काठमाडौं : शनिबारसम्म काठमाडौं महानगरपालिकाभित्र १६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरले दिएको विवरणअनुसार भदौ ६ गतेसम्म महानगरका ३२ वटै वडामा संक्रमित फेला परेका छन् । सबैभन्दा बढी वडा नम्बर ३२ मा १२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि ३ नम्बर वडामा ११९ जना, १६ वडामा ९४ र १४ वडामा ९१ जनामा संक्रमण देखिएको छ ।
सबैभन्दा कम २० वडामा २ जना मात्रै संक्रमित भेटिएका छन् । ६ गतेसम्म पुष्टि भएका १६०२ जनामध्ये २३८ जना संक्रमितको पहिचान नखुलेको महानगरले जनाएको छ । महानगरका १८८ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ३, २७ मा २, वडा नम्बर ४, वडा ४ र २० मा १–१ संक्रमितको मृत्यु भएको महानगरले आफ्नो विवरणमा उल्लेख गरेको छ ।
महानगरमा ५ गते १२६ जना र ६ गते ६९ जना संक्रमित थपिएका छन् ।
आइतबार काठमाडौं जिल्लाभर १२६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौं महानगरभित्र कति हुने भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।