के छ नेकपा कार्यदलले बुझाएको १७ पेज लामो प्रतिवेदनमा ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न बनेको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारेर पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

शनिबार दुई अध्यक्षलाई यो प्रतिवेदन बुझाइएपछि यसले अहिले देखिएको नेकपा विवाद समाधान गर्न सक्ने अनुमान धेरैले गरेका छन् । विवाद समाधानका लागि दुई अध्यक्षलाई सुझावसहित बुझाइएको यो प्रतिवेदन नेकपाले अहिले सार्वजनिक नगर्ने भएको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गर्ने र त्यसलाई सचिवालय बैठकमा लैजाने सहमति पार्टीमा भएको छ ।

कार्यदलले प्रतिवेदनमार्र्फत् सैद्धान्तिक विषय, विवादका विषय र अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने सुझाव दिएको छ । नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले आगामी चैतमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसअघि विवाद बढ्दै जाँदा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले महाधिवेशन अगाडि सार्न सकिने प्रस्ताव गरेका थिए । तर, कार्यदलले प्रतिवेदनमा चैतमा नै पार्टीको महाधिवेशन गर्दा हुने सुझाव दिएको छ ।

त्यस्तै कार्यदलले स्थायी कमिटीको बैठकलाई नियमित अजेण्डामा लैजाने र प्रधानमन्त्रीको राजीनामा बैठकको अजेण्डा नबनाउने सुझाव दिएको कार्यदलका एक सदस्यले बताए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारद्वारा महत्वपूर्ण राजनीतिक नियुक्तिहरु गर्दा पार्टीभित्र छलफल गरेर मात्रै निर्णय गर्ने कुरा सुझाव प्रतिवेदनमा दिइएको ती सदस्यले फरकधारसँग बताए ।

त्यस्तै, प्रतिवेदनमा सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिने, पार्टीको सांगठनिक  कार्यविभाजन गर्ने सुझाव पनि दिइएको ती सदस्यले बताएका छन् ।

कार्यदलले आवश्यकता अनुसार मन्त्रीहरुको कार्यसमिक्षा गर्दै संघीय सरकारको मन्त्रीपरिषद् र प्रदेश सरकार हेरफेर गर्ने, कोरोनाको संक्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाययतका विषयमा पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।



कार्यदलले अमेरिकी सहायता परियोजना जस्ताको त्यस्तै नभई सचिवालय सदस्यको सुझावअनुसार पारित गर्न प्रतिवेदनमा सुझाव समेत दिएको छ । कार्यदलको प्रतिवेदनलाई नेकपाको सचिवालय बैठकमा छलफलका लागि लगिने बताइएको छ । १७ पेज लामो यो प्रतिवेदनमा पछिल्लो समय पार्टी विवादका कारणहरु पहिल्याउनुका साथै त्यसलाई यथाशीघ्र समाधानका लागि विभिन्न विकल्पमाथि चर्चा गरिएको छ ।

प्रतिवेदन बुझ्दा दुवै अध्यक्षले छिट्टै सचिवालय बैठक बोलाउने प्रतिबद्धता जनाएको ती सदस्यले जानकारी दिएका छन् ।



१० असारमा सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित बहुमत स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग भएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । 

चरम उत्कर्षमा पुगेको विवाद समाधानका लागि अध्यक्षद्वय ओली–प्रचण्डले साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहेको कार्यदल गठन गरेका थिए । उक्त कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेर बैधानिकता दिएको थियो । 

  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १९:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया