाग्छ । 

हामीले अर्थात पछिल्लो पुस्ताको मान्छेहरुले महत्वाकांक्षा नराखेका कारण कांग्रेसभित्र सिन्डिकेट जस्तो देखियो । आजभन्दा पच्चिस वर्ष अगाडि जो नेतृत्वमा थियो, आज पनि त्यही छ । कांग्रेसमा मात्र होइन समग्र नेपाली राजनीतिमै त्यो अवस्था छ । त्यसैले हामीले पनि महत्वाकांक्षा नराख्ने हो भने, हामीले पनि हामी छौं नभने, कांग्रेसमा जुन सिन्डिकेट थियो त्यो रहिरहन्छ । हामी नयाँ पुस्ताको पदाधिकारी बन्ने हाम्रो नेतृत्वमा कांग्रेस बन्ने कुरा अब अस्वभाविक हुनै सक्दैन । किनकि हामीले आफूलाई कांग्रेसको अभियानमा उभ्याएका पनि अब २५ वर्ष भइसकेको छ । हामीले आफूलाई कांग्रेसको अग्रपंक्तिमा राख्दै आएको पनि धेरै भइसक्यो । कांग्रेस कसरी अगाडि जानु पर्छ भन्ने कन्टेन्टमा अब अघिल्लो पुुस्ताभन्दा हामीले धेरै बहस गर्न सक्छौँ । त्यसैले यी तमाम कुराका आधारमा हामीले आफ्नो अस्तित्व दावी गर्ने कुरा अस्वभाविक हो जस्तो मलाई लाग्दैन । 

 

पछिल्लो समय कांग्रेसको कस्तो हुने भन्ने बहस सुरु भएको छ । विशेषगरि अघिल्लो निर्वाचनमा नराम्रो पराजय भोगेको कांग्रेस अबको महाधिवेशन पछि कस्तो होला ? 

हामीले उठाइरहेको प्रश्न पनि यही हो– कस्तो कांग्रेस र कसको कांग्रेस । कस्तो कांग्रेसको कुरा गरिरहँदा चाहिँ यो भन्दा फरक तरिकाको कांग्रेसको निर्माण गर्न सक्नु पर्छ भन्ने मलाई लाग्छ । सांगठनिक पक्ष, वैचारिक पक्षमा, मार्गचित्र कोर्ने सन्दर्भको पक्षमा हामीले कांग्रेसलाई अलि फरक ढंगबाट ल्याउन जरुरी छ । अबको १५ वर्षमा नेपाल कस्तो बनाउने भन्ने मार्गचित्र नेपालसँग छ त ? अहिलेको सांगठनिक पक्षले हामीले दुई पार्टी मिलेर बनेको नेकपालाई परास्त गर्न सक्छौँ त ? अहिले हामीले गरिरहेको काम प्रश्नरहित छ त ? हामीभित्र एकदमै लोकतन्त्रको अभ्यास भइरहेको छ त ? यी प्रश्नहरुका कारण मात्र होइन, हामीले आफूलाई अब सुधार्न एकदमै महत्वपूर्ण छ । १५ वर्षपछिको नेपाल कस्तो हुनुपर्छ भन्ने मार्गचित्र लिएर मात्र होइन, हामी अब प्रष्ट रुपमा अगाडि आउन सक्नु पर्छ ।

हामीले अब त समाजवादको मौलिक व्याख्या पनि गर्न सक्नुपर्छ । हो, हिजो बिपीले समाजवादको मौलिक व्याख्या गर्नु भएको थियो, तर त्यो मौलिक व्याख्या आजको सन्दर्भमा उपयुक्त नभएको हुनसक्छ । आजको सन्दर्भमा उपयुक्त मौलिक व्याख्या के हो त ? हामीले व्याख्या नै गर्न नसक्ने हो या हामीलाई यसको आवश्यकता छैन ? हामीले हाम्रो सैद्धान्तिक पक्ष तथा कार्यशैलीलाई परिमार्जन गर्न अब आवश्यक छैन र ? 

एउटा कार्यकता र नेताबीच कस्तो व्यवहार हुने, कांग्रेस र जनताबीच कस्तो व्यवहार हुने, कांग्रेसले अब कस्तो सन्देश दिने ? यी सब प्रश्नको जवाफ अब कांग्रेसले दिनुपर्छ । योबीचमा कांग्रेस धेरै ठाउँमा चुकेको छ । यसरी नै चुकिरहने हो भने हामी जनताबीच लोकप्रिय हुने कुनै सम्भावना छैन । त्यसैले यो सुधार गर्न सक्ने नेतृत्व पनि चाहिएको छ ।

फेरि अब कांग्रेसभित्रको प्रतिस्पर्धा पनि कन्टेन्ट र विषयवस्तुमा आधारित हुनुपर्छ । मेरो गुट छ, मेरो देशैभरी समर्थक छन्, म पुराना हुँ भन्ने आधारमा अब कांग्रेसमा प्रतिस्पर्धा हुनु हुँदैन । 

 

यी र यस्तै कुरा त तपाईंहरुले १३ औं महाविधेशनमा पनि गर्नुभएको थियो । ५ वर्षपछि फेरि यही कुरा दोहोर्याउनु भएको छ । यो बीचमा किन कुनै परिवर्तन हुन सकेन ? 

हाम्रो १३ औं महाधिवेशनमा कार्यशैलीलाई प्राथमिकता राखेर बहस भएको थियो । जस्तै, विरासतलाई निरन्तरता नदिऔं, धेरै पटक विधानहरु उल्लंघन भएको थियो, यसरी विधान उल्लंघन हुने हो भने पार्टी चल्न सक्दैन भनेर हामीले आवाज उठाएका थियौँ । वैधानिक शैलीबाट पार्टी चलाऔं, एउटै तरिकाको पार्टी चलाउने शैलीलाई फेरौँ भनेका थियौँ । आम कार्यकर्ताको मूल्यांकन हुने स्थिति निर्माा गरौँ भनेका थियौँ । 

अब अहिले सन्दर्भ फेरिएको छ । त्यति बेला गणतन्त्रको विषयमा पनि बहस भएको थियो, अहिले त्यो बहस आवश्यक छ वा कसैले गर्छ भन्ने लाग्दैन, गर्नु पनि हुँदैन । अब आएर लोकतन्त्रको बहस, संघीयताको विकल्प खोज्नु पर्छ भन्ने बहस आवश्यक छ र हुन्छ भन्ने मलाई लाग्दैन । अब हाम्रो पार्टीमा पनि राजनीतिको विषयमा, राजनीतिक शासन सत्ताको विषयमा बहस होला भन्ने मलाई लाग्दैन । तर, यसको मतलब अब बहसका विषय नै सकिए भन्न खोजेको पनि होइन । यसअघि हामीले कांग्रेस कस्तो भन्ने सवालमा बहस त गर्यौँ, निष्कर्ष निकाल्न चाहिँ सकेनौँ । 

फेरि यो विषयमा आज नै निष्कर्ष निकालौँ भनेर १४ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने पनि मलाई लाग्दैन । क्रियाशिल सदस्यता कसलाई दिने, क्षेत्रीय प्रतिनिधि कसलाई बनाउने, को सभापति र महामन्त्री हुने भन्ने कुरा अब महत्वपूर्ण हो जस्तो मलाई लाग्दैन । हामीले त अब को किन हुने भन्दै गर्दा संमृद्धि के हो त्यसलाई कसरी ल्याउने, समाजवाद के हो त्यसलाई कसरी कार्यान्वयन गर्ने र जनजीवनका मुद्धा, नीजि क्षेत्र र समग्र विकासका विषयमा हाम्रो दृष्टिकोण के हो भनेर सार्वजनिक हुने गरी हाम्रो दृृष्टिकोण के हो भनेर अगाडि बढाउनु पर्ने हुन्छ । 

हो, पहिले पनि यी कुराहरु थिए । तर, अहिलेको जस्तो घनिभूत ढंगबाट आएका थिएनन् । यसअघि कंक्रिट रुपमा यी सबै मुद्दा आएका थिएनन् । अब यो पटकको महाधिवेशनमा यी कुराहरु आउनेछन् । अनि यसमाथि हामीले आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण हो । 

 

तपाईंले युवाहरु आउनुपर्छ, काङ्ग्रेसमा नयाँ बहस सुरु हुनुपर्छ भनिरहनु भएको छ । के यसको अर्थ अब काङ्ग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुको युग सकिएको हो ?

म उहाँहरुलाई सम्मान गर्छु । तर, सम्मान गर्नुको अर्थ उहाँहरुले नछोडेसम्म उहाँहरु नै पदमा बस्न पाउनु पर्छ भन्ने होइन । उहाँहरुलाई सम्मान गर्दा गर्दै म के भन्न चाहन्छु भने उहाँहरुको शैलीले पार्टीले अब प्रगति गर्दैन । यो कस्तो छ भने एक किसिमको सामन्तवादी स्वभाव भएको, अहिलेको लोकतान्त्रिक विचारलाई सम्मान गर्न नसकेको, नयाँ पुस्ताले चाहे अनुसार पार्टी अगाडि बढ्न नसकेको, पार्टीको सन्दर्भमा अहिले थुप्रै प्रश्न गर्न सकिने स्थिति बनेको छ यति धेरै डिफेन्सिभ, आक्रमक भएर हामी अरुलाई जित्ने गरी अगाडि जान सक्दैनौँ ।

त्यसैले, रणनीतिक पक्षमा जुन खालको कमजोरी देखियो, सैद्धान्तिक पक्षमा जुन खालको वहसहीनताको स्थिति देखियो र हाम्रो मुद्धाहरु जे हुन्, पार्टी त्यसमा नजोडिने स्थिति देखिँदा पार्टीको नेतृत्वलाई परिवर्तन गर्नु पर्ने हुन्छ । त्यसैले उहाँहरुले सम्मान गर्दा गर्दै पनि मैले के भन्नु पर्छ भने उहाँहरुले अब पार्टीको अभिभावक बनिदिनु पर्छ । उहाँहरुले अभिभावक बनेर प्रतिस्पर्धात्मक पद्धतिबाट नेतृत्वको परिस्थिति उहाँहरुले सिर्जना गर्नु पर्छ । 

 

हिजो युवाहरु देउवा, पौडेल, सिटौलाहरुकै छहारीमा सिक्ने, हुर्किने अनि अहिले आएर उहाँहरुलाई योग्न छैन भन्दैछन् भन्ने कुरा पनि निस्किरहेको हुन्छ । परिवर्तन भनेको हिजो जसले पार्टीलाई एक बनायो, यो ठाउँसम्म ल्यायो, उनीहरुलाई हटाएर अगाडि बढ्नु हो र ?

होइन, हामीले सिक्ने उहाँहरुबाटै हो, सिक्ने भनेको बाबुबाटै हो  । तर, सिकाएको हो भन्दैमा उहाँहरुले गल्ती गरिरहँदा उहाँहरुप्रति अनुग्रहित भएर सबै कुरा बिर्सिने भन्ने हुँदैन । पछिल्लो पुस्ता जहिल्यै पनि अघिल्लोभन्दा ‘सार्प’ हुन्छ । पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई सबै च्यालेन्ज गरिरहेको हुन्छ । अब चुनौतिको सामना गर्ने गरि अघिल्लो पुस्ता आयो भने त्यसको विकल्प नहुन सक्छ ।

तर, पछिल्लो पुस्तालाई चुनौति गर्न सक्नेगरी उहाँहरु आउन सक्नु भएन भने उहाँहरु प्रति हाम्रो सम्मान छ, उहाँहरुप्रति हामी अनुग्रहित छौँ भन्दैमा उहाँहरुकै नेतृत्व स्वीकार गर्नुपर्छ भन्ने होइन । नेतृत्व भनेको त देशको लागि हो, पार्टीको लागि हो, समाजको लागि हो । नेतृत्वको पछाडि धेरै मानिसहरु हुन्छन्, त्यसको सम्मान गर्नुपर्छ । त्यसैले, उहाँहरुमा यो खुबी छैन भने उहाँहरुको नेतृत्व स्वीकार गर्ने भन्ने मात्र हुँदैन, म सक्दिनँ ।

हो, पार्टीका लागि, देशका लागि उहाँहरुको ठूलो योगदान छ । डेमोक्रेसीका लागि उहाँहरुको योगदान धेरै थियो, त्यसको लागि उहाँहरुलाई हामीले धेरै सम्मान गरिसक्यौँ । तर, उहाँहरुलाई जीवनभर क्षतिपुर्ति गर्ने हिसावले हामी अगाडि बढ्न सक्दैनौँ । अहिले कांग्रेस त यस्तो टर्निङ पोइन्टमा छ, जसले १३ प्रतिशतको अन्तरको नेकपालाई भेट्नु पर्ने छ, उसलाई जित्नु पर्ने छ । संसारबाट परास्त भइसकेको साम्यवादी विचारधारा राख्ने पार्टी अहिले सत्तामा छ । अनि सरकारले एकदमै कमिकमजोरी, नालायकीपन देखाइरहेको अवस्था छ । सरकारलाई हेर्दा एकदमै निराश हुनु पर्ने स्थिति छ । सरकारलाई हेर्न छोडेर कांग्रेसलाई हेर्ने हो भने पनि झन् धेरै निराश हुनु पर्ने अवस्था अहिले छ ।

यस्तो हुँदा त व्यवस्थामाथि नै प्रहार हुन्छ । अनि यस्तो अवस्थामा सुधार नगर्ने हो भने कहिल्यै सुधार हुन सक्दैन ।

 

भनेपछि १४ औं महाधिवेशनले छान्ने नेतृत्व अब नयाँ हुन्छ ? यो नयाँ भनेको तपाईंहरुको पुस्ता हो कि तपाईंहरुभन्दा अघिको पुस्ता ? कि अब कांग्रेस नेतृत्वमा एक पुस्ता जम्प हुँदैछ ?

मलाई लाग्छ छलाङ मारेर अर्को पुस्ता ल्याउन निकै गाह्रो हुन्छ । आँट गर्नु नै अहिलेका लागि मुख्य कुरा हो । कसैले आँट गरेन भने अहिले व्युरोक्रेटिक पद्धतीमा जे छ उपसचिव भएपछि सहसचिव हुने त्यसपछि सचिव हुने यही व्युरोक्रेटिक प्रोसेस नै हावी हुन्छ । फेरि अहिले नेतृत्व के भन्ने मात्र महत्वपूर्ण होइन, लामो समय राजनीति गरेको भन्दैमा नेतृत्वमा हुने भन्ने पनि होइन, अब त कन्टेन्टले प्रखरताले र क्षमताले नेतृत्व छानिनुपर्छ । यसको अर्थ हो, जुनसुकै पुस्ता भए पनि अब नेतृत्वमा यी गुण आवश्यक छन् ।

अहिलेसम्म हामीले आँट गर्न नसकेर नयाँ पुस्ता नेतृत्वमा नआएको हो । आँट गर्ने हो भने एउटा मनस्थितिबाट गुज्रिरहेको मान्छे पनि आफूलाई परिवर्तन गर्न तयार हुन्छ ।

मैले दाबी नै गरिनँ भने तँ होस् भनेर कसैले दिँदैन । किस्तिमा राखेर पद कसैले दिने होइन, यसका लागि त संघर्ष गर्नुपर्छ । त्यो खोस्ने र संघर्ष गर्ने आँट नभएर नै यस्तो स्थिति सिर्जना भएको हो । अहिले पनि कांग्रेसमा दोस्रो पुस्ताले खोस्न सकिरहेको छैन । 

१४ औं महाधिवेशनमा पनि उहाँहरुले खोस्ने आँट गर्न सक्नु भएन भने १५ औंमा उहाँहरुबाट हाम्रो पुस्ताले खोस्न आँट नगर्ला । उहाँहरुले अब आँट गर्नुभयो भने पक्कै पनि हाम्रो पुस्ता  अगाडि आउनेछ । आँट गर्यो भने सम्भव छ, अहिले यो परिस्थिति बन्छ वा बन्दैन, अहिले नै निक्र्योल निकाल्न सकिँदैन ।

 

तपाईंले भने जस्तै आँट गरेर तपाईं, विश्वप्रकाश शर्मा, गगन थापामध्ये एकले सभापति लड्छु भन्न सक्नुहुन्छ त ?

अहिले यो विषयमा हाम्रो कुनै छलफल वा कुराकानी भएको छैन । हामी चाहिँ परिणाम नआए पनि आशा जगाउन त सकिन्छ कि भनेर लागिरहेका हुन्छौँ तर यस विषयमा पनि कुनै छलफल भएको छैन । तर, यही नेतृत्व नै कांग्रेसमा निरन्तर भयो भने मलाई लाग्छ, कांग्रेसप्रतिको निराशा थप बढेर जान्छ । फेरि कोही पनि भ्रममा पर्नु हुँदैन, यो कुरा मैले कसैलाइ अपमान गरेर भनेको होइन । आज बनेको स्थिति, परिस्थिति नै त्यस्तो खालको छ । 

यही अवस्थामा हामी अगाडि बढ्ने हो भने थप समस्या आउने निश्चित छ । त्यसैले एउटा सन्देश दिनकै लागि पनि नयाँ पुस्ता अब अगाडि आउँछ, आउनुपर्छ  ।

 

भनेपछि १४ औं महाधिवेशनले नयाँ अथवा दोस्रो पुस्ताको नेतृत्व ल्याउँदै छ ?

पुस्ताको कुरामा मलाई के लाग्छ भने ७० भन्दाको माथि बाहिरिनु पर्छ, चालिसभन्दा तलका आउनु पर्छ भन्ने ढंगबाट म हेर्दिनँ । म चाहिँ कसरी हेर्छु भने टेस्टेड र अनटेस्टेड । टेस्टेड भनेको बारम्बार मौका पाएको तर सन्तुष्टी दिने गरि कार्यसम्पादन गर्न नसकेको । अब यसरी एकपटक टेस्टेड मानिस बाहिरिनु पर्छ, अब त त्यस्तो नेतृत्वको आवश्यकता छ जोसँग कन्टेन्ट चाहिँ छ तर नेतृत्वको जिम्मेवारी पाएको छैन । मेरो विचारमा अब कांग्रेसलाई चाहिएको सभापति कन्टेन्ट भएको सभापति हो ।

 

यसको अर्थ तपाईं आफ्नै क्याम्प सिटौलालाई नै सभापतिमा योग्य उम्मेदवार भन्नेमा हुनुहुन्छ ? 

कन्टेन्ट भएको तर जिम्मेवारी नभएको नेतृत्व हामीलाई चाहिएको हो । अब त्यो फ्रेमभित्र सिटौला पर्नु हुन्छ भने उहाँ हुनु पुर्यो वा उहाँ पर्नु हुन्न भने अरु कोही पर्नु पर्यो । 

राजनीतिमा कसैलाई बारम्बार परिक्षण गरिने अधिकार हुँदैन । एक पटक राम्रो गरेको मान्छे दोस्रो पटक पनि नेतृत्वमा आउन सक्छ । तर, यहाँ त तेस्रो, चौथो, पाँचौ पटक पनि नेतृत्वमा दोहोरिइरहेका छन् । यसको अर्थ हो हाम्रो राजनीति अझै पनि कन्टेन्टमा आधारित राजनीति हुन सकेन । कन्टेन्टको आधारमा जिम्मेवारी दिने हो भने राम्रो गरेको मान्छे फेरि दोहोरिन सक्छ, तर एकपटक टेस्ट भइसकेको तर राम्रो गर्न सक्दैन भनिएको मान्छे रिङआउट हुनसक्छ ।

अब कोही सभापति हुने हो भने ऊ प्रखरताका आधारमा, क्षमता र कन्टेन्टको आधारमा हुनुपर्छ । जो यी कुरामा ठिक छ, ऊ सभापति हुन सक्यो, जो छैन, उसले अब स्थान छोड्न सक्नुपर्छ । त्यसैले टेस्टेड र अनटेस्टेडको आधारमा अब सभापति छानिनुपर्छ भन्ने मलाई लाग्छ ।

अबको महाधिवेशनबाट म नेतृत्व गर्छु भन्ने नयाँ अनुहारहरु देखिइसकिएको छ । कोइराला परिवारबाट दुई जना, विमलेन्द्र निधि, प्रकाशमान सिंह, रामशरण महतले दाबी गर्न थाल्नु भएको छ । यो खासमा साँच्चिकै परिवर्तन देखिन लागेको हो कि उहाँहरुले बार्गेनिङ टुललाई मात्र अगाडि सार्नु भएको हो ? 

सभापतिका लागि उम्मेदवारी दिइसक्नुभएका कृष्ण दाइ र रामचन्द्र दाइ, सभापति भइसक्नु भएका देउवा दाइले त अहिले पनि सभापति दाबी गर्नु स्वभाविक नै हो । सँगसँगै अब नयाँ अनुहारले दाबी गर्नु पनि कुनै खोट देखिन पर्ने कुरा होइन । उपसभापति भइसकेपछि विमलेन्द्र निधि हुने नै सभापति हो, प्रकाशमान सिंह र शसांक कोइराला महामन्त्री भइसक्नु भयो, अब उहाँहरु हुने नै सभापति हो । त्यसैले आफूहरुले अब नेतृत्व गर्छौँ भनेर उहाँहरुले भन्नु अस्वभाविक होइन । 

योसँगसँगै अब हामीलाई चाहिँ कन्टेन्ट भएको र एउटा निश्चित मार्गचित्र भएको व्यक्ति सभापतिका रुपमा चाहिएको हो । आजको दिनमा कन्टेन्ट दिन नसक्ने, निश्चित मार्गचित्र नभएको मान्छेले नेतृत्व सम्हाल्छु भन्नु चाहिँ हुँदैन ।

अब कहाँ जाने हो भनेर लक्ष्य पहिल्याउन नसक्ने मान्छेले कांग्रेसको नेतृत्व अब लिनुहुँदैन । व्यक्ति फेरिएला तर कार्यशैली नफेरिने, मार्गचित्र बनाउन नसक्ने, गन्तव्य बनाउने नसक्ने नेतृत्व हुन्छ भने फेरि पनि कांग्रेस सुधार हुँदैन । जे जे नाम आए पनि अब उहाँहरुले के कन्टेन्ट ल्याउनु भएको छ, कस्तो मार्गचित्र बनाउनु भएको छ भन्ने महत्वपूर्ण कुरा हो । अब कांग्रेसलाई चाहिएको नेतृत्व कसरी अगाडि बढ्ने, नेकपासँग कसरी प्रतिस्पर्धा गर्नै, नेपालका समग्र समस्यालाई कसरी सुल्झाउने भन्ने स्पष्ट खाका भएको व्यक्ति हो ।

हेर्नुस्, अहिले कांग्रेसमा सभापतिका उम्मेवादरको खाँचो छैन । तर, सभापतिसँग हुने दस्तावेज अथवा ब्लुप्रिन्टको खाँचो छ । त्यसैले मलाई लाग्छ आज त्यो दस्तावेज बोकेर आउन सक्ने नेताको हाम्रो पार्टीलाई खाँचो छ । त्यो जुनसुकै पुस्ताको पनि हुन सक्छ । चाहे त्यो दोस्रो पुस्ताको होस् वा तेस्रो वा पहिलो नै किन नहोस् । विचारमा एकदमै बिलियो र सबैलाई कन्भेन्स गर्न सक्ने भयो भने त्यो जुनसुकै पुस्ताको पनि हुन सक्छ । 

 

अब थोरै कांग्रेसबाट मोडिएर राष्ट्रिय राजनीतिको कुरा गरौँ । एकातिर कांग्रेस आफ्नै समस्यामा फँसिरहेको छ । गुटउपगुटको लफडामा जेलिएको छ । अर्कोतिर, कांग्रेस प्रभावकारी प्रतिपक्षको भूमिका देखिन सकेको छैन । सरकार नराम्रो भयो भन्ने त विश्वभर सुनिन्छ, तर प्रतिपक्ष सरकारभन्दा पनि झुर भयो भन्ने सुनिने त नेपालमा मात्र होला है ?

पहिलो कुरा त सरकार नराम्रो भएकै हो । नराम्रो सरकारलाई राम्रो बनाउन प्रतिपक्षीले भुमिका खेल्नु पर्छ, यो दोस्रो स्टेपको कुरा हो । सरकारै राम्रो भइदिएको भए त कुनै समस्या नै हुँदैनथ्यो नि । सरकारमा भएको राजनीतिक दल र सत्तमा भएको मान्छेहरु जति दोषी अरु हुन सक्दैनन् । अब कुरा रह्यो प्रतिपक्षीले त्यसलाई राम्रो किन सच्याउन सकेन भन्ने सन्दर्भमा प्रतिपक्षी कमजोर छ । प्रतिपक्षीले संसदमा जति आक्रमक भएर आवाज उठाउनु पर्छ, त्यसमा प्रतिपक्षी चुकेको छ । 

हामीले कतिपय सन्दर्भमा संसद घेराउ किन गरेनौँ, भ्रष्टाचारको त्यत्रो कुरा आयो त्यो बेला हामीले किन संसदलाई चल्नै नदिने परिस्थिति किन बनाउन सकेनौँ । त्यो कुराको छानविन नहुँदासम्म संसद चल्न दिदैनौं भनेर किन भनेनौं ? भ्रष्टाचारसँग सम्बन्धित मुद्धामा कांग्रेस आक्रमक हुन नसकेकै हो । तर, यसको अर्थ हामीले फेरि कुनै पनि विषय उठाएनौँ भन्ने पनि होइन । हामीले विषय त उठायौँ, तर हामी आवश्यक आक्रामक हुन सकेनौँ ।

पछिल्लो उदाहरणलाई कोभिडविरुद्धको लडाइँलाई लिऔँ । हामीले कोभिडविरुद्ध लड्ने सन्दर्भमा विज्ञप्ति, ज्ञापनपत्र  विज्ञप्ती, ज्ञापनपत्र मार्फ, पत्रकार सम्मेलन गरेर आवाज उठाएर सरकारलाई झक्झक्याउने प्रयास गर्यौ तर सरकारले कुनै पनि कुरा सनेन ।

हाम्रो मात्र हाइन सरकारले कसैको पनि कुरा सुनेर । विज्ञको कुरा पनि सुनेन ।

कांग्रेससँग सरकारै बदल्ने संख्या छैन । त्यो नभएकाले कारणले मुलुक पनि दिनप्रतिदिन कोभिडसँग जुध्नु पर्ने कारणले सरकार यसलाई मौकाका रुपमा उपयोग गर्न थाल्यो । आफ्ना मान्छेहरुलाई पोस्न, यस्तो बेला पनि अनियमितता गर्ने, यस्तो बेलमा पनि पार्टीभित्र गुटलाई बलियो बनाउने गरी प्रधानमन्त्री अगाडि बढ्नु भयो । सरकार यति नालायक र अयोग्य भयो कि नेकपाले पनि प्रम जस्ता असक्षमलाई फेर्न सकेन । अब त यो प्रमाणित भइसकेको छ, केपी ओलीको सरकार नालायक भइसकेको छ । 

 

भनेपछि प्रधानमन्त्री केपी शर्मा ओली नलायक भए ?

त्यसमा मैले धेरै कुरा जोडेर उनलाई यस्तो भन्न सक्छु । उहाँको कार्यशैली, उहाँको अहंकार, उहाँले उठाएर निर्णय गर्नु भएका विषयहरु र त्यसलाई उठाएर यहाँ भएका कुराहरु ती सबैलाई हेरेर उहाँलाई नालायक नमान्न सकिने कुनै आधार छैनन् । त्यसको सम्बन्धित सन्दर्भमा नेकपाले सच्याउनु पर्ने सन्दर्भमा जे कुरा तपाईंले जोडनु भयो कांग्रेस पनि सरकारसँग मिलेको, भाडबण्डा खोजेको यस्तो तमाम कुराहरु आइरहेका छन् । यी तमाम कुराहरुलाई हामीले किन चिर्न सकेनौं त? प्रधानमन्त्री र हाम्रा सभापतिबीच पनि समझदारी छ भनिन्छ । 

त्यो मलाई किन लाग्दैन भने प्रमले जुन अध्यादेश ल्याउनु भयो त्यो अध्यादेश पारित गर्न विपक्षी दलका नेताहरु नभए पनि हुन्थ्यो । विपक्षी दलको नेतालाई उहाँले आफ्नो शत्रु ठानिसकेपछि मलाई लाग्दैन कि हाम्रो सभापतिको प्रमसँग समझदारी छ । 

समस्या कहाँ छ भने त्यस्तो दलको प्रमसँग हाम्रा सभापतिको हिमचिम धेरै भएको खबर जसरी आइरहेको छ त्यो कुरा चाहिँ गलत छ । त्यसलाई हामीले चिर्न सकिरहेका छैनौं । सभापतिले किन बारम्बार प्रमलाई भेट्नु हुन्छ, भेटेको कुरा किन उहाँले सार्वजनिक गर्नु हुन्न? भागबण्डाको कुरा हामीले खोजेका होइन, हामीलाई कांग्रेसको सिफारिसमा एउटा पनि नियुक्ति चाहिएन । हामीले कोही पनि मान्छे बनाउन खोजेको होइन । तर हाम्रो कुरा के हो भने विश्वविद्यालयको भिसी बनाउँदा प्राज्ञिक मान्छेलाई बनाऊ । त्यसको चयनको एउटा मापदण्ड बनाऔं । अख्तियारको आयुक्त बनाउँदा एउटा मापदण्डमा बसेर बनाऔँ । 

जुनसुकै स्थानमा नियुक्ति गर्दा आफ्नो पार्टीको कार्यकर्ता र आफ्नो नजिकको मान्छेलाई होइन कि योग्या मान्छेलाई बनाऔं भन्न सक्नु पर्थ्यो । हामीले भन्न्ु पर्ने त्यो थियो तर हामीले त्यो कुरालाई पब्लिकली बुझाउने गरी बाहिर ल्याउन सकेनौं । त्यसले गर्दा हाम्रो भुमिका साँघुरिएको होइन विषायन्तर भएको देखियो । 

भुमिकालाई प्रभावकारी बनाउने सन्दर्भमा हामीले पार्टी भित्र धेरै छलफल गर्यौं, तर सडकमा कांग्रेस नभएर स्वतन्त्र समुह गएको अवस्था छ । कांग्रेस न सडकमा छ न सत्तामा, जसले हाम्रो भुमिकालाई प्रभावकारी रुपमा देखाउन सकेनौं । हामीले यो कुरा पार्टीभित्र उठाउन सकेनौं । 

भिडियोमा हेर्नुहोस्, सरकारबारे प्रदीप पौडेलको थप आलोचनाः

  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १३:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया